१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सगरमाथा चुम्ने तन्नेरीहरू

दलित समुदायबाट सगरमाथा चुम्ने पहिलो व्यक्ति विजय हुन्। त्यसैगरी ज्ञानमाला रणपाल सगरमाथा टेक्ने पहिलो दलित महिला बनिन्। शिखरमा उनले आफ्नो पिताजीको तस्बिर पु¥याइन्।

शुष्मा बराली
सानैदेखि फरक स्वभावकी थिइन् ज्ञानमाला रणपाल। अरू साथी भाँडाकुटी खेलेर बस्दा उनी कराँते खेल्थिन्। जंगलमा घाँसदाउरा काट्न रमाइलो मान्थिन्। उनका अधिकांश साथी पुरुष थिए। उनका साथी सिंगारपटारमा रुचि राख्थे, उनीचाहिँ खेलकुदमा जम्थिन्।

सानैमा उनले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला  पासाङ ल्हामू  शेर्पाको विषयमा थाहा पाइन्। शेर्पाले ०५० बैशाख १० गते सगरमाथा चुमेकी थिइन्। शेर्पाको सगरमाथाबाट फर्किंदा ज्यान गएको थियो।

शेर्पाको विषयमा थाहा पाएपछि ज्ञानमालाको मनमा अनेक प्रश्न जन्मिए। ‘कत्रो होला सगरमाथा ? कस्तो होला ? कति गाह्रो होला चढ्न ? जीवन र मृत्युको भरै नहुने काम पनि किन गर्छ मान्छे ?   ठूला मान्छे भेट्नेबित्तिकै उनी सगरमाथाको कुरा गर्थिन्। एक दिन उनले अठोट गरिन्– म पनि अवश्य सगरमाथा चढ्ने छु। मनमा सगरमाथा सपना बोकेर उनी अध्ययनमा जुटिन्। सपना पूरा गर्न लागि परिन्। सगरमाथाबारे अध्ययन गर्न थालिन्। इन्टरनेटका माध्यमले उनले दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गरेका बिजय घिमिरे विश्वकर्माको नाम थाहा पाइन्। सन् ०१७ मा सगरमाथा चढेका बिजयलाई फेसबुकमा खोजेर साथी बनिन्। अनि विजयसँग आवश्यक जानकारी लिइन्।  

विजयले पनि ज्ञानमालालाई निकै सहयोग गरे। आफ्ना अनुभव बाँडे। ‘मैले देखेको सपना पूरा गर्न विजय सरको धेरै ठूलो सहयोग छ’, ज्ञानमाला आभारी छिन्। समयक्रममा उनी पनि संसारकै अग्लो चुली सगरमाथामा पुग्न सफल भइन्। त्यो सफलता हात पार्नु चानचुने काम थिएन। निकै संघर्ष गरिन् उनले। उनले पासाङ ल्हामु प्रशिक्षण केन्द्र र अन्य क्लाइम्बिङ वालमा तालिम लिइन्। ‘सगरमाथा चढ्न शारीरिक र मानसिक दुवै रूपमा फिट हुन निकै मेहनत गर्नु प¥यो’, उनले सुनाइन्।   टेक्निकल पार्ट र क्लाइम्बिङ पार्ट सिके पछि पहिलो पर्वतारोहणका लागि उनी आइल्याण्ड पिक पुगिन्। सोलुखुम्बुको सल्लेरीबाट हिँड्दै चुनौतीपूर्ण पदयात्रामा सफल भएर फर्केपछि सगरमाथा आरोहणको तयारीमा जुटिन्।  

सगरमाथा चुम्न १५ दिनअघि नै हिँडिन्। कपिलवस्तुमा जन्मेकी ज्ञानमाला हिमाली वातावरणसँग घुलमिल हुन् पहिल्यै गएकी। ‘सगरमाथा पदयात्रा गर्नु भनेको सामान्य कुरा होइन रहेछ, उत्साहसँगै अनेक प्रकारका चुनौतीको सामना गर्नु पनि रहेछ,’ उनी भन्छिन्,‘मनमा डरभन्दा पनि रहर थियो, हुटहुटी थियो स्वास्थ्यले साथ दियोस्, म सक्छु भन्ने थियो।’

६ जनाको समूहमा गएकी उनी २ जना गाइड, ३ जना चिनियाँ टोलीसँग  सगरमाथा चढ्न तयार भइन्। यसका लागि ४० लाख रुपैयाँ जति खर्च भएको उनले सुनाइन्।  
सगरमाथा बेस क्याम्पबाट सुरु पदयात्रा बिसाउँदै, हिँड्दै, आराम गर्दै क्याम्प वान, टु, थ्रि र फोरमा पुगेपछि सगरमाथाको चुलीतिर अघि बढ्नु पर्छ। बाटोभरि फोहोरका डंगुर देख्दा कताकता नरमाइलो लाग्यो उनलाई। बाटोमा शव थिए। पाँच जनाको शव मूर्ति जस्तै अडिएको र त्यसमा एक महिला देखिन् उनले। जसोतसो सगरमाथामा पाइला टेके पनि फर्किदा ज्यानै दाउमा राख्नु परेको देख्दा मन चसक्क भयो। ‘उचाइसँग डराउने म तर डोरीको भरमै हिँड्न सकें, त्यो दिन बाटोका त्यत्रा शव चिसोले कक्रक्क परेको देख्दा पनि मेरा पाइला भने रोकिएनन्, इच्छाशक्ति भए, असम्भव केही रहेनछ’, उनले भनिन्।

