१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदलाई ल्याप्टप बाड्ने निर्णयमा झाँक्रीको विरोध, संसदीय गरिमा नरहने चिन्ता

काठमाडौं– सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने संसद सचिवालयको निर्णयको विरोध गरेकी छिन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक रहेको र यो गर्न नहुने बताइन्। 

‘सांसदलाई ल्याप्टप बाड्ने निर्णय भएको र टेण्डर आह्वान गरिएको सुन्दा मलाई दुःख लागेको छ’, उनले चिन्ता व्यक्त गरिन्, ‘सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ। यसले सांसदलाई क्रमश जनतासँग अलग गर्ने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको छ।’

झाँक्रीले कहिले ६ करोडको सांसद विकास कोषको नाममा त कहिले (२०५१ साल)मा भन्सार छुटमा सांसदले गाडी ल्याउने कुरा तथा ल्याप्टप बाड्ने कार्यलेसंसदीय र प्रजातान्त्रिक व्यवस्थामै आँच आएको बताइन्। 

‘सांसदलाई प्रविधिमैत्री बनाउने नाममा यस्ता सस्तो चिप कुराहरु गरेर सांसदको हुर्मत लिने काम बन्द गरियोस्। यो कुरा आपत्तिजनक छ, यो गरिनुहुँदैन। यो व्यवस्थाले सांसद र संसदीय व्यवस्थाको गरिमा र मर्यादा बढ्दैन्’, उनले सभामुखको ध्यानाकर्षण गराइन्।

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App