१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेरिँदै तिहार शैली

काठमाडौं- जब ढकमक्क सयपत्री फुल्छ, मखमलीको बैजनी रङ मुस्कुराउँछ, त्यो समय शरद ऋतु हो । अलिकति चिसो । अलिकति न्यानो । शरद ऋतुको मधुर मौसमी गुण । यही ऋतुमा  मनाइन्छ तिहार पर्व । काग तिहार, कुकुर तिहार, गोवर्धन पूजा, लक्ष्मी पूजा अनि भाइटीका यमपञ्चकका पाँच दिन हुन् । पहिले फरक फरक मान्यतासँगै यी तिहार फरक फरक तरिकाले मनाइन्थ्यो । पछि यो हिन्दु धर्म र संस्कारसँग जोडिँदै पर्वका रुपमा स्थापित हुनपुगेको संस्कृतिविद्हरू बताउँछन् । तिहारको मौलिक र सांस्कृतिक पक्ष आधुनिकताले छोप्दा पहिलेभन्दा धेरै कुराले फरक हुँदै गएको उनीहरूको अनुभव छ ।

संस्कृतिविद् सत्यमोहन जोशी तिहारबारे भन्छन, ‘दसैंमा बरु काटमारले थोरै नरमाइलो हुन्छ तर तिहार सुखैसुखको चाड हो ।’ लेखनाथ पौड्यालको कविता सुनाउँदै उनी थप्छन्, ‘सुखमय पारी सब संसार, आयो रसिलो चाड तिहार ...।’

‘दसैंमा मालश्री धुनको महत्व बढी हुन्छ, तिहारमा मादलको रन्कोसँगै बाजाहरूको रमाइलो सुरले स्वर थप्छन्,’ जोशी बाल्यकाल सम्झन्छन्, ‘गाउँबेंसीमा तरुनातन्नेरीसँग मिलेर रातभर घुम्दै देउसीभैलो खेल्दा रात बितेको पत्तो पाइँदैन्थ्यो ।’ सूर्यपूत्र यमराज र यमुनाको सम्बन्धले मत्र्यलोकमा पनि दाजुभाइ र दिदीबहिनीबीच सम्बन्ध सुमधुर बनेको उनी खुलाउँछन् ।

यमुनाले ‘जुन बेलासम्म तेल सुक्दैन यो मखमली ओइलाउँदैन, मेरो दाजु यमराजलाई कालले पनि छुन नपाओस्’ भन्दै आशिष दिन्छिन् । त्यही दिन यमराजले पनि आफ्नो काम छाडेर एक दिन बहिनीका घरमा बिताएको किम्बदन्ती छ ।

त्यो दिन कसैको दाजु या बहिनीको विछोड नहोस् भन्ने कामना यमराज पनि गर्थे ।  ‘तिहार काललाई पनि नियन्त्रण गर्ने कालजयी पर्व हो,’ जोशी यसको महत्व झल्काउँछन् ।

उनका अनुसार धनकी देवी लक्ष्मीलाई जति प्रेम ग¥यो उति ऐश्वर्य बढ्छ । रातभर जाग्राम बसेर आराधना गर्दा निद्रा लाग्छ भनेर नै देउसीभैलो र जुवा खेल्ने चलन थियो । सुखरात्रीका रुपमा सुखैसुख । मान्छेमा मात्र हैन प्रकृतिसँग मानिसले रम्ने चाड तिहार । कुकुर, काग, गाईगोरुसँगै  मानिसको पूजा हुन्छ तिहारमा । ‘दियोको झिलिमिलीसँगै देउसी खेल्दा आएका थोरै विकृति त छन्, त्यो अपवाद हो,’ जोशी भन्छन्, ‘कतिले देउसी खेलेर उठेको पैसा सदुपयोग र समाजसेवामा लगाउँछन्, त्यो राम्रो पनि हो ।’ सेलरोटी, लाखामरी, फिनी, हाँसको अन्डा नभए कुखुराको अन्डा, माछा, मासु सगुन दिएर मनाइने नेवार समुदायको तिहार झनै रमाइलो हुने उनको अनुभव छ ।

तिहार पर्वमा सनातन धर्म र सामाजिक मान्यता  दुबै जोडिएको सस्कृतिविद्हरू बताउँछन् । तर आधुनिकतासँगै तिहार पर्वमा अनेक खालका विकृति थपिन थालेका छन् । अर्का संस्कृतिविद् डा. गोविन्द टन्डन तिहार सांस्कृतिक पर्वमात्र नभई समभावको पर्व रहेको बताउँछन् । उनले भनेझै पशुपक्षीलाई अरुबेला वास्ता नगरे पनि तिहारमा पूजा गरिन्छ । यसले  सबै प्राणीबीच समदृष्टिकोण राख्ने संकेतात्मक महत्व झल्काउने गर्छ ।’

 तिहारमा बालिने दीपको महत्वका बारेमा उनी सुनाउँछन्, ‘दियोको स्वभाव आफू पनि बल्छ अरुलाई पनि उज्यालो दिन्छ । यसको अर्थ मानिसको भित्री तत्व आत्मचेतना बढाउने हो ।’

