१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल लाइफको सदावहार जीवन बिमा योजना

काठमाडौं – मुलुकको अग्रणी बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सदावहार जीवनका लागि सदावहार जीवन बिमा योजना’ नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गरेको जनाएको छ।

सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, ‘आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफलकम समयमाप्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहन्छन्। सेवाग्राहीको यही चाहनाअनुसारको बिमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ ल्याएको हो।’ उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बिमांकको पाँच प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ। साथै, आजीवन जोखिम बहन गर्नु र बिमा अवधिपछि पनि समर्पण मूल्य प्राप्त गर्नु, यस योजनाको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ।

घातक रोगकालागि ५० लाखसम्मको बिमालेख लिन सकिने

कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बिमांक रकम दुई लाख रूपैयाँ कायम गरिएको छ। तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बिमांक रकम राखेर सहभागी बन्न सकिने कम्पनीले प्रस्ट पारेको छ। यो बिमालेख खरिदका लागि उमेर न्यूनतम ११ वर्ष र अधिकतम ६५ वर्ष तोकिएको छ। साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ। यसमा दुर्घटना मृत्यु लाभ, बिमा शुल्क छुट सुविधा र अशक्त सुविधा लिन १६ वर्ष र घातक रोग सुविधा लिन १८ वर्ष उमेर तोकिएको छ। बिमाशुल्क भुक्तानी अवधि न्यूनतम पाँच र अधिकतम २० वर्ष रहेको यो योजनाको बिमाशुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ। त्यस्तै, बिमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ। बिमालेख चालु भएको अवस्थामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमालेख अन्तर्गत पूरा बिमांक रकम र नियमानुसारको बोनस रकम एकमुष्ठ प्रदान गरिनेछ। यसमा बिमितलाई प्रत्येक वर्ष पाँच प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ।

एकल बिमाशुल्क योजनामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमांक रकम र आर्जित बोनस वा एकल बिमाशुल्क रकममध्ये बढी हुने रकम बिमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ। साथै, सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अविध समाप्तिपछि जीवनभर कुनै पनि समयमा बिमितको मृत्यु भएमा पुनः बिमांक बराबरको रकम प्रदान गरिनेछ। यस योजनामा बिमा प्रारम्भ भएको मितिले एक वर्षपछि दुई वर्षको पूरा बिमाशुल्क भुक्तानी गरेपश्चात बिमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ। साथै, एकल बिमा शुल्क योजनामा बिमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बिमालेखको समर्पण मूल्य प्राप्त हुने जनाइएको छ। समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App