१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीका प्राकृतिक ताल सुक्दै

सुख्खा बन्दै गएको सोनिया ताल तस्बिरः योगेश/नागरिक

टीकापुर - कैलालीको घोडाघोडी ताल क्षेत्रमा पानीको सतह घटेको छ। जिल्लाको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी ताल क्षेत्रमा १९ वटा ठूलासाना ताल रहेका छन्। १ सय ३८ हेक्टर क्षेत्रफल र ४ मिटर गहिराइ रहेको घोडाघोडी यहाँको सबैभन्दा ठूलो ताल हो। अन्य तालहरू यससँगै जोडिएका छन्। सबै तालले २ सय ४८ हेक्टर क्षेत्रफल ओगटेका छन्। चुरेको फेदीमा पानीका स्रोत सुक्न थालेसँगै तालमा पानीको सतह घट्न थालेको स्थानीयले बताएका छन्। बग्दौली सिँचाइ आयोजनाका अध्यक्ष नरहरि रिजालले किसानले सिँचाइका रूपमा प्रयोग गर्दै आएको नकरोड तालमा विगतको तुलनामा पानीको सतह घटेको बताए।

उनले तालतर्फ आउने पानीका मुहान सुकेका कारण यस्तो समस्या भएको जानकारी दिए। ‘चुरेको फेदीबाट ल्याइएको पानी तालमा जम्मा गथ्र्यौं। त्यो पानी खेतबारीमा प्रयोग हुन्थ्यो,’ उनले भने, ‘अहिले मुहानमै पानी छैन। तालमा पानीको सतह घट्ने नै भयो।’

अन्य तालमा पानीको सतह घटेपछि किसानले सिँचाइका लागि विगतमा भन्दा यस वर्ष घोडाघोडीको पानी बढी प्रयोग गर्न थालेका छन्। ‘यस वर्ष किसानले अलि धेरै पानी प्रयोग गरेका छन्। जसले केही हदसम्म तालमा पानीको सतह कम भएको हो,’ संरक्षणकर्मी दयाराम चौधरीले भने, ‘वर्षासँगै पानीको सतह यथास्थानमा आउनेछ।’ उनले घोडाघोडीको पश्चिमतर्फको कौवा नदी र पूर्वतर्फको डोडा नदी सुक्खा हुनुले पनि पानीको सतह कम भएको हुनसक्ने बताए। उनका अनुसार पानीको सतह कम भए पनि जलचर प्राणीलाई असर पार्ने खालको समस्या आएको छैन।

सारसको बासस्थानका रूपमा परिचित भजनी नगरपालिका–७ स्थित पुरैना ताल खेतमा परिणत भएको छ। ६६ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालमा पानी सुकेसँगै दुर्लभ सारससमेत लोप भएको छ।

घोडाघोडी क्षेत्रका ताल मात्र होइन, जिल्लाका अन्य स्थानमा रहेका तालमासमेत पानीको सतह घटेको छ। जिल्लामा सानाठूला गरी १ सय ८७ वटा ताल रहेका छन्। तीमध्ये कतिपय ताल सुकिसकेका छन्। सुक्खा भएका तालमा स्थानीयले खेतीपाती गर्न थालेका छन्। विश्वमै लोप हुने अवस्थामा रहेको सारसको बासस्थानका रूपमा परिचित भजनी नगरपालिका–७ स्थित पुरैना ताल खेतमा परिणत भएको छ। ६६ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा पानी सुकेपछि स्थानीयले खेती लगाउन थालेका हुन्। तालमा पानी सुकेसँगै दुर्लभ सारससमेत लोप भएको छ।

भजनी–३ स्थित भगरहिया ताल र ५ स्थित पिप्रहवा तालसमेत सुकेर खेतीयोग्य जमिनमा परिणत भएको छ। खैलाडस्थित झन्डै ८० हेक्टरमा फैलिएको लौकाहा भौकाहा, ४० हेक्टरमा फैलिएको सोनिया, ६० हेक्टरमा फैलिएको घोडताल र रतनपुरस्थित ३५ हेक्टरमा फैलिएको खौरहवा ताल पहिलेको तुलनामा धेरै खुम्चिएका छन्। स्थानीय तहले प्राकृतिक तालहरूलाई माछापालनका लागि ठेक्का दिन थालेपछि कैलालीमा रहेका प्राकृतिक तालमा असर परेको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन्। ‘प्राकृतिक तालहरूको प्राकृतिक रूपमै संरक्षण गर्नुपर्नेमा माछापालनका लागि ठेक्कामा दिई अप्राकृतिक रूपमा दोहन हुनाले तालहरू सुक्दै गएका हुन्,’ उनले भने, ‘कैयौं तालको अस्तित्व समाप्त भएको छ।’

टीकापुर नगरपालिका–७ स्थित ओजुवा तालसमेत सुक्दै जान थालेको छ। सीमसार क्षेत्रका रूपमा रहेको ओजुवा ताल क्षेत्रमा मानवीय अतिक्रमण बढेसँगै ताल सुक्न थालेको स्थानीय संरक्षणकर्मी भोजराज ढुंगानाले बताए। भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको बसन्ता कोरिडोर क्षेत्रमा रहेका पाँचवटा ठूला तालको अस्तित्व पनि समाप्त भइसकेको छ। त्यहाँका १ सयभन्दा बढी तालसमेत संकटमा छन्। प्राकृतिक तालहरूको अप्राकृतिक रूपमा दोहन, वन अतिक्रमण, जथाभावी चरिचरनलगायत कारणले तालहरूको अस्तित्व संकटमा परेको स्थानीय संरक्षणकर्मी बताउँछन्।

भजनी नगरपालिका र कैलारी गाउँपालिकालगायतका स्थानीय तहले बसन्ता कोरिडोरमा रहेका ताल माछापालनका लागि ठेक्का दिँदै आएका छन्। जिल्लाका ढोंग्रहवा, नुक्ली, तलबेलुवा, बन्जरिया, रखौना, जम्नेहटा, चम्रैया, सोनिया, रुपियालगायत सबै तालमा माछापालन हुने गरेको छ।

संरक्षित क्षेत्रभित्र पर्ने तालहरूलाई ठेक्कामा लगाउन पाइँदैन। तापनि संरक्षित क्षेत्रको मर्म र अवधारणाविपरीत सरकारी निकायले नै प्राकृतिक ताल माछापालनका लागि ठेक्कामा दिँदै आएका छन्। यसले प्राकृतिक तालको दोहन भई सिमसार क्षेत्र नै समाप्त हुने खतरा बढेको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App