१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बौद्धिक चोरी गर्नेलाई कारबाही भएन

काठमाडौं - त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानकी पूर्वडिन चिरिक शोभा ताम्राकार विश्वविद्यालयका एक पदाधिकारीले बौद्धिक चोरी गरेको प्रमाण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरे पनि कुनै कारबाही नभएको देख्दा अचम्भित छिन्। यसरी दोषीहरूलाई कारबाही नहुनाले त्रिविमा भ्रष्टाचारको बेथिति मौलाएको उनको अनुभव छ।

त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राडा केदारनाथ घिमिरेले ६ वर्षअघि प्रकाशित भारतीय लेखकहरू जेएन गुर्तु र आर कपुरको ‘एडभान्स फिजिकल केमेस्ट्री’ र जे यादवको ‘एक्पेरिमेन्टल फिजिकल केमेस्ट्री’ किताबबाट हुबहु सारेर आफ्नो नाममा प्रकाशित गराएको तथ्य फेला परेको पूर्वडिन ताम्राकारले बताइन्। यति मात्र होइन प्राडा घिमिरेलाई विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको अनुदानमा आधारित अनुसन्धानमा समेत उनले आफैंले नास्टमा केही वर्षअघि प्रस्तुत गरेको अनुसन्धान नै पेस गरेको उनले बताइन््। जसका कारण विश्वविद्यालय अनुदान आयोगले समेत उनलाई कालोसूचीमा राखेको छ।

‘म विज्ञान तथा प्रविधि संस्थानको डिन भएका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राडा केदारनाथ घिमिरेको अनुसन्धान पेपरबारे छानबिन गर्न माग आएकोले प्राडा राजाराम प्रधानांगको संयोजकत्वमा समिति गठन गरी छानबिन गराएकी थिएँ,’ पूर्वडिन ताम्राकारले नागरिकसँग भनिन्, ‘छानबिन समितिले प्राडा घिमिरेले प्रकाशित गरेको युनिभर्सिटी एक्सपेरिमेन्टल फिजिकल केमेस्ट्री किताब जेएन गुर्तु र आर कपुरको ‘एडभान्स फिजिकल केमेस्ट्री’ र जे यादवको ‘एक्पेरिमेन्टल फिजिकल केमेस्ट्री’ किताबको बाहिरको कभरमात्र परिवर्तन गरी बाँकी हुबहु सारेको प्रमाण फेला परेको थियो।’

छानबिनमा केदारनाथ घिमिरे सरले प्रकाशित गरेको युनिभर्सिटी एक्सपेरिमेन्टल फिजिकल केमेस्ट्री किताबमा भारतीय लेखकको पाँच च्याप्टर हुबहु सारेको फेला परेको थियो: छानबिन समिति सदस्य

‘डिन कार्यालयले छानबिन समितिबाट बौद्धिक चोरी भएको प्रमाणसहितको प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको ६ वर्ष भयो,’ उनले भनिन्, ‘तर अख्तियारबाट कुनै कारबाही भएको छैन। अझ अनुदान आयोगले समेत कालोसूचीमा राखेका घिमिरे प्राध्यापकमा बढुवा भएको देख्दा आश्चर्य लागेको छ।’

विश्वविद्यालयमा यस्तै गलत काम गर्नेलाई पुरस्कार दिने विकृति भएका कारण पदाधिकारीहरूबाट खुलेआम अनियमितता र भ्रष्टाचार हुनेगरेको उनको अनुभव छ। यसले विश्वविद्यालयको गरिमा घटाउँदै लगेको उनले औंल्याइन्। जतिखेर घिमिरेमाथि बौद्धिक चोरीको आरोप लागेको थियो, त्यतिखेर उनी रसायनशास्त्र विभागको विषय समितिका अध्यक्ष थिए भने पछि उनी त्रिवि सेवा आयोगको सदस्यसचिवसमेत भए।

