१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

असुरक्षित सम्बन्धले यौन अंगमा क्यान्सर हुन्छ

यौनरोग कसलाई लाग्छ ? यो रोग लागे उपचार हुन्छ कि हुँदैन ? लागिहाले के गर्ने ? आदि विषयमा प्रस्तुत छ वीर अस्पतालकी चर्म तथा यौनरोग विशेषज्ञ प्राडा लैला लामासित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको सार:

चिकित्सा पेसामा लाग्नुभएको कति वर्ष भयो ?
–१५ वर्ष भइसक्यो।यौन विशेषज्ञकै रूपमा काम गर्न थालेको चाहिँ १० वर्ष भयो।अहिले म दसौं तहको चर्म तथा यौनरोग विशेषज्ञको रूपमा काम गरिरहेकी छु।

यौनरोग भनेको के हो ?
–यौन सम्पर्कबाट संक्रमण हुने रोगलाई यौनरोग भनिन्छ।यौनरोग फंगस, ब्याक्टेरिया र भाइरसको संक्रमणले हुन्छ।कुनै रोग केही जटिल प्रकारका छन् भने केही सामान्य प्रकारका।सयौं थरीका यौनरोग छन्।जुन दुई व्यक्तिबीचको असुरक्षित यौन सम्बन्धको कारणले सर्छ।

महिलामा बढी देखिने यौनरोग कुनचाहिँ हो ?
–सबै किसिमका यौनरोगको उपचार गर्न बिरामी आउँछन्।महिलामा बढी भजाइनल फंगल इन्फेक्सन (फंगसजन्य योनि संक्रमण) देखिन्छ।नेपालमा यो रोग साझा जस्तै भइसकेको छ।यो संक्रमणलाई भजाइनल क्यान्डिडियस पनि भनिन्छ।हो, यो संक्रमणले यौन अंग चिलाउने, रातो हुने, योनिबाट गनाउने पानी बग्नेजस्ता लक्षण देखिन्छन्।यो फंगस जातको कीटाणु संक्रमण भए पछि हु्न्छ।

फंगस संक्रमण भएको कति समयपछि यस्तो लक्षण देखिन थाल्छ ?
–संक्रमणको लक्षण देखिने अवधि व्यक्तिअनुसार भर पर्छ।संक्रमणपछि कसैलाई एक÷दुई दिनमै त कसैलाई चार÷पाँच महिनापछि पनि देखिन्छ।कोही एक÷दुई दिनमै बेस्सरी चिलायो र बेस्सरी पानी आयो भनेर आउँछन्।कडा रूपको छ भने एक÷दुई  दिनमै पनि लक्षण देखा पर्छ।

यसको लक्षण के के हो ?
–योनि चिलाउने
–यौन  अंगबाट गनाउने पानी आउने
–यौन अंग गनाउने
–यौन अंग रातो हुने

यसको समयमै उपचार भएन भने के हुन्छ ?
–यो रोग स्थानीय अंगमा मात्र हुने भएकाले शरीरको अन्य भागमा दुखाइ हुँदैन।तर यो रोगको समयमै उपचार भएन भने संक्रमण फैलिएर पाठेघरवरिपरिका अंग अन्डाशय र डिम्बवाहिनी नलीसम्म पुग्छ।यो अवस्थालाई पिआइडी (तल्लो पेट दुख्ने) भनिन्छ।पेल्भिक इन्डोमेट्रिक डिजिज भनिन्छ।फंगल संक्रमण पाठेघरका अंगमा फैलियो भने तल्लो पेट दुख्ने समस्या हुन्छ।

पिआइडी अवस्थासम्म पुग्न कति समय लाग्छ ?
–पिआइडी समस्या फंगसले मात्र हुने होइन।विभिन्न जातका कीटाणुको  संक्रमण भएपछि पिआइडी बढी हुन्छ।कीटाणुको कडापनमा भर पर्छ।कतिपयलाई विस्तारै देखा पर्छ।कुनै तुरुन्तै हुने र कुनै विस्तारै हुने (क्रोनिक) हुन्छ ।

यसको उपचार के त ?
–आफ्नो यौन अंगमा असर भएको थाहा हुनेबित्तिकै यौनरोगसम्बन्धी दक्ष चिकित्सककोमा जानुपर्छ।दक्ष चिकित्सकले परीक्षण गरेपछि मात्र कुन जातको कीटाणु संक्रमण भएको भन्ने पत्ता लाग्छ।त्यहीअनुसार उपचार गरिन्छ।