सर्वोच्च शिखरमा टेक्दा
सगरमाथा शिखरमा टेक्दा ज्ञानमालाले पिताजीलाई सम्झिइन्। उनले बिहान १०ः१० मा शिखर चुमेकी हुन्। ‘नेटवर्कले साथ दिन्थ्यो भने बुबालाई फोन गर्थें  तर त्यो अवसर पाइन् र त्यहाँ बुबाको फोटो देखाएर चित्त बुझाएँ।’

सानैमा आमा गुमाएकी उनी बुबाकी प्यारी छिन्। ‘मेरो सपना पूरा हुनुको श्रेय बुबालाई नै जान्छ, उहाँको हौसला र म प्रतिको विश्वासले नै सफल भएँ’ उनले भनिन्। एक घन्टा सगरमाथाको शिरमा बिताएकी उनलाई त्यहाँ एकपल बसेको जस्तो महसुस भएको छ। ‘शिखरबाट आँखाले धित मर्नेसम्म हेरें, फोटा खिचे’ उनले भनिन्। यसरी सगरमाथा आरोहण गर्ने नेपालकी पहिलो दलित महिला बन्न पुगिन् ज्ञानमाला रणपाल।

दलित समुदायकै पहिलो 
पदयात्रा पर्यटनमा पथप्रदर्शकका रूपमा काम गर्दै आएका विजय घिमिरे विश्वकर्माले समयसँगै सगरमाथा आरोहण दलमा काम पाए। उनी कुकका रूपमा काम गर्न थाले। केही वर्ष आधारशिविरमा काम गरेका विजयको मनमा प्रश्न उठ्थ्यो, ‘प्रायः सबै समुदायका मानिस सगरमाथा चढिसके तर हाम्रो समुदायबाट किन कोही चढेका छैनन् ?’
उनको प्रश्न सुनेर एक जनाले दिएको अमानवीय जवाफले उनको मुटु पोल्यो। ‘एक जनाले कति सहजै भने, दलित समुदाय सानो जात हो, उनीहरू यस्तो ठाउँमा चढेको फाप्दैन। नराम्रो हुन्छ, १–२ जनाले कोसिस गरेका थिए नफापेरे फर्के।’
उनका कुरा मुटुमा बिझ्यो। तर, उनी चुपाप बसे। त्यतिबेला प्रतिकार गर्न सक्ने वातावरण थिएन। त्यही क्षण उनले प्रण गरे, ‘उनीहरूले भनेका कुरा गलत हुन् भन्ने प्रमाणित गर्न म सगरमाथा चढ्छु।’

फाप्दैन भनेर आफ्नो समुदायलाई हेपेको भएरै सगरमाथा चढ्ने सामथ्र्य जुटाएको विजयले बताए। उनले तालिम लिए, तयारी गरे। अनि मनमा संकल्प र अठोट लिएर नारा नै बनाए,‘देशको गौरव मुलुकको सान दलितहरूको सगरमाथाको महान् अभियान।’

इच्छाशक्ति र साहस भए पनि आर्थिक समस्याले अभियान नरोकियोस् भनेर उनी विभिन्न संस्था लगायत मन्त्रालयमा धाए। तर, कतै सहयोग पाएनन्। ‘पुरानो काम गरेको कम्पनी हाई अल्टिच्युटमा गएर सहयोग मागे, उहाँले सगरमाथा चढ्न सहयोग गर्ने प्रतिबद्धता गरेपछि मेरो आस जाग्यो तर एउटा सर्तमा आवश्यक सामाग्री आफै किनें’ उनले भने। विभिन्न कठिनाइसँग जुधेर ०७२ मा विजय सगरमाथा चढ्ने तयारीमा जुटे। तर, त्यही वर्ष भूकम्प आएकाले उनको सपना पूरा भएन। २१ जनाको टोलीमा उनी मात्र बाँचेर फर्के।

ज्यान बाँचेको खुसी नाम्चेमा पुग्दा दुःखमा परिणत भयो। ‘एक जना दलित सगरमाथा चढ्न गएर नै भूकम्प आको हो’, उनले यस्तो हल्ला सुन्नु प¥यो। जुन हल्ला सम्झिँदा अहिले पनि मन अमिलो बन्छ।

घरजग्गा धितो राखेरै भए पनि सगरमाथा चढिछाड्ने निधो गरे उनले। ०७४ मा ४० दिन लगाएर उनले सगरमाथा आरोहण गरे। नेपाली पोशाक (दौरा र सुरुवाल) लिएर गएका उनले लाउन भने सकेनन्। शिखरमा सँगै लिएर गएको खुकुरी र नेपालको झन्डा फर्फराए। आफूले त चढे नै, दलित चेलीलाई पनि सगरमाथाको चुचुरोमा पु¥याउने अभियानमा जुटे। यसै क्रममा ज्ञानमालासँग उनको भेट भयो। ०७६ मा उनले दोश्रो पटक ज्ञानमालासँगै सगरमाथा आरोहण गरे।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App