१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पातलिँदै लिंगाे वनका रूख

भक्तपुर - भक्तपुरको योसिँग गु (लिंगो वन) मा रुखहरुको संख्या कम हुँदै गएको छ। प्रत्येक वर्ष आवश्यक लिंगो काटेर लाने मात्रै तर वृक्षरोपण गर्ने काम नहुँदा वनमा उपयुक्त लिंगो रित्तिन थालेका हुन्।यस योसिँग गु (लिंगो वन) बाट वर्षेनी चार ठाउँका लागि लिंगो लिन आउने लिगो गुठी सामुदायिक वन उपभोक्ता संघका अध्यक्ष शेखर खड्काले बताए। लिंगो वनबाट भक्तपुरको विस्का जात्राका लागि हात भएको लिंगो, इन्द्रजात्राका लागि लिंगो, चण्डेश्वरी जात्राका लागि लिंगो र विस्का जात्राका लागि हात नभएको लिंगो लाने गरिएको छ।

प्रत्येक वर्ष एउटा संस्थाले दुई वटा लिंगो लाने गरेको उनी बताउँछन्। जम्मा ७ वटा लिंगो सो वनबाट लग्ने गरिन्छ तर कहिले उचाइ पुगेन, कहिले हात मिलेन भनेर अरु रुख पनि काट्ने गरिएको उनी बताउँछन्। सो लिंगो वन १९ हेक्टरमा फैलिएको छ भने अचेल रुख पातलिँदै गइरहेको उनले बताए।‘लिंगो वनमा लिंगो लिन आउने मात्र आउँछन् तर रुख रोप्न भने कोही आउँदैनन्,’ उनले भने, ‘यसै कारण लिंगो वन पातलिँदै गएको हो।’ लिंगो लिन आउने सबै संस्थाले यहाँ वृक्षरोपण गर्न आउनुपर्ने उनले सुझाए।

भक्तपुरका नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले लिंगो वनको हाम्रो भक्तपुरको विस्का जात्राको एउटा अभिन्न अंगको रुपमा रहेको बताए। उनले भने, ‘विस्का जात्रामा उभ्याउने हात भएको लिंगो र हात नभएको लिंगो यही लिंगो वनबाट लाने गरिन्छ। लिंगो काट्नको लागि त सजिलो छ तर यसलाई हुर्काउन भने धेरै समय लाग्छ। त्यसैले अब जात्रा मनाउनको लागि लिंगो काट्न मात्र होइन रोप्नु पनि त्यती नै जरुरी भएको छ।’

संस्कृतिविद ओम धौभडेलले लिंगो वनमा विशेष गरी विस्का जात्राको लागि भक्तपुरबाट सम्बन्धित गुठीका व्यक्तिहरु तथा सर्वसाधारण लिंगो लिन जाने बताए। विस्का जात्राको लागि लिंगो वनबाटै लिंगो ल्याउने परम्परा रहेको धौभडेलले बताए। धौभडेलले भने, ‘लिंगो काट्नका लागि विशेष पूजाआजाका साथ बोको पूजा गरेर बोकाले जुन लिंगोलाई टाउको हान्छ त्यसलाई काट्ने परम्परा छ।’ दुईवटा लिंगो ल्याउनुको कारण भने केही गरी लिंगो भाँच्चियो भने विकल्पको रुपमा अर्को ल्याउने गरेको उनी सुनाउँछन्।

सल्लाको रुख हुर्काउन धेरै समय लाग्ने उनी बताउँछन्। वनबाट रुख ढालेर भक्तपुर, बनेपा, काठमाडौं तीनै ठाउँमा डोरीले नै बाँधेर घिसार्दै लिंगो लाने चलन छ। प्रत्येक वर्ष जात्राका लागि लिंगो ल्याउने यो ठाउँ यो भक्तपुरबाट नाला जाने बाटोमा पर्दछ। यो वन भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चितपोलमा पर्दछ। लिंगो वन साँगा नजिक रहेको छ।

गत साता मनाइएको विश्व वातारवरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाले लिंगो वनमा वृक्षरोपण कार्यक्रम गरेको थियो। सो वनमा सल्लाको विरुवा रोपियो। वृक्षारोपणका क्रममा चार सय सल्लाको विरुवा रोपिएका थियो।

भक्तपुर नगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उल्लेख्य जनसहभागिता थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले मात्र नभई सबै जनताहरुले बातावरणको ख्याल राख्नुपर्ने बताए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App