१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिटरब्याजीलाई जनकारकाही गर्न नेता नेपालकाे निर्देशन

सर्लाहीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल। तस्बिर: टंक/नागरिक

सर्लाही - नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिटर ब्याजमा ऋण लगानी गर्दै सोझासाझा जनतामा लुट मच्चाइरहेका ‘सुदखोरी’लाई जनकारबाही गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार मलंगवामा नेकपाको नवनिर्मित जिल्ला पार्टी कार्यालय भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रम नेपालले मिटरव्याजीमा ऋण लगानी गर्नेहरूलाई जनकारबाहीको चेतावनी दिएका हुन्।

‘दसगुणा बढीको कागज गराएर मिटर ब्याजमा ऋण दिने सुदखोरीलाई जनकारबाही गर्नुस,’ नेता कार्यकर्तालाई निर्देशन दिँदै नेपालले भने, ‘यस्ता लुटेरालाई तुरुन्त समातेर सरकारलाई बुझाउनोस्।’ आप्mनै पार्टीको शक्तिशाली दुइतिहाइको सरकार भए पनि मन्तव्यका क्रममा आक्रोशित देखिएका उनले कार्यकर्तालाई तत्कालीन माओवादी जनयुद्धको झल्को दिनेगरी जनकारबाहीमा उत्रन सुझाएका छन्।

भ्रष्टाचार र कमिशनतन्त्रका कारण तराई मधेसको विकास निर्माण बेहाल बनेको नेता नेपालको धारणा थियो। तराई मधेसका विकासे योजनाको ७५ प्रतिसतसम्म बजेट कमिसनमै बाँडिने गरेको उनले दाबी गरे। ‘तराई मधेसमा ७५ प्रतिसत बजेट कमिसनमै बाँडिने गरेको छ, मरेर २५ प्रतिसतको मात्र काम हुन्छ,’ नेपालले दाबी गरे, ‘यहाँका कर्मचारीदेखि राजनीतिज्ञसम्म कमिसनतन्त्रमै डुबेका छन्, अनि कसरी तराई मधेसको विकासले गति लिन्छ ?’ राजपा लगायत मधसका नाममा राजनीति गर्ने पार्टीका नेता कार्यकर्ताले काम नै नगरी बजेट पचाउने गरेको नेता नेपालको दाबी थियो।

उनले सर्लाहीस्थित निर्माणाधीन नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रेको काम अत्यन्त गुणस्तरहीन भएको उल्लेख गर्दै उक्त कालोपत्रे ३ देखि ६ महिनाभित्र क्षतविक्षत हुने दाबीसमेत गरे। ‘यस्तो गुणस्तरहीन कालोपत्रे ३ महिना पनि टिक्दैन,’ सोही कालोपत्रे हुँदै सदमुकाम मलंगवा पुगेका नेपालले भने, ‘यस्ता कामको तपाईंहरूले सक्रियतापूर्वक अनुगमन गर्नु जरुरी छ।’ एउटा ठेकेदारले कार्यालयसँग सम्झौता गर्ने र उसले अर्को हुँदै ३ वटासम्म पेटी ठेकेदारलाई ठेक्का बेच्ने प्रचलनले गुणस्तरीय काम हुन नसकेको बताए। ‘५० करोडको ठेक्का ४० करोडमा सकारिन्छ अनि त्यो ठेकेदारले ३० करोड हुँदै २० करोडमा अर्कै ठेकेदारलाई बिक्री गर्छ,’ उनले भने, ‘यसरी लागत अनुमानको आधाभन्दा कममा सकार्ने ठेकेदारबाट कसरी गुणस्तरीय कामको अपेक्षा गर्न सकिन्छ ?’

तराई मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउन चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने औल्याउँदै नेपालले चुरे क्षेत्रमा भइरहेको विनाशले पछिल्लो समय तराईमा खानेपानीको संकट चुलिँदै गएको बताए। तराईमा पानीको समस्या समाधानका लागि चुरे क्षेत्र संरक्षण, वृक्षरोपण तथा पोखरी निर्माणमा जोड दिनु पर्ने नेपालको धारणा थियो।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App