१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिँजा बहुमुखी क्याम्पस : भर्ना लिइन्छ, पढाइ हुन्न

जुम्ला - दुर्गम क्षेत्रका विद्यार्थीलाई ध्यानमा राखी सिँजा गाउँपालिका–१ स्थित सिँजा बहुमखी क्याम्पसको स्थापना भएको दशक बित्यो। तर सो क्याम्पस निकै जीर्ण बनेको छ।स्थानीय विष्णु आचार्य क्याम्पस आएको अनुभूति नभएको बताउँछन्। उनले भने, ‘क्याम्पस कसरी चलिरहेको छ रु कसले चलाएको छ रु भन्ने विषयमा समेत जानकार छैनौं। अहिलेसम्म क्याम्पसमा विद्यार्थी देखेका छैनौं। प्राध्यापक नियमित बसेको सुनेका छैनौं। क्याम्पसमा भर्ना लिइन्छ, अध्यापन गरिँदैन।’

भौतिक संरचना जीर्ण भएको उनले बताए। ‘विद्यार्थी क्याम्पस पढ्न आउँदैनन्,’ उनले भने, ‘नाम सिँजा क्याम्पस भए पनि व्यवस्थापन एउटा बालविकास केन्द्रभन्दा तल्लो स्तरको छ।’ उनका अनुसार स्थापना कालदेखि झण्डासमेत फेरिएको छैन। क्याम्पस व्यवस्थापन समितिका सदस्यसमेत रहेका आचार्यले भने, ‘पटकपटक बैठकमा गइन्छ। क्याम्पसभित्रका समस्याबारे छलफल चलाइन्छ। तर सुनुवाइ हँुदैन। बैठकका एजेन्डा फेरिन्छन्, क्याम्पसको चेहरा फेरिँदैन।’

क्याम्पसमा शौचालय र खानेपानीको चरम समस्या छ। सिँजा बहुमुखी क्याम्पसका अध्यक्ष रणबहादुर रोकाया भन्छन्, ‘विकास बजेटले क्याम्पस धानेको छ। गाउँपालिकाले विकास बजेट विनियोजन गर्ने र विकासे काम गरेर बचेको रकमले प्राध्यापक पाल्नेदेखि क्याम्पस व्यवस्थापनमा खर्च हुने गरेको छ।’ उनका अनुसार पहिले गाविस र जिविसले क्याम्पस चलेको उनले जानकारी दिए। ‘अहिले गाउँपालिकाले सहयोग गरेको छ। बिबिएस र बिएड पढाउन स्थापित क्याम्पसको तथ्यांक हेर्दा २ सय जना भर्ना भएको देखिन्छ। यो वर्षसम्म आउँदा २ ब्याज निस्किसकेको छ।’ क्याम्पसमा दरबन्दीसमेत नरहेको, परीक्षा शुल्क ६ सय ३० रुपैयाँ तथा भर्ना शुल्क दुई सय रुपैयाँ मात्र लिने र निःशुल्क पढाउने गरेको रोकाया बताउँछन्। उनले भने, ‘एकजना प्राध्यापकलाई २५ हजार रुपैयाँ दिने गरी ६ जना प्राध्यापक राखिएको छ। मासिक १ लाख ५० हजार रुपैयाँ खर्च देखिन्छ। ६ जना अन्य कर्मचारी छन्। कर्मचारी र प्राध्यापकको तलब जुटाउन नसकिने अवस्था सिर्जना भएको छ।’

स्थापना गर्दा विश्वविद्यालय अनुदान आयोगले ४ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो। एउटा भवन बनाइदिएको थियो। त्यसपछि दाता भेटिएको छैन। गत वर्ष सिँजा गाउँपालिकाले २९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। मध्यपश्चिम विश्वविद्यालयले दरबन्दी माग गरेको छ। सबैको ध्यान क्याम्पसतिरै हुने गरेको छ। तर क्याम्पसको हविगत हेर्दा निकै लाजमर्दो भएको स्थानीय बताउँछन्। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रोकाया क्याम्पस चलाउन व्यक्तिगत रकम खर्च गर्नुपरेको गुनासो गर्छन्। उनका अनुसार क्याम्पस राम्रोसित चले झन्डै १० लाख रुपैयाँ क्याम्पसबाट उल्टो लिनुपर्नेछ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App