१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेसनेवल अन्डर वेयर

ज्योति श्रेष्ठ
गर्मीको मौसम छ। गर्मी बढेसँगै फेसनेवल कपडा बजारमा देखिन्छन्। फेसनमा महिलाको रुचि बढी हुने गरेको छ। अहिले बजारमा फेसनेवल अन्डर वेयर पनि देखिन थालेका छन्। यसमा महिलाको आकर्षण बढ्दै गएको छ। पुरुषको तुलनामा महिलाका अन्डर वेयर बढी फेसनेवल हुन्छन्। त्यसैले बजारमा नयाँ डिजाइनका अन्डर वेयर देख्नेबित्तिकै उनीहरू किन्ने गर्छन्।

केही समय अघिसम्म बजारमा जस्तो अन्डरवेयर देख्यो, त्यहीँ किन्ने बानी थियो। तर, अहिले समय प्रविधिको विकास भएसँगै, इन्टरनेटमा नयाँ डिजाइनका आकर्षक अन्डरवेयरका विज्ञापन आउन थालेको छ। इन्टरनेटको पहुँच भएकाले आफ्नो रोजाइका अन्डर वेयरका अनलाइनमार्फत् किन्ने अभ्यास पनि थालिएको छ। कुनै बेला अन्डर वेयर किन्नु लाजको विषय बन्ने गरेको थियो भने अहिले महिला निर्धक्क किन्न र आफ्नो रोजाइका बारेमा भन्न सक्ने भएका छन्।

महिनावारीको समयमा सामान्य पेन्टीले अरु कपडामा पनि रगत लाग्ने समस्याले गर्दा अहिले महिलालाई सहजताका लागि पिरियड पेन्टी पनि बजारमा आएको छ। यस्तो खालको अन्डर वेयर बजारमा आएको धेरै समय भएको छैन। पहिला सामान्य अन्डर वेयर लगाउँदै आएकी काठमाडौँ असन बस्ने अस्मिता भण्डारी, अहिले पिरियड पेन्टी लगाएपछि आफूलाई सहज भएको बताउँछिन्। उनी भन्छिन्, ‘पिरियड भएको बेलामा पहिला अरु कपडामा पनि रगत लाग्ला कि भन्ने डर हुन्थ्यो। तर, अहिले यो लगाएपछि त्यो डर पनि हराएको छ। धेरै सजिलो भएको छ।’

सामान्य अन्डर वेयर लगाउँदा कपडामा ट्रान्सप्यारेन्ट हुँदा महिलाले असहज महसुस गर्छन्। यो समस्यालाई पार गर्न विभिन्न वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्थ्यो। तर, अहिले बजारमा स्लिपलेस अन्डर वेयर आएको छ। स्लिपलेस अन्डर वेयरले बाहिरी कपडामा ट्रान्सप्यारेन्ट गर्दैन। ‘अरु अन्डर वेयर लगाउँदा बाहिरी कपडामा पनि देखिने हुँदा आफूलाई मन लागेको कपडा पनि लगाउन पाइँदैनथ्यो। तर, अहिले स्लिपलेस अन्डर वेयर लगाउन थालेपछि जस्तोसुकै पातलो कपडा लगाउँदा पनि अप्ठ्यारो हुँदैन,’ चाँदनी थापा भन्छिन्।

चाबहिलकी स्वस्तिका खनाललाई अरुभन्दा बक्सर अन्डर वेयर नै सजिलो लाग्छ। ‘बजारमा यो ब्राण्डको अन्डर वेयर आएदेखि नै प्रयोग गरेको छु, एकदम कम्र्फटेबल हुन्छ,’ उनले भनिन्। अनामनगरकी अमृता बिक अचेल अन्डर वेयर किन्ने बेलामा धेरै होसियार हुने गरेको बताउँछिन्। बजारमा आएका सामान्य खालका अन्डर वेयर प्रयोग गर्दा यौनी चिलाउने समस्या देखिएपछि डाक्टरको सल्लाहपछि उनले अहिले कटनको अन्डर वेयर लगाउने गर्छिन्। अहिले उनी त्यो समस्याबाट मुक्त छिन्।
अहिले बजारमा धेरै थरीका फेसनेवल अन्डर वेयर देखिन्छन्। फेसनेवल अन्डर वेयरमा प्रायः युवतीको बढी आकर्षण हुने गर्छ। चार वर्षदेखि अन्डर वेयरको पसल सञ्चालन गर्दै आएकी सम्झना श्रेष्ठ भन्छिन्, ‘बजारमा जे निस्कियो त्यहीँ फेसन बन्छ। टिन एजरहरूलाई बढी फेसन मनपर्छ। यहाँ नयाँ आएका पेन्टी पनि विशेष गरेर टिन एजरहरू नै किन्न आउने गर्छन्। बजारमा देखिएका पहिला र अहिलेका अन्डर वेयरमा त्यति फरक छैन। अहिले पिरियड, स्लिपलेस र नेट पेन्टी चल्तीमा छन्। ग्राहकको रुचिमा पर्ने भनेको चाहीँ पिरियड र कटन पेन्टी हुन्।