यौनरोगको उपचार चर्म तथा यौन रोगविशेषज्ञले मात्र गर्न सक्छन् कि अरूले पनि ?
–यौनरोग विशेषज्ञले त उपचार गर्छन् नै।पाठेघरको दुखाइ र योनिबाट पानी बग्ने काम सधैं यौनरोगले मात्र भन्ने हुँदैन।यौनरोगकै संक्रमण छ र यौन सहकर्मी वा पतिमा पनि यो रोग देखा परेको अवस्थामा यौनरोग विशेषज्ञले नै उपचार गर्छन्।तर अन्य समस्या हो भने स्त्रीरोग विशेषज्ञले पनि उपचार गर्न सक्छन्।

यौनरोग नै हो भनेर कसरी थाहा पाउने ?
–यौनरोग यौनजन्य क्रियाकलापबाट मात्र सर्छ।जोसँग यौन सम्पर्क भयो र जोसित यौनरोगको कीटाणु छ, उसबाट मात्र सर्छ।यौन सहकर्मी दुवैलाई यो कीटाणु जान्छ।यो रोग  थाहा पाउने एउटा आधार हो।अर्को भनेको चिकित्सकले परीक्षण गरी रिपोर्ट  हेरेपछि थाहा हुन्छ।अर्को अर्थमा भन्ने हो भने कतै न कतैबाट यौनरोग सर्ने नै हो।यौनरोगमा साझा रूपमा देखिएका भिरिंगी र गोनरिया कतै न कतै यौन सम्पर्कबाटै  सर्ने हो।यी कीटाणु तथा भाइरस भित्रबाटै उत्पन्न हुन सम्भव छैन।

चिलाउने रोग (भजाइनल फंगल) कसरी उत्पन्न हुन्छ ?
–महिलाको योनिको गुम्सेको भागमा ‘क्यानिडा’ भन्ने जातको कीटाणु बसेको हुन्छ।त्यो बढेर संक्रमण भएको हुनसक्छ।यस्तो बेलामा यौन सहकर्मी वा पतिलाई पनि सर्न सक्छ।कसैकसैलाई मधुमेहको रोग छ र उपचार गरेको छैन भने फंगस जातका कीटाणु बढी निस्कन्छन्।त्यो समयमा यौन सम्पर्कविना पनि पैदा हुन्छ।र, यस्तो समयमा यौन सम्पर्क राखे आपसमा सर्न सक्छ।

यौनरोगको उपचार कसरी हुन्छ त ?
–धेरैजसो चिकित्सकले यौनअंग हेरेर पनि रोगको पहिचान गर्न सक्छन्।धेरैजसो अवस्थामा बगेको पिपको रङ कस्तो छ ? संक्रमण कस्तो  छ ? बगेको पिपको गन्ध कस्तो छ ? त्यो भागलाई हेरेरै पनि पहिचान गर्न सकिन्छ।एक÷दुईवटा यौनरोग हेरेर मात्र पत्ता नलाग्ने खालका हुन्छन्।यस्तो अवस्थामा शंकास्पद रोग पत्ता लगाउन रगतको जाँच गरिन्छ।रगतको जाँचले पत्ता लाग्ने यौनरोगमा भिरिंगी पर्छ।योनिको संक्रमण, यौन अंगमा आउने मुसाजस्ता यौनरोगलाई भने रगत जाँचिरहनु पर्दैन।

योनीमा फंगल संक्रमणका बिरामी कत्तिको आउँछन् ?
–योनिद्वारमा कीटाणु संक्रमण र योनिको संक्रमण भएर आउने महिला बढी छन्।यस्तो समस्या लिएर वीर अस्पतालमा मात्र दैनिक ८÷१० जना आउँछन्।यस्ता समस्या आए हामीकहाँ भन्दा पहिला स्त्रीरोग विशेषज्ञकोमा जान्छन्।यसको उपचार स्त्रीरोग विशेषज्ञले पनि गर्छन्।

यो रोग पहिलेको तुलनामा बढेको देखिन्छ कि घटेको ?
–पहिलाको तुलनामा बढेको देखिन्छ।कारण, पहिलाभन्दा अहिलेका मानिस धेरै यौन साथी बनाउँछन् र सम्पर्क राख्छन्।कतिपयले असुरक्षित सम्बन्ध राख्छन्।यी कारण पनि यौनरोग बढेको देखिन्छ।तीमध्ये बढी देखिएको जिनाइटल वार्ट (यौन अंगमा आउने मुसा) बढिरहेको छ।

