२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१० पास गरेर मात्र विदेश अध्ययन गर्न जान नपाइने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० पछी डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई रोक लगाएको छ। एसइई परीक्षाको नतिजा प्रकाशनको दिन नजिकिँदै जाँदा मन्त्रालयले बुधबारै सूचना प्रकाशन गरी कक्षा १० पास गरेका विद्यार्थीहरुलाई विदेशमा डिप्लोमा जान नोअब्जेक्सन लेटरमा रोक लगाएको छ।

शिक्षा मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले सूचना प्रकाशन गरी सरकारले कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरिसकेको अवस्थामा उच्चशिक्षा अध्ययनको न्यूतम योग्यता कक्षा १२ पास वा सोसरहका उत्तीर्ण विद्यार्थीहरु मात्र विदेशी विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा हासिल गर्न मात्र नोअब्जेक्सन लेटर दिने सूचना प्रकाशित गरेका छन्।

‘प्लस टु वा सोसरह उत्तीर्ण गरी विदेशी विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि सोसँग सम्बन्धित एकेडमी ब्रिज कोर्स वा भाषा कोर्स र स्नातक वा सोभन्दा माथि अध्ययन प्रयोजनका लागि मात्र एनओसी जारी गरिने छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘छात्रावृत्तिसम्बन्धि ऐन २०२१ संसोधनसहितको नियम २७ (क) बमोजिम विदेशमा व्यवस्था गरिएको हो।’ शिक्षा मन्त्रीका प्रेस सल्लाहाकार सुनिल खड्काले मन्त्रालयले पुरानै भएको ऐन कार्यान्वयन मात्र गरेको बताए।

उनले सरकारले नै १२ सम्म विद्यालय शिक्षा कायम गरेकाले यो नियम कार्यान्वयन गरिएको दाबी गरे। ‘२०६० सालमै मन्त्रालयले उच्च शिक्षा ऐनको दफा ग (क) मै उच्च शिक्षा हासिल गर्न मात्र विदेशी विश्वविद्यालयमा जाने विद्यार्थीलाई एनओसी दिने उल्लेख गरेको रहेछ,’ प्रेस सल्लाहाकार खड्काले भने, ‘अहिलेका पदाधिकारीहरुले पुराना नियम कार्यान्वयन मात्र गरेका हुन्।’ उनले थपे, ‘अब १२ पास विद्यार्थी मात्र एनओसी लिएर विदेशी विश्वविद्यालय तथा कलेजहरुमा अध्ययन गर्न जाने व्यवस्था मन्त्रालयले गरेको छ।’

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले सोही देशको मुद्रा सटही गरी लानको लागि एनओसी अनिवार्य चाहिन्छ। तर विदेशमा बस्ने आमाबुवाहरुको नानीहरुको हकमा प्रमाण पुर्याएर एनओसी दिने व्यवस्था गरिएको खड्का बताउँछन्। उता शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले भने मन्त्रालयले कक्षा १० पछि विदेश अध्ययनको लािग एनओसी रोक लगाए पनि कक्षा १२ पासलाई समेत डिप्लोमा कोर्सका रोक लगाएकोमा आपत्ती जनाएका छन्। मन्त्रालयले हाल अस्ट्रेलिया, न्यूजल्यान्ड, क्यानाडालगायतका देशमा कक्षा १२ पछि पनि डिप्लोमा कोर्सको लागि एनओसी नदिने निर्णय गरेकोमा उनले आपत्ती जनाए।

‘सरकारले कक्षा १२ पछि उच्च शिक्षा कायम गरिसकेको छ,’ इक्यानका अध्यक्ष पाण्डे भन्छन्, ‘विदेशका विश्वविद्यालय तथा कलेजमा डिप्लोमा र एडभान्स डिप्लोमा विश्वविद्यालयकाकै स्नातक तहकै भाग हो।’ उनले थपे, ‘एकदेखि दुई वर्ष डिप्लो गरेपछि विद्यार्थीले प्राज्ञिक कोर्स अध्ययन गर्न पाइने व्यवस्था छ। यस्तो अवस्थामा शिक्षा मन्त्रालयले कक्षा १२ पछि पनि डिप्लोमा कोर्स रोक लगाउनु गलत हो।’

प्रकाशित: ३० जेष्ठ २०७६ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App