१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बल प्रयोग तथा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कानुनी कठघरामा उभ्याउँछौंः गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्। उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने प्रष्ट पारे। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा जेठ २६ गते माइतीघर मण्डलामा भएको घटनाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले नेवा अभियान आन्दोलन र केही संस्थाहरुको नेतृत्वमा ३÷४ सय जनाको समूहले गुठी विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको र त्यसक्रममा सार्वजनिक आवागमनलाई अवरोध खडा गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए। ‘प्रहरीले अवरोध नगर्न आग्रह गर्यो। माइकिङ पनि गर्यो। पटक पटक भन्दा पनि मानेनन्। यातायातलाई अवरोध गरेकाले खुलाउन प्रहरीले पानीको फोहरामार्फत भीड तितरवितर पारेको हो’, उनले भने, ‘त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुडा गरे। त्यही क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको हो।’

घटनापछि केहीलाई हिरासतमा लिएको र साँझ सोधपुछ गरेर छाडिएको उनले जानकारी गराए। ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो। यसमा सरकार प्रतिबद्ध छ’, उनले भने, ‘शान्ति सुरक्षा र सवारी आवागमन सूचारु राख्ने दायित्व पनि सरकारकै हो।’ 

शान्तिसुरक्षा कायम गर्न, आवागमन सूचारु गर्न सरकारले दायित्वअन्तर्गत सामान्य बल प्रयोग गरेको उनको भनाई छ।
उनले राज्य वा आन्दोलनकारीबाट कानुन मिचिएको वा बल प्रयोग, अभ्रद व्यवहार गर्नेलाई दण्ड हुने बताए। ‘त्यस दिन कानुन विपरित जानेलाई छानविन प्रक्रिया अघि बढाएको छ, महानगरीय प्रहरी परिसरले अगाडि बढाएको छ। सुरक्षाकर्मीलाई पनि कानुनी कठघरामा उभ्याउने प्रक्रियालाई अघि बढाइएको छ’, उनले भने, ‘सुरक्षाकर्मी वा प्रदर्शनकारी घाइते हुनु, क्षति हुनु दुःखद घटना हो। म दुःख व्यक्त गर्दछु।’

शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने कुरालाई सुनिश्चित गर्ने र सुरक्षा दिने काम सरकारको भएको गृहमन्त्री थापाले दोहोर्याए। ‘यो घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिन्छ। छानविन हुनुपर्छ भन्ने पक्षमा सरकार छ, छानविन भइराखेको छ’, उनले भने, ‘प्रदर्शनकारीबाट पनि बल प्रयोग भएको छ, प्रहरी पनि घाइते छन्। ढुंगामुडा, इटा हान्ने काम भएको छ। राज्यले छानविन गर्नेछ, दोषीमाथि कारवाही गर्छाैं।’

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग्दै सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो। कांग्रेससहित सत्तारुढ सांसदले सरकारले अघि सारेको गुठी विधेयक परिमार्जनको माग गर्दै आएका छन्।

प्रकाशित: २८ जेष्ठ २०७६ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App