१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरो’

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरो हुने बताएका छन्। सोमबार स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शताब्दी सत्रलाई सम्बोधन गर्दै उनले नेपालको प्रजातान्त्रिक संविधानले समानता, गैरभेदभाव र सामाजिक न्यायको आदर्श स्थापना गरेको स्पष्ट पारे। नेपालको लोकतन्त्र बृहद् किसिमको भएको उल्लेख गर्दै उनले त्यसले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक आयामलाई सशक्त बनाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेपालको संविधानले सामाजिक न्याय, शोषणविरुद्धको अधिकार, श्रमको अधिकार, पारिश्रमिक र सामाजिक सुरक्षाका साथै श्रमिक संगठनको अधिकार र सामूहिक सौदाबाजीको अधिकार समेटेको चर्चा गरे।

नेपाली जनताको शिक्षा, स्वास्थ्य, खाद्य, आवास, संस्कृति र भाषाको अधिकिार आधारभूत अधिकारका रूपमा सुनिश्चित गरिएको प्रधानमन्त्रीको भनाइ थियो। उनले नागरिकका मौलिक अधिकारको कार्यान्वयनका लागि कैयौं कानुन लागू गरिएको पनि उल्लेख गरे। एउटा व्यक्तिको सम्पूर्ण जीवन सामाजिक सुरक्षा प्रणालीमा समेटिने बताउँदै उनले बच्चा र वृद्धलाई राज्यले सामाजिक सुरक्षाको व्यवस्था गर्ने र सक्रिय जीवनमा कामदारको योगदानका आधारमा सामाजिक सुरक्षाको व्यवस्था हुने जानकारी दिए। यो प्रावधानलाई सामाजिक सुरक्षा ऐनमै व्यवस्था गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले गत नोभेम्बरमा महत्वाकांक्षी र बृहत् सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको पनि सम्बोधनका क्रममा जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले नेपालमा विगत २५ वर्षदेखि एकल महिला र ज्येष्ठ नागरिकलाई मासिक भत्ताको व्यवस्था गरिएको पनि सुनाए। यो वर्षदेखि सुरु गरिएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे पनि उनले जानकारी गराए। कार्यक्रमको माध्यमबाट रोजगारी सिर्जना गर्ने, श्रम गर्न सक्ने उमेरका नागरिको रोजगारीको सुनिश्चितता गर्ने, बेरोजगारलाई भत्ता उपलब्ध गराउने, व्यापार प्रवद्र्धन गर्ने बताए। उनले उत्पादन सम्बन्धमा परिवर्तन ल्याउन नयाँ श्रम कानुनको सुरुआत गरेको र यसले कामको सम्मान, समान कामका लागि समान मूल्यको वितरणजस्ता काममा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपालको हरेक सरकारी निकायमा समावेशिता रहेको भन्दै नेपालको संघीय र प्रादेशिक संसद्मा एक तिहाइ महिलाको सहभागिता सुनिश्चितता गरिएको बताए। उनले नेपाली युवाहरूमा बेरोजगारीको अन्त्य गर्न सामाजिक सुरक्षाले महŒवपूर्ण भूमिका खेल्ने बताए। प्रधानमन्त्री ओलीले नेपालले लोकतान्त्रिक संघर्षका बेला आईएलओबाट महŒवपूर्ण प्रेरणा प्राप्त गरेको भन्दै निरंकुशताविरुद्ध आन्दोलनमा श्रमिक संगठनहरूले महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए। पाँच दशकभन्दा बढी समयदेखि सार्वजनिक जीवनमा समानता र जनताको सामाजिक न्यायका लागि आफू निरन्तर लड्दै आएको सुनाउँदै ओलीले आफ्नो नेतृत्वको सरकारले अघि सारेको समृद्ध नेपाल खुसी नेपालीको नारा कार्यान्वयनका लागि दक्ष कामदारको आवश्यकता रहेको धारणा व्यक्त गरे।

प्रकाशित: २८ जेष्ठ २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App