१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा बिजुलीबत्तीको लुकामारी

धादिङ - छिन–छिनमा बिजुली काटिएकाले धादिङका उपभोक्ता मारमा परेका छन्। ‘छिनमा आउँछ, छिनमै जान्छ, बिजुलीबत्तीको लुकामारीले पीडित छौं,’ धादिङबेंसीकी राममाया श्रेष्ठले गुनासो गर्दै भनिन्, ‘दिनमा सयौंपटक आउने जाने गर्छ, विद्युत्सँग जोडिएर काम गर्नेहरू मारमा परेका छन्।’ यस्ता समस्याबाट उद्योगी र व्यवसायी बढी मर्कामा परेको स्थानीयको गुनासो छ।

धादिङमा यो समस्या अहिले मात्र देखिएको होइन। यस्तो समस्याले उपभोक्ता वर्ष दिनदेखि पीडित बनेका छन्। अझ विगत एक महिनादेखि जिल्लाको विद्युत् सेवा अवरुद्ध हुनाले सदरमुकामआसपासमा नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या थपिएको छ। यसले व्यवसायी, विद्यार्थी बढी मारमा परेका छन्। टेलिकमसँग ब्याकअप सिस्टम हुनुपर्ने उपभोक्ता बताउँछन्।

प्रत्येक मिनेट बिजुलीमा काम गर्नुपर्ने भए पनि झ्याप्प झ्याप्प बत्ती जाँदा असहज हुने गरेको धादिङबेंसीका मोबाइल पसले सन्तोष अधिकारीले बताए। ‘आफ्नो व्यवसाय नै विद्युत्सँग जोडिएको छ, मोबाइल मर्मत गर्न विद्युत् नै चाहिन्छ तर दिनहुँ विद्युत् सेवा पटकपटक अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘हावाहुरी र पानी परेपछि त सुरक्षाका लागि जान्छ होला तर अन्य समयमा पनि लुकामारी खेल्ने गर्छ।’विद्युत् सेवामा अवरोध आउँदा फर्निचर, ग्रिललगायत विद्युत्बाट सञ्चालित उद्योगी अर्डर लिएको सामानसमेत समयमा नबुझाएको गुनासो गर्छन्।

हावाहुरी चल्ने मौसम भएकाले लगातार विद्युत् अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण शाखाका प्रमुख ध्रुव कार्कीले बताए। ‘देवीघाटबाट धादिङबेंसी ल्याएको प्रसारण लाइन नै लामो छ, सामान्य समस्या आइरहेको हुन्छ,’ उनले भने, ‘हावाहुरीको मौसम पनि छ, हावाहुरीले क्षति पुग्ने भएपछि विद्युत् अवरुद्ध भएको हो।’ मर्मतको समयमा सूचना दिएरै विद्युत् सेवा बन्द गरेको भए पनि पटकपटक अवरुद्ध हुने समस्या भने प्रसारण लाइनमै समस्या आउने गरेकाले उत्पन्न भएकोे कार्कीले बताए।

विद्युत् सेवा अवरुद्ध हुनेबित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गर्छ। जसबाट स्थानीय झनै पीडित हुने गरेका छन्। विद्युत् जानेबित्तिकै गाउँगाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने गरेको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए।

उनले नेटवर्कमा कुनै समस्या नभएको बताए पनि विद्युत् अवरुद्ध भएको केही समयमा सदरमुकामआसपासमा भने नेपाल टेलिकमको नेटवर्क बन्द भइहाल्छ। विद्युत् प्राधिकरणले समयसमयमा मर्मतका लागि भनेर सूचना दिने गरेका छन्। तर त्यसबाहेक अन्य दिनमा भने झ्याप्प झ्याप्प बत्ती गइदिँदा लाखौं रुपैयाँका सामानसमेत बिग्रिने जोखिम उत्तिकै हुने गरेको उपभोक्ता बताउँछन्।

 विद्युत् प्राधिकरण धादिङको कार्यालय।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App