कुनै पनि यौनरोगको प्रभावकारी उपचार गर्ने निकाय कुन हो ?
–योनिमा संक्रमणको उपचार स्त्रीरोग विशेषज्ञले पनि गर्छन्।तर विशेष यौनरोगमध्ये पनि विशेष रोगको उपचार भने यौनरोग विशेषज्ञले नै गर्छन्।यस्ता बिरामी स्त्रीरोग विशेषज्ञकोमा पुगे पनि पछि हामीकहाँ नै रेफर हुन्छन्।तर कुनै पनि यौनरोगको प्रभावकारी उपचार यौनरोग विशेषज्ञले नै गर्छन्।

जिनाइटल वार्ट  (यौन अंगमा आउने मुसा) भनेको के हो ?
–अर्को बढी देखिने यौनरोग भनेको यौन अंगमा आउने मुसा (घाउ) हो।यो यौन अंगमा हुने ह्युमन पेपिलोमा भाइरसको संक्रमणले हुन्छ।यो भाइरसको समयमै उपचार भएन भने पछि यौन अंगमा क्यान्सर हुन्छ।खास पुरुषको लिंग र महिलाको योनिमा क्यान्सर हुन्छ।

यौन अंगमा आउने मुसाको लक्षण नि ?
–यौन अंगमा खटिरा आउने गर्छ ।

भिरिंगी भनेको के हो ?
–त्रिकोनिमा भन्ने कीटाणु यौन अंगमा संक्रमित व्यक्तिसँग यौन सम्पर्क भए यो रोग सर्छ।यसको समयमै उपचार भएन भने यसले अन्य अंग मुटु र मुटुको नलीलाई असर गरी एनोरिजम भन्ने रोग लाग्छ।आँखा तथा मस्तिष्क तथा नसालाई असर गर्छ।दीर्घकालीन रूपमा असर गर्छ भन्ने कुरा कुन यौनरोग हो भन्ने कुरामा भर पर्छ।भिरिंगी कडा यौनरोगमै पर्छ।

भिरिंगीका लक्षण के के हुन् ?
–यौन अंगमा घाउ आउने
–कहिलेकाहीँ कुनै लक्षण नै नहुने
–शरीरमा फोका आउने

यसको उपचार कति समयसम्ममा गर्नुपर्छ ?
–व्यक्तिमा भर पर्छ।कसैलाई यो रोगको असर ५ वर्षभित्रै देखा पर्छ भने कसैलाई २५ वर्षपछि मात्र देखा पर्छ।

आँखामा कस्तो समस्या देखिन्छ ?
–पछि गएर आँखा पाक्ने, आँखा दुख्ने र आँखा नै नदेख्ने समस्या भिरिंगीले गराउँछ।

यौनरोगको जोखिममा बढी को को हुन्छन् ?
–जसले असुरक्षित तरिकाले धेरै जनासित यौन सम्बन्ध राख्छन्, उनीहरू बढी मात्रामा यौनरोगको जोखिममा हुन्छन्।भिरिंगीको जोखिममा बढी मात्रामा पुरुष समलिंगी देखिन्छन् र महिला–पुरुष जोडी पनि छन्।

असुरक्षित यौन सम्पर्कमा कुन उमेर समूहका बढी छन् ?
–विवाहित–अविवाहित, शिक्षित–अशिक्षित सबै समूहले अहिले पनि असुरक्षित यौन सम्बन्ध राखेको देखिन्छ।जनचेतना भए पनि मानिस व्यवहारमा लागु गर्दैन।जस्तो हामीलाई चुरोट पिउनुहुँदैन भन्ने थाहा छ, तैपनि चुरोट पिइरहेका हुन्छौं।

यौनरोगका  बिरामी कुन अवस्थामा उपचारमा आउँछन् ?
–अहिले धेरैजसो मानिस रोगप्रति सचेत भइसकेका छन्।लाज मान्नेहरू भने ढिला गरी आइपुग्छन्।जो ढिला पुग्छन्, उनीहरूको समस्या जटिल बनिसकेको हुन्छ।जस्तो कि जसको पेपिलोमा भाइरस फैलिएर यौन अंगको क्यान्सर भइसकेको हुन्छ, त्यस्तालाई बचाउन सकिँदैन।केही समय आयु लम्ब्याउने प्रयास मात्र हुन्छ।

यौनरोगबाट बच्ने उपाय के के हुन् ?
–कुनै पनि यौनरोगबाट बच्ने मुख्य उपाय भनेको सकेसम्म स्थायी यौन सहकर्मी या दम्पत्तिबीच मात्र यौन सम्बन्ध राख्नुपर्छ।अरू साथीसित यौन सम्पर्क राखे सुरक्षित यौन सम्पर्क राख्नुपर्छ।कन्डमको प्रयोग आफैंमा सुरक्षित यौन सम्पर्क हो।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App