टन्डनका अनुसार पनि मनको दियो बालिएन भने चाडपर्व आउँछ, जान्छ, त्यसले जीवनमा चेतना जगाउन सक्दैन ।

पहिलापहिला दियो माटोको पालमा बालिन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरन्जन त हुन्छ तर मौलिकता रहँदैन । तर अचेल माटोको पाला पूजाकोठामा सीमित भएको उनको बुझाइ छ ।

दियोपछि मैनबत्ती  र मैनबतीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । राणाकालमा पाँचैदिन जुवा फुक्ने चलन थियो । अहिले गैरकानुनी भयो त्यो राम्रो सुधार भएको ठान्छन् टन्डन । विकृति नछिरोस् भनेर सतर्क हुनुपर्ने बेला आएको टन्डन बताउँछन् ।

भाइटीकाको दिन भने नेपाली मौलिक परम्परा कायमै रहेको उनी मान्छन् । ‘दाजुभाइ र दिदीबहिनी भेट हुन्छन्, एकले अर्काको पूजा गर्छन् त्यसले आत्मियता बढाउँछ’, उनी भन्छन् ।

तिहार खासमा दीपावली भनेर मनाइने डा. तुलसी दिवसको धारणा छ । दीप नै दीपको चाड ।  नेपाली चाड निरन्तरता र परिवर्तन सँगसँगै घेरिएको उनको अनुभव छ । फूलको चाड । फलफूलको चाड । पारिवारिक सम्बन्ध बढाउने र  देवीदेवताको पूजा गर्ने र आत्मसम्मान जागाउने अलौकिक पर्वका रुपमा तिहार रहेको उनी सुनाउँछन् । उनका अनुसार तिहार जीवन्त पर्व हो । ‘भैलो खेल्ने चलन दिदीबहिनीले दाजुभाइको भलो होस् भनेर गाइएको आशीर्वचन हो,’ उनी भन्छन् । पहिलापहिला देउसीमा पुरुषले सहभागिता जनाउने र भैलोमा महिलाले सहभागिता जनाउने गरिन्थ्यो । अचेल समान दुवैले रुपमा भाग लिन थालेका छन् । यसले मौलिक चलनमा थोरै परिवर्तन ल्याएको छ ।

देउसीमा ‘ए चिप्लो बाटो, रातो माटो देउसिरे...’ जस्ता पदावलीले अचेल पनि भट्टाइन्छ तर बाजा र सन्दर्भ भने फरक हुन थालेको उनी बताउँछन् । देउसी भन्दै पैसा उठाउने चलन बढ्नु नराम्रो पक्ष भएको दिवसको बुझाइ छ ।

पहिलापहिला साँझमा खेलिने देउसीभैलो अचेल दिउँसै खेलेको देखिन्छ ।

नेवारको म्हः पूजाको मण्डप र भाइपूजाका बेला राखिने तेलको रेखीले दीर्घायुको कामना गर्ने संस्कृतिविद् डा. वीणा पौडेल बताउँछिन् । ‘परम्परा वा वैदिक तरिकाले पूजा गर्ने, अष्ट चिरञ्जीवीलाई आह्वान गर्ने परम्परा करिब उस्तै छ, तर पूजामा प्राकृतिक फूलभन्दा कृत्रिम प्लास्टिकका फूल र झल्लरको प्रयोग बढेको छ,’ पौडेलको अनुभव छ । उनका अनुसार पहिलापहिला प्राकृतिक फूल र खनिजले टीका बनाइन्थ्यो, त्यो लोप भयो । अहिले टीका नै बनावटी भए ।

तिहारमा सगुनका रुपमा आदानप्रदान गरिने ओखर, कटुस, बदाम, बयरजस्ता फलको स्थान अहिले चकलेट, बिस्कुट आदिले लिँदा मौलिकतामा ह्रास आएको पौडेल बताउँछिन् ।  सयपत्री फूलको हरेक पत्रले तिहारको छुट्टै सान देखाउँछ । यो  धेरै समय रहिरहन्छ, ओइलाउँदा पनि राम्रो हुन्छ । मखमली फूल दीर्घायुको प्रतीक मानिन्छ । ‘प्लास्किको फूल प्राकृतिक फूलको तुलनामा कुनै ढंगले पनि अब्बल छैन,’ पौडेलले थपिन्, ‘न स्वास्थ्यका हिसाबले न त तिहारको पौराणिक महत्वका हिसाबले नै ।’

टीकाको दिन ओखर फुटाउनु, कुचोले भाइका शत्रु पखाल्नुको पनि आफ्नै महत्व छ । तिहारमा नक्कली सामग्रीको बिगबिगी हटाउन सरकारी निकाय नै सचेत हुनुपर्ने विज्ञहरू सुझाउँछन् । तिहारमा प्रयोगमा आउने माटोको पालालाई औपचारिकतामा सीमित बनाउनुभन्दा घरेलु उद्योगका रुपमा विस्तार गरी नेपाली अर्थतन्त्रलाई चाडपर्वसँग जोड्न सके देशले फाइदा लिनसक्ने उनीहरूको भनाइ छ ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App