१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकारबाटै संस्थागत भ्रष्टाचार’

दोलखाको चरीकोटमा आयोजित कांग्रेस सभा। तस्बिर: रमेश/नागरिक

दोलखा - नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले नेकपा र उसले सञ्चालन गरेको सरकार स्वयं संलग्न हुँदा मुलुकमा संस्थागत भ्रष्टाचार बढेको आरोप लगाएका छन्। राष्ट्रिय जागरण अभियानअन्तर्गत शुक्रबार दोलखा सदरमुकाम चरीकोटमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरुले एकै स्वरमा जागरण अभियानपछि कांग्रेस अब मुलुकमा चलिरहेको संस्थागत भ्रष्टाचार र त्यसमा रुमल्लिएको वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान लिएर फेरि जनताबीच आउने उद्घोष गरे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अख्तियार, अदालतदेखि सबै क्षेत्रलाई नियन्त्रण गर्न खोजेर राष्ट्रको ढुकुटीमा संस्थागत तरिकाले ब्रह्मलुट मच्चाएको आरोप लगाए। ‘नेकपाको एउटा नेताले बालुवाटारको सरकारी जग्गामा भ्रष्टाचार गर्छ’, बालुवाटारको सरकारी जग्गा हडप प्रकरणप्रति इंगित गर्दै उनले भने, ‘कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो हतारहतारमा सरकारका एउटा मन्त्री ती नेता चोखा छन् भनेर सरकारको तर्फबाट संस्थागत र आधिकारीक धारणा दिन अघि सर्छन्।’ मन्त्री नै ठूलाठूला भ्रष्टाचारमा मुछिँदा अनुसन्धान गर्नुको साटो प्रधानमन्त्री स्वयंले त्यस्ता मन्त्रीको बचाउमा अभिव्यक्ति दिनुले वर्तमान सरकार नै संस्थागत भ्रष्टाचारमा लागिपरेको र सरकारका मानिसहरु काण्डैकाण्डमा मुछिएको पुष्टि हुने पौडेलको भनाइ थियो।

‘यो सरकारको अरु खास उद्देश्य केही देखिँदैन’, उनले भने, ‘अदालत, अख्तियार, प्रेस सबैलाई नियन्त्रणमा राखेर मुलुकमा भ्रष्टाचार मच्चाउने र त्यसैको आडमा अधिनायकवाद लाद्ने देखिन्छ’। उनले भ्रष्टाचार बढ्दा समेत अख्तियार निरीहजस्तै हुन पुगेको आरोप लगाए। ‘हिजो मुलुकमा भ्रष्टाचार रोकथाम गर्नुपर्छ भनेर अख्तियार ऐन पास गर्ने कांग्रेसकै साथीहरुले बरु हत्कडी भोगे’ पौडेलले भने, ‘अहिले मुलुकमा यति ठूल्ठूला काण्ड र भ्रष्टाचार बढ्दा कोही नेता वा मन्त्रीलाई समात्ने हिम्मत अख्तियारसँग छ ?’ उनले सरकारका कामकारबाहीका कारण जनतामा निराशा बढेको बताए। जनताले सरकारको विकल्प खोजिसकेको उनले दाबी गरे।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार कुहिरोमा हराएको कागझैं सिंहदरबारभित्र हराएको बताए। ‘प्रधानमन्त्री बोल्न थाल्नुभयो भने प्रधानमन्त्रीले के सन्देश दिँदैछन् भन्दा पनि आज टुक्कासहित रमाइलो गर्न आउँदैछन् भनेर सुन्न बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘अति भयो, प्रधानमन्त्री पदले बोल्नेभन्दा पनि काम गरेर देखाउने हो।’ शर्माले काम गर्न भन्दा पनि छुच्चा कुरा बोलेर विपक्षीलाई गाली गर्नमै प्रधानमन्त्री रमाइरहेको आरोप लगाए। ‘काम गरेर देखाउनुको साटो कांग्रेसलाई गाली गरेरै समय बिताउनुहुन्छ उहाँ’, उनले भने, ‘कुनै पनि हप्ता छैन होला कांग्रेसलाई गाली नगरी उहाँ बालुवाटारमा निदाएको।’ कम्युनिस्ट पार्टीको सरकारका पालामा मुलुकमा बजार भाउ बढेको, महिला हिंसाका घटना बढेको लगायतका कारण जनतामा निराशा बढेको उनको भनाइ थियो।

केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारका मन्त्री तथा नेताहरुको संलग्नतामा वाइडबडी, एनसेलजस्ता ठूला काण्ड भएको आरोप लगाए। दोलखाका प्रतिनिधिसभा सदस्य जिपछिरिङ लामाले जागरण अभियानले कांग्रेसमा ऊर्जा सञ्चार गरेको बताए।

प्रकाशित: २५ जेष्ठ २०७६ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App