१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लेकमा थलिँदै यार्सायात्रु

राइढुंगी लेकमा यार्सागुम्बा टिप्न गएकी कल्पना बोहोरा बिरामी अवस्थामा। उनलाई बोकेर घर फर्काउने क्रममा बाटोमा नाडी हेराउँदै आफन्त। तस्बिर जगत/नागरिक

बझाङ - यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा टिप्न साइपाल गाउँपालिकामा पर्ने राइढुंगी लेक पुगेकी छिन्। उनी राईढुंगी लेक पुगेको दस दिन भयो। दोस्रोपटक आमा बन्न लागेकी उनलाई लेकमा पेट दुख्ने बिमार लागेको छ। उनी छिनछिनमा बेहोस हुन्छिन्। उनको पहिलो शिशु सात दिन नहुँदै खेर गएको थियो। लेक पुगेकी उनलाई आफ्नो भन्दा पनि गर्भको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

साइपाल गाउँपालिका–३ काँडा घर भएकी उनी यार्सागुम्बा संकलन गर्न उनीमात्रै लेकमा गएकी होइनन्। उनीसँगै परिवारका ६ जना लेक गएका थिए। तर कल्पनालाई पेट दुख्ने बिमारले च्यापेपछि परिवारका सदस्य उनलाई लिएर घर फर्केका छन्। ‘बुहारीलाई पेट दुख्न थाल्यो। लेकमा नत झारफुक गर्ने वैद्य छन् न त धामीझाँक्री नै। देवताको भाकल गरे पनि खासै फरक भएन। केही सीप नलागेपछि यार्सागुम्बा टिप्न छाडेर बिरामी बुहरीलाई बोकेर घर ल्याउनु प¥यो,’ ससुरा जसवीरे बोहराले भने। ससुरा बोहोराले थपे, ‘हाम्रो कमाइ हुने भनेकै वर्षमा दुई महिना हो। यो समय (यार्सा टिप्ने) गएपछि हामीले के खाने भन्ने समस्या हुन्छ। गरिबलाई देवताले पनि धोका दिने रहेछन्। लेकमा अब गाउँपालिकाले धामी र डाक्टरलाई पनि पठाउनुपर्छ।’

बझाङका विभिन्न लेकमा यार्सागुम्बा खोज्न गएका १३ जना बिरामी भएपछि बोकेर घर लगिएको छ। झाडापखाला, आउँ, पेट दुख्ने ,ज्वरो, काम्ने, लेक लाग्नेजस्ता समस्या यार्सायात्रुमा देखिएको छ।

लेकमा खाने र बस्ने राम्रो व्यवस्था हँुदैन। खानेपानी पनि शुद्ध हुन्न। जथाभाबी दिसापिसाव गर्दा फोहोर हुन्छ। चिसो पनि बढी नै छ। ‘चिसो र दुषित पानीका कारण यार्सागुम्बा टिप्न गएका मानिस पेट दुख्ने, आउँ पर्ने, झाडापखालाजस्ता रोगले थलिएका छन्। यार्सा टिप्न गएका मंगल बोहोराले भने, ‘औषधि केही पाइँदैन। सबैजना भगवान् भरोसामा छन्। न त गाउँपालिकाले लेकमा बिरामीको उपचारका लागि पहल गरेको छ न स्वास्थ्यका कर्मचारी नै छन्। अहिलेसम्म लेकमा बिरामी परेका १३ जनालाई बोकेर घर लगिएको छ।’ काँडा स्वास्थ्यचौकीका इन्चार्ज डम्बर खड्काले स्वास्थ्यकर्मीले चौकीमा बसेर बिरामीको सेवा गरेको तर यार्स टिप्न गएका को–को, कुन–कुन लेकमा बिरामी भए भन्नेबारे थाहा नभएको बताए। उनले भने, ‘गाउँपालिका र स्वास्थ्य कार्यालयले जनशक्ति, औषधि र सुविधा दिए हामी भनेको ठाउँमा जान सक्छौं।’

साइपाल गाउँपालिकाका २५ भन्दा बढी लेकमा यार्सागुम्बा पाइन्छ। ती सबै लेकमा अहिले १० हजारभन्दा बढी मानिस यार्सा टिप्न पुगेको जानकारीमा आएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए। लेकमा बिरामी परेकाको उपचार र उद्धा गर्न गाउँपालिकाले पहल थालेको जानकारी पनि उनले दिए। उनले भने, ‘लेकमा उपचारको व्यवस्था मिलाउँछौं। अहिले लेकमा यार्सा टिप्न गएका केही मानिसमा झाडापखाला, आउँ, पेट दुख्ने ,ज्वरो, काम्ने, लेक लाग्नेजस्ता बिमार देखिएको खबर छ।’ लेकमा चिसो र प्रदुषित पानीका कारण यार्सायात्रु बिरामी परेको जानकारी प्राप्त भएको उनले बताए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App