घिमिरेले विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको १० लाख रुपैयाँको इन्स्टिच्युसनल ग्रान्टमा समेत बौद्धिक चोरी गरेर अनुसन्धान पेपर बुझाएकाले घिमिरे कालोसूचीमा परेका छन्। आयोगले उनीसहित चार प्राध्यापकलाई अझै कालोसूचीमा राखेको छ। प्राडा केदारनाथ घिमिरे त्यतिखेर रसायनशास्त्र विभाग प्रमुख थिए। आयोगले कालोसूचीमा राखेको प्राध्यापकहरूमा त्रिवि रसायनशास्त्र विभागका प्राडा केदारनाथ घिमिरे, देवबहादुर खड्का, मेघराज पोखरेल तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक धनपति सुवेदी छन्। चारैजना सहभागी भएको आयोगमा प्रस्तुत गरिएको अनुसन्धान पेपर केमिकल मोडिफिकेसन अफ नेचुरल पोलिमर एन्ड देयर एप्लिकेसन इन वेस्ट ड्रिंकिङ वाटर पहिले नै नास्टमा प्रस्तुत गरिसकिएको थियो। मूल्यांकन समितिका संयोजक प्राध्यापक कृष्णबहादुर मानन्धरले उनीहरूको प्रस्तुति पहिले नै नास्टमा प्रस्तुत भइसकेको फेला पारेको थियो।

घिमिरेले नेसनल एकडेमी अफ साइन्स एन्ड टेक्नोलोजीमा पहिले नै प्रस्तुत गरेको अनुसन्धान पेपर आयोगमा प्रस्तुत गरी अर्को बौद्धिक चोरीको प्रमाणित भए पनि उनी अझै त्रिवि रसायनशास्त्र विभागमै अध्यापन गराइरहेका छन्। कुनै कारबाही भएको छैन। ‘विश्वविद्यालयमा प्राध्यापकहरूले बौद्धिक चोरी गर्दै अनुसन्धान पेपर दिएकै भरमा प्राध्यापक हुने विकृति कायम छ। तर सम्बन्धित निकायले कुनै कारबाही समेत गरेको छैन,’ ताम्राकार भन्छिन्, ‘त्यही भएर त्रिविको साख गिर्दै गएको छ। दोषीहरू खुलेआम थप भ्रष्टाचार र अनियमितता गर्दैछन्।’

समिति संयोजक प्रधानांगले छानबिन गर्दा प्राडा घिमिरेले भारतीय लेखकका किताबबाट हुबहु सारेको फेला परेको जनाए। ‘मैले आफैंले नेतृत्व लिएर भारतीय लेखकको किताब अगाडि राखे र प्राडा घिमिरेको किताब पनि सामुन्ने राखेर अध्ययन गरेपछि भारतीय लेखकको किताबबाट पाँच पृष्ठभन्दा बढी लाइन–वाइ–लाइन सारेको फेला परेको थियो,’ प्रधानांगले भने, ‘हामीले सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन डिन कार्यालयमा चिरिक म्यामलाई बुझायौं। कुनै कारबाही भएन। हामीमात्र साथीको सामुन्ने दुस्मनजस्तोे देखियौं।’

विश्वविद्यालयमा गलत काम गर्नेलाई प्रोत्साहन हुने भएकै कारण उपकुलपतिदेखि अन्य पदाधिकारीहरूसमेत बौद्धिक चोरी गर्न पछि पर्दैनन्। त्रिवि सेवा आयोगकै पदाधिकारीहरू समेत ‘छुटको फाइदा उठाउँदै’ सेवा आयोगको परीक्षामा समेत अनियमितता गर्न पल्केको पूर्वडिन ताम्रकारको टिप्पणी छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राडा घिमिरेको फाइल आएपछि अख्तियारले उनलाई तात्कालिक कारबाहीस्वरूप कुनै ठोस जिम्मेवारी नदिन विश्वविद्यालयलाई पत्राचार गरेको छ। बाँकी फाइल अनुसन्धान प्रक्रियामा रहेको छ।

अनुन्धान कार्य भारतीय लेखकसँग हुबहु मिलेकोबारे जिज्ञासा राख्दा प्राडा केदारनाथ घिमिरेले आफूले कसैको ‘कपी’ नगरेको बताए। ‘पहिलो कुरा मैले कसैको कपी गरेको छैन,’ उनले भने, ‘दोस्रो कुरा त्यो कुनै किताब लेखेको होइन प्राक्टिकल कम्पाइलेसन मात्र तयार पारेको हुँ।’ उनले अन्तर्राष्ट्रिय जनरलहरूमा आफ्नो नामका उल्लेख्य संख्यामा अनुसन्धान प्रतिवेदनहरू प्रकाशित रहेकोे दाबी पनि गरे।

प्रकाशित: २५ जेष्ठ २०७६ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App