२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सात महिना रोकिएको टेनिस कोर्ट निर्माणको तयारी

पोखरा रंगशालाभित्रको टेनिस कोर्ट । तस्बिर : नागरिक

पोखरा - बजेट अभावका कारण रोकिएको पोखरा रंगशालाभित्रको टेनिस कोर्ट सात महिनापछि यसै सातादेखि निर्माण सुरु हुने भएको छ । कास्की जिल्ला टेनिस संघले बजेट अभावमा अड्किएको पूर्वाधारको काम पुनः सुरु गर्ने तयारी गरेको हो । बजेट आएपछि फेरि कामले गति लिने टेनिस कोर्ट निर्माण समितिका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेलले बताए । ‘बजेट रोकिएको थियो, त्यसले सात महिना काम ठप्पै भयो,’ भुजेलले भने, ‘फेरि बजेट आएको छ, यसै हप्तादेखि काम अगाडि बढाउँछौं ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले टेनिस पूर्वाधारका लागि थप एक करोड रुपैयाँ विनियोजन गरेको हो। विनियोजित बजेटबाट मत्वपूर्ण काम सम्पन्न गर्ने कास्की जिल्ला टेनिस संघले योजना बनाएको छ । राखेपले यसै आर्थिक वर्षको सुरुमै टेन्डर गरी पोखरा रंगशाला परिसरमा टेनिस कोर्ट निर्माण सुरु गरेको थियो । टेन्डरअनुसार पहिलो किस्ताबापतको एक करोड रुपैयाँबाट काम सुरु गरिएको थियो ।

पोखरामा टेनिसको पूर्वाधारकै कारण आइटिएफ (अन्तर्राष्ट्रिय टेनिस महासंघ) ले विभिन्न इभेन्ट पोखरामा आयोजन गर्न दिएको छ । गत वर्ष मात्र पोखरामा आइटिएफ यु–१८ ग्रेड फाइभको संस्करण आयोजना गरिएको थियो ।

कोर्टमा प्यारापिटसहित चेन्जिङ रुम (महिला तथा पुरुष), शौचालय, फिड ब्याक रुम, हार्डकोर्टलगायतका पूर्वाधार बनाउन टेन्डर आह्वान गरेर काम सुरु गरिएको थियो । टेन्डरअनुसारको दोस्रो किस्ताबापतको एक करोड राखेपले पठाएको पश्च्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए । ‘टेन्डरको रकम आएको छ, यसै सातादेखि फेरि काम अगाडि बढ्छ,’ उनले भने ।

टेनिस कोर्ट निर्माणका लागि अघिल्लो पटक विनियोजित रकम भौतिक पूर्वाधारमा मात्र खर्च गरिएको छ । पूर्वाधार पनि तयार छैन, हार्ड कोर्टका लागि जमिन सम्याउने काम मात्र गरिएको छ । ‘अहिले आएको बजेट चेन्जिङ रुम, शौचालय र हार्ड कोर्टमा खर्च गर्नेछौं,’ टेनिस संघका सल्लाहकार भुजेलले भने, ‘कुल दुई करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान हो । पहिला एक करोड खर्च भएको छ । अबको एक करोडले पूर्वाधार बनाइनेछ ।’

पोखरा रंगशाला परिसरभित्र कास्की जिल्ला टेनिस संघले पाँचवटा क्ले कोर्ट बनाएको छ । क्लेसँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार हार्ड कोर्टको आवश्यकता औल्याउँदै राखेपले पूर्वाधारका लागि पोखरालाई छनोट गर्दै टेन्डर प्रक्रियाबाट काम सुरु गरेको हो । संघले पाँचवटा क्ले कोर्ट बनाउन संघसंस्थासँग आर्थिक सहयोग जुटाएको थियो । देउसी–भैलोसमेत खेलेर आर्थिक संकलन गरेर कोर्ट तयार गरिएको हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्लेसँग ग्रास र हार्ड कोर्टमा समेत हुने भएकाले पनि पोखरामा हार्ड कोर्ट अत्यावश्यक ठानिएको हो । आवश्यक कोर्ट निर्माण भएपछि संघले प्यारापिट निर्माण गर्ने लक्ष्य राखेको छ । अहिलेकै भवनको तल अथवा माथि प्यारापिट निर्माण गर्ने÷नगर्ने भन्ने विषयमा विवाद छ । राखेप आफैंले नक्सांकन गरी फाइनल डिजाइन गरी टेन्डर आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोर्टको सतहको पूर्व–पश्चिम मात्र प्यारापिट निर्माण गरिन्छ ।

पोखरामा टेनिसको पूर्वाधारकै कारण आइटिएफ (अन्तर्राष्ट्रिय टेनिस महासंघ)ले विभिन्न इभेन्ट पोखरामा आयोजन गर्न दिएको छ । गत वर्ष मात्र पोखरामा आइटिएफ यु–१८ ग्रेड फाइभको संस्करण आयोजना गरिएको थियो । त्यसभन्दा अघि पोखरामै भेट्रान्सको ग्रेड फाइभ प्रतियोगिता आयोजना गरिएको थियो । आइटिएफ यु–१८ ग्रेड फाइभ प्रतियोगिता फेरि पोखरामै आउने प्रबल सम्भावना छ । त्यसका लागि पनि पोखरामा चेन्जिङ रुमसहितको कोर्ट निर्माण गर्नुपर्ने खाँचो छ । केही दिनअघि मात्र पोखरामा आएको हावाहुरीसहितको पानीले टेनिस कोर्टको तारबार ढलाएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App