१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिहारलाई करोडको ढाकाटोपी

पोखरा- ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवायुवती धेरै छन्। तर, तिहारमा सयपत्री र मखमली फूलको मालासरह ढाकाटोपीले पनि महत्व पाउँछ। त्यसैले त यो बेला ढाकाटोपीको व्यापार निकै बढ्ने गरेको छ। पोखरामा मात्र तिहारमा करिब एक करोड रुपैयाँ मूल्यको ढाकाटोपी बिक्री हुने व्यवसायीको अनुमान छ।

व्यवसायीका अनुसार तिहारअघिको अन्तिम एक साता ढाकाटोपीको व्यापार निकै चम्किन्छ। पोखरामा लामो समयदेखि ढाकाटोपी व्यापार गर्दै आएका राजेशमान पालिखे तिहारले ढाकाटोपीको व्यापार उकास्ने बताउँछन्। 'यो बेला ढाकाटोपीको व्यापार बढेको छ। तिहारमा सयपत्री र मखमली फूलले मात्र होइन, ढाकाटोपीले पनि बजार तताउँछ,' उनले भने, 'तिहारको बजार तताउन ढाकाटोपीले पनि साथ पाएको छ।'

व्यवसायीका अनुभवमा अरु बेला ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवती तिहारमा दाजुभाईका लागि महँगामहँगा ढाकाटोपी किन्न आउन थालेका छन्। 'शीरमा ढाकाटोपी र गलामा फूलको माला लगाउँदा निकै आकर्षक देखिन्छ,' उनले भने, 'त्यही भएर अहिले ढाकाटोपी प्राथमिकतामा पर्न थालेको हो। फूलमाला सरह जताततै बाटोमा बिक्री नभए पनि बजारमा ढाकाटोपीको माग बढ्दो छ।'

पोखरामा २०४० सालअघि पालिखे परिवारले ढाकाटोपी व्यापार सुरु गरेको थियो। २०३३ मा पोखरामा ढाकाटोपी उद्योग खोलेर व्यापार सुरु गरेको पालिखे परिवारले अहिलेसम्म ढाकाटोपीकै व्यापारलाई निरन्तरता दिएको छ। यो अवधिमा व्यापार केही खस्कियो। ढाकाटोपीको सँगसँगै व्यापार सुरु गरेका केही व्यवसायीले निरन्तरता दिन सकेनन्। तर, पालिखेको यो पुस्ता यही व्यवसायमा अडेको छ।

'जसोतसो व्यवसाय त अडिएको छ। तर, पहिलाजस्तो व्यापार छैन। तैपनि सिजनल व्यापारले परिवार धानिएको छ,' पालिखे भन्छन, 'तिहार र विवाहको सिजनका बेला व्यापार ठिकै हुन्छ। त्यही सिजनल बिक्रीले व्यापार थामिएको छ।' सरकारले राष्ट्रिय पोशाक सरह ढाकाटोपीलाई अनिवार्य गरेमा यसको माग अरु बेला पनि बढ्ने उनी बताउँछन्। देशभक्तिसँग ढाकाटोपीको महत्व जोड्न सके यसले अझै महत्व पाउने उनको भनाइ छ।

शीरमा ढाकाटोपी लगाएको मान्छे निकै भलाद्मी देखिने भएकाले पनि यसले व्यक्तिको व्यक्तित्व झल्काउने उनले बताए। त्यही भएर तिहारमा मात्र नभई अरु बेला पनि ढाकाटोपी लगाउने बानी विकास गराउनुपर्ने पालिखे सुझाउँछन्। व्यवासायीका अनुुसार ढाकाटोपी सयपत्री र मखमली फूलको मालाको तुलनामा निकै महँगो हुन्छ। एउटै टोपीको न्यूनतम मूल्य ३५ रुपैयाँदेखि अधिकतम ५२ सय रुपैयाँ समेत पर्छ। त्यो पनि थोक मूल्यमा। खुद्रा मूल्यमा किन्दा ५५ सय रुपैयाँसम्म पर्ने उनले बताए।

'तिहारको बेला ५ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका टोपी अधिक बिक्री हुन्छन्। धनाढ्यले त ५ हजार रुपैयाँभन्दा बढी मूल्यको एउटै टोपी किन्छन्,' उनले भने, 'तर सधैं महँगो टोपी बिक्री हुँदैन।'

ढाकाटोपी लगाउन सौखिन व्यक्तिले मूल्यसँग तुलना नगर्ने उनको अनुभव छ। 'कतिपय मान्छे ढाकाटोपीको ज्यादै नै सौखिन हुन्छन्। उनीहरु मूल्यभन्दा पनि गुणस्तरमा ध्यान दिन्छन्। शीरमा लगाउने टोपीमा गुणस्तर हुनुपर्छ भन्ने हुन्छन्,' पालिखेले भने।

व्यवसायीका अनुसार तिहारबाहेक मंसिर, माघ, फागुन, वैशाख, जेठ, असारमा पनि ढाकाटोपीको बिक्री बढ्छ। विवाहको मौसममा एकै परिवारले २–३ सय वटासम्म टोपी किन्छन्। तर, विवाहमा बिक्री हुने टोपी तिहारको भन्दा केही सस्तो हुने व्यवसायीको भनाइ छ। 'अरुलाई बाँड्ने भएकाले केही सस्तो मूल्यका टोपी विवाहको सिजनमा बिक्री हुन्छन्,' पालिखेले भने।

व्यवसायीका अनुसार पोखरामा पाल्पा, धरान, तेह्रथुम लगायत ठाउँबाट ढाकाटोपी भित्रिन्छ। केही व्यावसायीले ढाकाको कपडा ल्याएर टोपी बनाउँछन् भने केहीले टोपी नै किनेर ल्याएर बेच्छन्। पोखरा ढाकाटोपी पसलकी सञ्चालक कोकिला जोशीले पूर्वेली ढाकाटोपीले अहिले महत्व पाउँदै गएको बताइन्। 'पाल्पाली ढाकाको चोली, दौरा सुरुवाल सिलाउने बढी हुन्छन्। तर, टोपी पूर्वकै खोज्ने बढी हुन्छन्,' उनले भनिन्, 'तिहारमा ढाकाले राम्रै बजार लिएको हुन्छ।'

उनका अनुसार विदेशमा रहेका आफन्तलाई कोसेलीको रुपमा समेत ढाकाको टोपी पठाउने चलन छ। त्यस्तै विदेशी पाहुनालाई पनि ढाकाटोपी दिन थालिएको छ। 'ढाकाटोपीको महत्वलाई अझ व्यापक बनाउन जरुरी छ। केही वर्षअघिसम्म ढाकाटोपीको महत्व निकै कम भएको थियो। तर, अहिले बढ्न थालेको छ,' उनले भनिन्।

अर्का व्यवसायी सूर्यराम भूर्तेल पनि ढाकाटोपीको व्यापार निकै बढेको बताउँछन्। 'मध्यम मूल्यका टोपी यो बेला बढी बिक्री हुन्छ,' उनले भने, 'दसैंपछि तिहारसम्मको ढाकाटोपीको बिक्री बढ्छ। अरुबेला विवाहका लागि मात्र हुने हो। यो बेला तिहारका लागि बिक्री हुन्छ।'

प्रकाशित: १२ कार्तिक २०७३ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App