१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीमा रोजगारीको लागि ३ करोड ९० लाख बजेट

सिन्धुली- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारीलाई रोजगार दिनका लागि सिन्धुलीमा झन्डै ३ करोड ९० लाख बजेट खर्च गरिने भएको छ। विभिन्न नगरपालिका तथा गाँउपालिकामा बेरोजगारलाई रोजगार दिनका लागि भन्दै मोटो रकम असार मसान्तभित्रै खर्च गर्नुपर्ने भएको छ।

सिन्धुलीमा हजारौं युवा तथा बयस्कहरु बेरोजगार रहेको भन्दै फारम भरेपछि तिनै बेरोजगारलाई रोजगार दिनका लागि बजेट खर्च गरिने सम्बन्धित स्थानीय तहले जनाएका छन्।  सरकारले बेरोजगारी हटाउन स्थानीय तह मार्फत मुलुकमै रोजगारी दिने र युवाहरुलाई विदेश नपठाउने नीति लिएर बेरोजगार युवा युवती तथा वयस्कहरुको लगत संकलन सुरु गरेसँगै हजारौ बेरोजगारहरुले फर्म भरेका थिए।

दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा झन्डै ३० हजारले बेरोजगारी भएको भन्दै फर्म भरेको प्रारम्भिक तथ्याङकमा देखिएको छ। बेरोजगारलाई रोजगारी दिन भन्दै सरकारले स्थानीय तहमा पठाएको रकम हालसम्म खर्च हुन  सकेको छैन। 'बजेट ढिला आयो, त्यसैले हामी बजेट अनुसारको योजना वडाबाटै धमाधम माग गरिरहेका छौ', कमलामाई नगरपालिकाका रोजगार संयोजक अजय प्रधानले भने, 'यो नगरपालिकामा ७६ लाख बजेट आएको छ हालसम्म खर्च गरेका छैनौ, तर तत्कालै कार्यान्वयन गर्ने चरणमा छौं।' कमलामाई नगरपालिकामा ५ हजार ८ सय २१ जनाले रोजगारी माग गर्दै फारम भरेको उनले बताए।

जिल्लाका केहि स्थानीय तहमा रोजगार संयोजक ढिला पठाइएको भएपनि बेरोजगारको फारम संकलन कार्यलाई ढिला नगरिएको जनप्रतिनिधिहरु बताउँछन्। यहाँको घ्यालेख गाँउपालिकामा अझै रोजगार संयोजक नियुक्ति भएको छैन तथापी गाँउपालिकाका सूचना अधिकारी किशोर वाइवालेनै उक्त काम गरिरहेको जानकारी दिए।

चैत महिनाको सुरुबाटै स्थानीय तहले बेरोजगारको लगत संकलन गर्न थालेका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकामा ७६ लाख, दुधौली नगरपालिकामा ७१ लाख, गोलञ्जोर गाँउपालिकामा २० लाख, घ्यालेख गाँउपालिकामा १३ लाख, तीनपाटन गाँउपालिकामा ३७ लाख, फिक्कल गाँउपालिकामा १६ लाख, मरिण गाँउपालिकामा २७ लाख, सुनकोसी गाँउपालिकामा २४ लाख र हरिहरपुरगढी गाँउपालिकामा २५ लाख बजेट विनियोजित भएको छ।

विनियोजित भएको बजेट प्राय स्थानीय तहले कार्यान्वयनकै चरणमा रहेको जनाएका छन्। 'हाम्रो गाँउपालिकामा यहि साताबाटै कार्यन्वयनको चरणमा जाने निर्णय भएको छ, सामाग्री खदिर गरिसकेका छौ, अब काम धमाधम सुरु हुन्छ', गोलञ्जोर गाँउपालिकाका रोजगार संयोजक सरद प्याकुरेलले भने। १८ बर्षदेखि ५९ बर्षसम्मका युवा तथा प्रौढ उमेरका महिला तथा पुरुषले बेरोजगार भएको र रोजगार पाउ भन्दै फारम भर्ने तथा निवेदन सम्बन्धित वडा तथा पालिका कार्यालयमा दिन सरकारले आह्वान गरेको थियो। सोही अनुसार चैतको सुरुदेखि बैशाख मसान्तसम्म बेरोजगारीको फारम स्थानीय तहले लिएका थिए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App