१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘मलाई कुनै नियुक्ती चाहिँदैन’

काठमाडौं – मुलुक गणतन्त्रमा प्रवेश गरेको झन्डै १२ वर्ष पुगे पनि गायक बद्री पंगेनीले अझैसम्म गणतन्त्र नआएको बताएका छन्। नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही पनि हुन्न’मा नेपाल कन्फ्युज पार्टीका पुष्पकमल गजेरेलका रूपमा कार्यक्रम सञ्चालक बनेका मनोज गजुरेलसँगको अन्तरसंवादमा पंगेनीले आफूहरूका लागि अझै पनि गणतन्त्र नआएको बताएका हुन्।

‘हामीले चाहेको गणतन्त्र समानताको गणतन्त्र हो। जहाँ कोही धनी, गरिब नहुन्। सबै बराबर हुन्छन्। जातीय, वर्गीय, लैंगिक समानता हुन्छ’, पंगेनीले भने, ‘यी सबै समानता प्राप्त गरेको एउटा राज्य, एउटा शासन पद्धति हामीले चाहेको गणतन्त्र हो। त्यो किसिमको गणतन्त्रका लागि हामी अहिले पनि आवाज उठाइरहेका छौं।’

उनले आफ्नो कपालको उदाहरण दिँदै मनोजमार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्य गरेका छन्। ‘मेरो कपाल झांगिएको छ। मौलाएको छ। तर त्यति राम्रो देखिएको छैन। किनकी कपाललाई मैले व्यवस्थापन गर्न सकेको छैन। कहिले कता झर्छ, कहिले कता’, उनले भनेका छन्, ‘तपाईंको पार्टी पनि मेरो कपाल जस्तै भएको छ। तपाईंको पार्टी झाँगिएको त छ। तर व्यवस्थापनको कुरामा तपाईं चुक्नु भएको छ। पार्टीको समस्या हल नगर्दा देशको एउटा गतिमै अवरोध भएको छ।’

बद्रीले आफूले पार्टी भन्दा पनि राष्ट्र र राष्ट्रियता, नेपाली जनताको हकहित र अधिकार तथा जनताको उन्नति र प्रगतिका लागि गीत गाएको दाबी गरे। उनले आफूलाई कुनै नियुक्ति नचाहिएको बताए। ‘मलाई कुनै नियुक्ती चाहिँदैन। मलाई देश बनिदिए पुग्छ। जनताको आकांक्षा पुरा भइदिए पुग्छ’, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका पंगेनीले भनेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७६ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App