१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किबीखेतीमा किसानको आकर्षण बढ्दै

सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित बाहुनतिल्पुङका किसानले व्यावसायिक रुपमा सुरु गरेको किबीखेती। तस्बिरःअनिल भण्डारी/नागरिक

सिन्धुली– सिन्धुलीमा व्यावसायिक रुपमा किबीखेती हुन थालेको छ। जिल्लाको महाभारत क्षेत्रका साविकका गाविसमा किसानले व्यावसायिक किबीखेती सुरु गरेका हुन्।

किबीको बजार भाउ राम्रो भएकाले किसान किबीखेतीतर्फ आकर्षित भएका हुन्। किबीको राम्रो सम्भावना बोकेको सिन्धुली जिल्ला भए पनि किसानले व्यावसायिक रुपमा खेती नगर्दा सिन्धुलीमा किबी उत्पादन थिएन। तर पछिल्लो समय बजारीकरणका लागि कुनै समस्या नभएपछि किसान किबीखेतीतर्फ आकर्षित भएका हुन्।

तीनपाटन गाउँपालिकास्थित बाहुनतिल्पुङका गुञ्जबहादुर देवकोटाले व्यावसायिक किबीखेती सुरु गरेका छन्। यस क्षेत्रमा किबीको सम्भावना राम्रो भएकाले किबीखेती सुरु गर्न किसान हौसिएका हुन्। ‘हाम्रोतिर किबीको उत्पादन राम्रो हुन्छ’, देवकोटाले भने, ‘त्यसैले व्यावसायिक किबीखेतीको सुरुआत गरेको छु।’ उनले किबीको बजार भाउसमेत आकर्षक भएको बताए। प्रतिकेजी पाँच सय रुपैयाँसम्म किबीको बजार भाउ रहेको किसान बताउँछन्। उत्पादित किबीलाई हालसम्म बजारको कुनै समस्या छैन। ‘हामीले उत्पादन गरेको किबी गाउँमै बिक्री वितरण हुन्छ’, देवकोटाले भने, ‘हालसम्म बजार खोज्दै जानुपर्ने अवस्था छैन।’

किबीको उपभोग गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले धेरैले किबी खाने गरेको किसान बताउँछन्। ‘स्वास्थ्यका लागि किबी फल धेरै राम्रो हो’, उनले भने, ‘मानिसहरू चाख्नकै लागि भए पनि किबी किन्छन्, त्यसैले बजारको कुनै समस्या छैन।’ सोही क्षेत्रका जितबहादुर तामाङ पनि किबीको व्यावसायिक खेती सुरु गरेको बताउँछन्। ‘रोपेको तीन वर्षमा फल दिन सुरु गरेको छ’, जितबहादुरले भने, ‘एउटा बोटमा पाँच केजीसम्म फल्ने देखिएको छ।’ उनले आफ्नो बारीमा ५० भन्दा बढी किबीको बोट भएको बताए। किबी उत्पादन गर्ने किसान जिल्लामा धेरै नहुँदा किबीको महत्त्व बढेको छ।

जिल्लाको बाहुनतिल्पुङ, महादेवडाँडा, रतनचुरा, रत्नावती, तोश्रामखोला, जलकन्या, मझुवालगायतका महाभारत क्षेत्रका साविकका गाविसमा किबीको व्यावसायिक खेती गर्न सकिन्छ। तथापि किबीको व्यावसायिक खेती गर्ने किसान धेरै नभएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। ‘केही किसानले व्यावसायिक खेती सुरु गरेका छन्, तथापि धेरै किसानले हालसम्म खेती गरेका छैनन्’, कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले भने, ‘यसलाई व्यावसायिक बनाउने हाम्रो लक्ष्य छ।’ उनले किबीको व्यावसायिक खेतीलाई बढाउनसके पर्यटकीय आकर्षणसमेत बढ्ने जनाए।

तीनपाटनस्थित बाहुनतिल्पुङका वडाध्यक्ष रेखराज अधिकारी वडामा किबी खेती गर्न किसानलाई प्रोत्साहन गर्ने बताउँछन् । ‘हाम्रो वडाको प्रमुख नगदेबालीको रुपमा किबीलाई विकास गर्न सकिने देखेका छाैं’, उनले भने, ‘किसानलाई किबी खेती गर्न प्रोत्साहन गर्छाैं।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(जुनार सुपर जोन)का प्रमुख देवराज अधिकारी जिल्लामा किबीखेतीको सम्भावना भए पनि व्यावसायिक रुपमा खेती गर्ने किसान निकै कम भएको बताउँछन्। ‘जिल्लामा किबीको खेती भइरहेको छ, व्यावसायिक खेती गर्ने किसान थोरै छन्’, उनले नागरिकसँग भने, ‘गोलञ्जोर गाउँपालिकाको हिर्दिङ, सुनकोसी गाउँपालिकाको मझुवालगायतका क्षेत्रमा यसको सम्भावना राम्रो छ।’

उसो त व्यावसायिक खेतीमै महादेवडाँडाका दुई किसान पनि जुटेको स्थानीय बताउँछन्। केही वर्षअगाडिबाटै उक्त क्षेत्रका रामकुमार कार्की र दीपक काफ्लेले व्यावसायिक रुपमा किबीको खेती गरिरहेका छन्। समुद्री सतहबाट १४ सयदेखि १८ सयसम्मको उचाइमा यो खेती उपयुक्त हुने अधिकारी बताउँछन्।

सुरुआती चरणमा तीन चार सय रुपैयाँ प्रतिकेजी बिक्री वितरण हुने गरेको भए पनि हाल मूल्य घटेको किसानको भनाइ छ। महँगो मूल्य पर्ने भएकाले विदेशी र माथिल्लो वर्गका व्यक्तिहरूले मात्रै उपभोग गर्ने भएकाले सबैको पहुँचमा यो फल पुग्न नसकेको स्थानीय बताउँछन्।

जिल्लाका विभिन्न क्षेत्रमा यसको उत्पादन हुने भए पनि केही क्षेत्रमा मात्रै किसानले खेती गरेका गरेको भए पनि यो ठूलो स्केलमा खेती नगरिएको किसान बताउँछन्। सम्भावना प्रशस्त छ, व्यावसायिकता छैन, एक किसानले भने।

प्रकाशित: २७ जेष्ठ २०७६ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App