१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

१८ दिनमै गलबन्दीको एक करोड सात लाख ‘भ्युअर्स’

बागलुङ– सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ।

जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो। गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गीत अहिले ट्रेण्डिङ नं ६ मा छ। कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो।

गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ। शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै छ। म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ। सो गीतको छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको थियो।

सपुतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं एकमा आएको थियो। बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’ को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए। ‘बोलमायामा पनि स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ थियो। उक्त गीतको भिडियोमा पनि सपुत र अञ्जली अधिकारीको अभिनय छ।’

परम्परागत रोधीको झल्को दिने गरी गलबन्दी बनाएको सपुतले बताए। गीतबाट सपुतको बहुप्रतिभा उजागर भएको छ। मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाइरहेका छन्।

म्युजिक भिडिओको कथा, सोच र निर्माणपक्ष समेतले गीतलाई न्याय गरेको छ। लोकदोहोरीमा मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ। ‘विशुद्ध मनोरञ्जनका लागि बनाइएको गीत हो’, सपुतले भने ‘भिडियोमा मौलिकपन दिने प्रयास गरेको छु।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट संवाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन्। सपुत चञ्चले युवक र अधिकारी लजालु युवतीका रुपमा म्युजिक भिडियोमा देखा पर्छन्।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसाबले पनि सपुत सफल देखिएका छन्। गीतको भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन।

भाका नेपाल प्रालिद्वारा निर्मित गीतको भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्तजनको अभिनय देख्न पाइन्छ। यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बन्नुभएका सपुतले सामाजिक मुद्दालाई पनि सिर्जनामार्फत मुखरित गर्दै आएका छन्।

गतवर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो। पछिल्लो समय मौलिक लोक तथा दोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन्। 

गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ हालसम्म चार करोड ५६ लाख भन्दा बढी पटक हेरिएको छ। उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ। रासस

प्रकाशित: २९ जेष्ठ २०७६ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App