१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

होटलबाट भाग्दा भीरबाट लडेर ज्यान गयो

ओखलढुंगा– होटलबाट राति भागेका दुई मध्ये एक जनाको भीरबाट लडेर ज्यान गएको छ। चम्पादेवी गाउँपालिका–२ पलापुको नवलपुरको एक होटलबाट राति नै भागेका सोही गाउँपालिका–७ का ४६ वर्षीय रुद्रबहादुर थापाको बुधबार राति ओदे खोलाको भीरबाट लडेर ज्यान गएको हो।

उनीसँगै रहेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दिपक बुढाथोकी भने लडेर सामान्य घाइते भएका छन्। थापा खसी व्यापारी हुन। उनीहरु काठमाडौबाट खसी बिक्रि गरेर गाउँ फर्किने क्रममा पलापुको नवलपुरमा बास बसेका थिए। राती सुनकोशी नदी किनारबाट केही मानिसहरु टर्च बालेर आएको देखेपछि आफुहरुसँग रहेको पैसा लुट्न आएका होलान भनेर होटलबाट राति नै भागेको घाइते बुढाथोकीले बताएका छन्।

मृतक थापाका साथमा १ लाख ५० हजार भन्दा बढी नगद थियो। थापा र बुढाथोकी साइनोले मामा भन्जा हुन्। भीरबाट दुवै जना लडेको बताए पनि एउटाको ज्यान जानु र अर्का एक जना सामान्य घाइते मात्र हुनुुका कारण घटना शंकास्पद रहेको स्थानीयले जनाएका छन्।

चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीले घटनाको प्रकृति हेर्दा असामान्य लाग्ने बताएका छन्। ‘घटना सुनियोजित जस्तो देखिन्छ। थप विवरण प्रहरीको अनुसन्धान बाट खुल्ला,’ अध्यक्ष केसीले भने। घटनाको विषयमा अनुसन्धानका लागि थापासँगै रहेका बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले बताए।

प्रकाशित: २४ जेष्ठ २०७६ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App