१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजदूत सिफारिस परराष्ट्रमन्त्रीको प्रतिबद्धताविपरीत

काठमाडौ - सरकारले कूटनीतिक क्षेत्रमा अनुभव प्राप्तहरूलाई राजदूतको जिम्मा दिने बताए पनि हालै चार देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरू भने कूटनीतिक क्षेत्रको अनुभवभन्दा पनि राजनीतिक पहुँचका आधारमा सिफारिस गरिएको पाइएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूले जिम्मेवारी सम्हालेलगत्तै राजदूतमा सिफारिसका लागि कूटनीतिक क्षेत्रको अनुभव हुनैपर्ने व्यवस्था गर्ने बताएका थिए। तदनुसार राजदूत नियुक्तिका लागि मापदण्ड पनि बनाए। तर राजदूत सिफारिसमा भने परराष्ट्रमन्त्रीकै प्रतिबद्धता लत्याइएको छ। सिफारिसमा परेका राजदूतहरू आ–आफ्नो क्षेत्रमा अनुभव र पृष्ठभूमि भए पनि उनीहरू कूटनीतिक क्षेत्रमा भने कम सुनिएका नाम हुुन्।

अस्टे«लियाका लागि सिफारिस राजदूत महेशप्रसाद दाहाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समय नेपाली कांगे्रसको राजनीतिमा सक्रिय उनी गत असोजमा मात्र नेकपामा प्रवेश गरेका हुन्। उनको राजदूत बन्ने मुख्य योग्यता नेकपाका अध्यक्ष दाहालनिकट हुनु हो। दाहालनिकट भएकैले उनले नेकपामा प्रवेश गरेको छोटै समयमा महŒवपूर्ण जिम्मेवारी पाएका हुन्। राजनीतिमा क्षमताभन्दा पनि नातावाद र कृपावाद हाबी हुँदै गइरहेको आरोप लागिरहेका बेला दाहालले आफ्नो निर्वाचन क्षेत्रका आफूनिकट महेशलाई राजदूत नियुक्त गरेका हुन्।

धुम्बाराहीस्थिन नेकपाको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महेशले त्यतिबेला आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितमा नेकपा प्रवेश गरेको बताएका थिए। सोही कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले महेशको क्षमतालाई मुलुकको समृद्धिका लागि सदुपयोग गर्ने बताएका थिए। उनले गणतन्त्र संस्थागत गर्न महेशको बहुआयामित व्यक्तित्वले सघाउने उल्लेख गरेका थिए। नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका महेश सुशील कोइराला नेतृत्वको सरकारका बेला तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालका तर्फबाट नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए। उनी नेकपामा प्रवेश गरेपछि अस्ट्रेलियाको राजदूत प्राप्त गर्ने भाग्यमानी बनेका छन्। दाहाललाई कांग्रेसको कार्यकर्ता भएर पनि निर्वाचनका बेला नेकपा अध्यक्ष दाहाललाई सघाएको बक्सिसस्वरूप राजदूतको पदले सम्मान गरिएको हो।

तत्कालीन एमाओवादी सिफारिसमा राजदूत नियुक्त लक्की शेर्पामाथि मानव ओसारपसारको आराप लागेर फिर्ता बोलाइएपछि अस्ट्रेलियामा राजदूत पद रिक्त रहेको थियो। स्पेनका लागि सिफारिस दावाफुटी शेर्पा चर्चित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका दाजु लाक्पा सोनम शेर्पा तथा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्। प्रधानमन्त्री ओलीको कोटाबाट राजदूत राजदूतमा सिफारिस उनी चारजना राजदूतमध्ये सबैभन्दा कान्छी हुन्। अमेरिकाबाट अध्ययन गरेकी उनी काका आङछिरिङसँग प्रधानमन्त्रीको सम्बन्धकै कारण राजदूतको कोटामा पर्न सफल भएकी हुन्। पर्यटन व्यवसायी आङछिरिङको केही समयअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। उनले केही समयअघि मात्र आमाका नाममा स्थापित पासाङ ल्हामु पर्वतआरोहण प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिस वंशीधर मिश्र पूर्वराज्यमन्त्रीसमेत हुन्। उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। नेकपामा माधवकुमार नेपालनजिक मानिने उनलाई नेता नेपालकै सिफारिसमा राजदूतमा नियुक्त गरिएको मन्त्रिपरिषद् स्रोत बताउँछ। हाल बंगलादेशका लागि नेपाली राजदूतमा रहेका डा. चोपलाल भुसाललाई फिर्ता बोलाएको सरकारले उनको सट्टामा मिश्रलाई राजदूतका रूपमा पठाउन लागेको हो। भुसाल नेपाली कांग्रेसको कोटामा राजदूत नियुक्त भएका थिए।

त्यस्तै कतारका लागि सिफारिस राजदूत नारद भारद्वाजको विगत झापा आन्दोलनसँग जोडिएको छ। उनी प्रधानमन्त्री ओलीसँगै एक दशकभन्दा बढी जेल जीवन बिताएका थिए। उनी एक वर्षअघि मात्र त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकबाट अवकाश प्राप्त भएका थिए। उनी पत्रकारिता क्षेत्रसँग पनि जोडिएका छन्। जेलमा रहेका बेला भारद्वाजले अंग्रेजी शब्दकोश कण्ठ पारेको भन्ने चर्चा पनि उनीनिकट मित्रहरूबीच हुने गर्छ। विगतदेखि नै कम्युनिस्ट विचारप्रति आस्था राख्ने उनी प्रधानमन्त्री ओलीकै रिफारिसमा परेका हुन्।

प्रकाशित: २७ जेष्ठ २०७६ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App