भक्तपुरकी अनिता प्रजापतिले सञ्चालन गर्दै फेसन प्लानेटमा पनि महिलाका अन्डर वेयर  राखिएका छन्। अहिले गर्मीको समय भएकाले उनले बेच्न राखेका अन्डर वेयरमध्ये सुती, कटन र स्ल्पिलेस अन्डर वेयर नै बढी बिक्री हुने गरेको प्रजापति बताउँछिन्। सबै फेसनेवल अन्डर वेयर स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन। हाम्रो ध्यान बजारमा कस्तो डिजाइनका अन्डर वेयर आएका छन् ? त्यसको मूल्य कति पर्छ ? भन्नेमा मात्र जान्छ। हामीले प्रयोग गर्ने अन्डर वेयर स्वास्थ्यको लागि कतिको फाइदाजनक भन्ने कुरामा हामी चासो राख्दैनौँ।

महिलाका अन्डर वेयरमा नेट, स्लिपरी र स्ल्पिलेस बढी फेसनमा आएका छन्। तर, स्वास्थ्यको हिसाबले यी लुगा राम्रो नहुुने परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पातलका प्रमुख डा.जागेश्वर गौतम बताउँछन्। ‘बजारमा आएका फेसनेवल अन्डर वेयर प्रयोग गर्दा निकै ध्यान दिनुपर्छ,’ उनले भने, ‘विशेष गरेर गर्मीमा महिलाले स्ल्पिरी र नेट खालका अन्डर प्रयोग गर्दा पसिना बढी आउने, घस्रनले शरीरमा तातोपन उत्पन्न भई स्वास्थ्यमा समस्या देखिन्छ। यौनी चिलाउने, एलर्जी र इन्फेक्सन हुने सम्भावना बढी हुन्छ।’ स्वास्थ्यको लागि सूती र कटन कपडाका अन्डर वेयर प्रयोग गर्दा राम्रो हुने डा.गौतमले बताए।

प्रत्येक दिन अन्डर वेयर फेर्ने बानी कमैको मात्र होला। गर्मीको समयमा हाम्रो शरीरबाट धेरै पसिना बग्छ। गर्मीमा पसिना र पानीले भिज्दा पनि हाम्रो अन्डर वेयर चिसो हुन सक्छ। चिसो र भिजेको अन्डर वेयर धेरै लामो समयसम्म लगाउँदा त्यसले शरीरमा किटाणु संक्रमण गराउन सक्छ। त्यसकारण पनि चिकित्सक प्रत्येक दिन अन्डर वेयर फेर्न सुझाउँछन््। चिकित्सकका अनुसार अझ बेलुका सुत्ने बेलामा अन्डर वेयर प्रयोग नगर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। प्रत्येक दिन स्नान गरेर मात्र सफा अन्डर वेयर प्रयोग गर्न चिकित्सकको सल्लाह छ।

पसिना र पानीले भिजेको अन्डर वेयर लामो समयसम्म प्रयोग गर्दा महिलाको स्वास्थ्यमा बढी समस्या हुने डा. गौतम बताउँछन्। उनका अनुसार लामो समयसम्म एउटै अन्डर वेयर प्रयोग गर्दा महिलालाई कास लाग्ने समस्या बढी हुन्छ। थापाथली प्रसूति गृहमा पनि विशेष गरेर यौनी चिलाउने, एलर्जी र इन्फेक्सनका समस्या लिएर धेरै बिरामी आउने गरेका छन्। यो कुरा अहिले सामान्य मानिए पनि पछि यहीँ समस्या ठूलो हुन सक्छ। अन्डर वेयर प्रयोग गर्नुभन्दा अगाडि आफूले कस्तो खालको प्रयोग गर्दैछु ? स्वास्थ्यको लागि ठिक छ कि छैन भन्ने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App