२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुधार गृहमा सडक बालबालिका

इटहरी– कात्तिक पहिलो साता सुनसरी दुहवीको सोनापुरमा एक जना बिरामी बालक भेटिए। उनी दाहिने पाखुरा र घाँटीमा एसिड प्रहार गरिएको अवस्थामा भेटिएका थिए।  

सोधीखोजी गर्दा सडक बालक भएको पत्ता लाग्यो। उनी विराटनगरको हस्पिटल चोक घर भएका अशोक परियारको छोरा दिपेन थिए। १४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।

दिपेनलाई त्यतिबेला आफूभदा सिनियर सडक बालकले एसिड प्रहार गरी कुटपिटसमेत गरेको खुलेको थियो। फागुन दोस्रो साता पनि इटहरीमा एसिड आक्रमणबाट उपचार नपाएर सिकिस्त अवस्थामा इटहरीमा एक जना सडक बालक भेटिए। उनलाई पनि तत्काल उपचार गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएपछि केही दिनमा सञ्चो भयो।

पूर्वमा अहिले सडक बालबालिका मुख्य समस्या बनेका छन्। यो समस्या झन्झन् बढेर जाँदै छ। जसले गर्दा पूर्वकै उदाउँदो सहर इटहरीमा पनि सडक बालबालिका मुख्य समस्या बनेकाले गर्दा प्रहरीले खोजी खोजी सुधार केन्द्रमा राख्न थालेको छ।

जसमा ११ वर्षीय अविनाश दर्जीलाई भर्खरै सुधार केन्द्रमा राखिएको इटहरी प्रहरीले जनायो। इनरुवा वडा नं. ३ स्थायी घर भई इटहरीमा घुम्ने गरेका बालक दर्जीलाई सुधार केन्द्रमा राखिएको प्रहरीको रेकर्डमा छ। यस्तै, १० वर्षीय अजय घले दर्जीलाईं पनि सुधार गृहमा राखिएको छ। अजयको पनि स्थायी घर इनरुवा हो। यस्तै, १० वर्षीय भरत विकलाई पनि सुधार गृहमा राखिएको छ।

‘बालबालिका भविष्यका कर्णधार हुन्। तर, सडकमा यत्रतत्र भौतारिने बालबालिका जसले उनीहरूको भविष्य अन्धकार देखिन्छ। सडकमै रात कटाउने बालबालिकालाई संरक्षण प्रदान गर्न उद्धार गरी सुधार गृहमा राख्न थालिएको हो,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले भने। उनका अनुसार, सुधार गृहमा राखिएका बालबालिकाहरूलाई मनोविमर्श, सामाजिकीकरण, पारिवारिक र सामाजिक पुनर्मिलन तथा पुनःएकीकरणका कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। प्रहरीले उद्धार गर्न थालिएको बालबालिकाहरूलाई भ्वाइस अफ द चिल्ड्रेनले संस्थाले संरक्षण प्रदान गर्दै आएको छ।

सडक बालबालिकाहरू आफ्ना अभिभावकको संरक्षकत्व, सामीप्यता र स्याहारबाट समेत पूर्णतः वञ्चित हुन्छन्। यस्ता सडक बालबालिकालाई पछिल्लो समयमा विभिन्न किसिमका सामूहिक संस्थागत संरक्षणका प्रयास भए पनि इटहरीमा पहिलोपल्ट थालिएको डिएसपी खरेलले जनाए।

सडक बालबालिकालाई संरक्षण गर्दा उनीहरूले न्यूनतम् जीवनका आवश्यकताहरू पूरा गर्ने अवसर पाउने भएका छन् र उनीहरू शिक्षा तथा ज्ञानोपार्जन गर्नका लागि विद्यालयसमेत भर्ना हुने अवसर पाउने आशा गरिएको छ।

प्रहरीले मोरङ गछिया घर भएका १६ वर्षीय विशाल तामाङ, इटहरी वडा नं. ९ घर भएका १६ वर्षकै विजय राम, इटहरी वडा नं. २ का नौं वर्षीय अमित श्रेष्ठ, इनरुवा वडा नं. ३ का १६ वर्षीय प्रदीप चौधरी, इटहरी वडा नं. ९ की १६ वर्षीया चन्दा यादव, इटहरी वडा नं. २० की पिङ्की राईलगायतलाई पनि सुधार गृहमा राख्ने तयारी गरेको  छ । खासगरी, सडक बालबालिका चोरी र लागुऔषध कुलतमा फस्ने गरेका छन्। चोरी नियन्त्रण गर्न र लागुऔषध नियन्त्रण गर्न पनि प्रहरीले सडक बालबालिकालाईं उद्धार गरी संरक्षण गर्न थालेको सई कृष्णकुमारी अधिकारीले बताइन्।

आर्थिक अभाव, पारिवारिक समस्या, दुव्र्यवहार, उचित शिक्षाको अभाव, समुदाय र परिवारको चेतनास्तरको कमी, सामाजिक द्वन्दलगायतका समस्याका कारण कतिपय बालबालिकाहरू सहरी क्षेत्रमा गएर सडक बालबालिकाको रूपमा भौतिरहने गरेका छन्। तीव्र जनसङ्ख्या वृद्धि, आर्थिक, सामाजिक अवस्था र परिवारमा उचित वातावरणको अभावका साथै बाबुआमाको माया, स्नेह र उचित रेखदेखको अभावमा थुप्रै बालबालिका सडक बालबालिकाको रूपमा जीवन बिताउने गरेको सई अधिकारीले जनाइन्। सडक बालबालिकाको परिदृश्य देशको मुख्य सहरहरू यत्रतत्र देख्न पाइन्छ।

नेपालको भविष्यतर्फ हेर्ने हो भने बालबालिकाको अवस्थातिर हेर्नुपर्छ। सडक बालबालिकाको दयनीय स्थितिले आगामी दिनको चुनौतीसमेत सामना गर्नुपरेको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App