राजनीतिमा यत्रो अन्तर !

शुक्रबार, २४ जेठ २०७६, ११ : ०७ नागरिक

भैरव रिसाल

लामो समयसम्म नेपालको राजनीतिले साहु, महाजन चिनेको थिएन, ठूला व्यापारी चिनेको थिएन। उद्योेगपति पनि चिनेको थिएन। ठेकदारहरू चिन्नु त कता हो कता ! विकास निर्माणका काम हुँदैनथे वा अत्यन्त न्यून मात्रामा हुन्थे। तसर्थ नेता वर्ग ठेकेदार वर्गको कब्जामा पर्ने त प्रश्नै हुँदैनथ्यो। ठेकेदारहरूको हलुका छाया पनि पर्दैनथ्यो राजनीतिमा। राणा शासनमा राजनीति राति हिँड्थ्यो, छिप्पिएको साँझमा तथा बिहानै मात्र हिँड्थ्यो। सहर बजारमा च्युरा र सख्खरले बिहान बेलुकीको छाक टाथ्र्यो। राजनीति गाँउमा भए मकै भटमासले पनि अघाउँथ्यो। राजनीतिले जनताका भान्छामा जे पाक्थे, त्यही खान्थ्यो। त्यसमा नेपाली कांग्रेसजस्ता पार्टी सबैका भान्छामा भात खाँदैनथ्यो प्रायः। तर वामपन्थी अर्थात् कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू भात, भान्छा प्रायः बार्दैनथे।

जसको भान्छामा पनि गुन्दु्रक, दाल, भात ढिँडो, रोटी पानरोटी जे पाकेको छ, तिहुनसँग खान्थे। राजनीति– मार्सी चामल या जेठो बूढो चामलकै भातमा तृष्णा राख्दैनथ्यो। राजनीति सजिलो थियो तर काम असजिलो। यातायातका साधन नगन्य थिए। सडकै पनि कति थिए र ! यसकारण जहाँजान परेपनि प्रायः पैदलै। त्यसमा पनि ७सालअघि राजनीति प्रतिबन्धित नै हुँदा खुला हिँड्ने कुरै भएन। ७ सालपछि राजनीतिक पार्टी खुला भए तापनि विभिन्न आकृति र प्रकृतिका सरकार बने। तिनैले राज्य गर्न लागे। डा. के.आई. सिंहको सिंहदरबार कब्जा काण्डको निहुँमा २००८ माघ ९ मा नेपाल कम्युनिस्ट पार्टीउपर बिनाकारण प्रतिबन्ध लगायो, तत्कालीन मात्रिका सरकारले। त्यो प्रतिबन्ध के.आई. सिंह माफी पाई चीनबाट नेपाल फर्किएको निकै पछिमात्र हट्यो।


नेपाली कांग्रेसजस्ता पार्टी सबैका भान्छामा भात खाँदैनथ्यो प्रायः। तर वामपन्थी अर्थात् कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू भात, भान्छा प्रायः बार्दैनथे।

राजनीतिलाई माया गर्थे जनता
त्यति बेला पनि सत्ता निरंकुश, निष्ठुर हुन्थ्यो। परन्तु राजनीतिक पार्टीका उच्च नेता अहिलेजति व्यस्त हुँदैनथे। विभिन्न दर्शन, आ–आफ्ना पार्टीका दर्शन, इतिहास र आलोचना–प्रत्यालोचना पढ्थे मात्र होइन, विश्लेषणात्मक अध्ययन गर्थे। सम्बद्ध विषयका सूत्रसूक्ष्म पाराले मनन गर्थे। सार्वजनिक सभा, समारोहहरूमा आफ्ना पार्टीका पक्ष सरल भाषा शैलीमा सशक्त रूपमा व्याख्या गर्थे। त्यस्ता सभाहरूमा सरलदेखि जटिल एवं गम्भीरसम्म प्रश्न सोध्ने पनि गरिन्थ्यो कहिलेकाहीँ।  त्यस्ता प्रश्न वा जिज्ञासा प्रायः मौखिक हुन्थे। यदाकदा लिखित पनि हुन्थे। प्रश्न वा जिज्ञासा आउँदा नेताहरू प्रसन्न हुन्थे। रिसाउँदैनथे। कुनै नेता हसाउने शैलीमा र कुनै नेता गम्भीर मुद्रामा उत्तर दिन्थे। त्यो कलात्मक हुन्थ्यो। उत्तरप्रश्न कस्तो छ– गम्भीर वा हलुका, त्यसमा भर पथ्र्यो प्रायः। प्रतिबन्धित अवस्थामा भने हार्रहुर्र अवस्थामा सभा गर्नुपर्ने। प्रहरी आएको सुइँको पाउनासाथ भाग्नुपर्ने, लुक्नुपर्ने। भूगोलपार्क, इटुम्बहालजस्ता ठाँउमा र चोकमा सभा गर्दा प्रहरी आयो भने नेता, कार्यकर्ताहरूलाई स्थानीय जनताले आ–आफ्ना घर, कोठामा लुकाउँथे। प्रतिबन्धित अवस्थामा सभा, जुलुस गर्दा प्रहरीले टियर ग्यास हान्यो भने घरघरबाट पानी खन्याएर सहयोग गर्थे।

साथीलाई लुगै दिन्थे
नेताहरू– मध्यम र तल्लो तहका– केन्द्रीय तह, जिल्लातहका कार्यकर्ताहरूलाई माया गर्थे, नजिक हुन्थे। खाए, नखाएको हेर्थे। यो चलन राजनीतिक पार्टीमा मात्र होइन, विद्यार्थी, युवक, महिला, मजदुर, किसान संघ संगठनहरूमा पनि हुन्थ्यो। एउटा उपमा दिऊँ जस्तो लाग्यो। अखिल नेपाल विद्यार्थी फेडरेसनका नेता अरविन्दनाथ रिमाल काठमाडौँ कालिका स्थानका, कविराज नरेन्द्रनाथका छोरा हुन्। उनी फेडरेसनका साथीहरूको स्वास्थ्य कमजोर भयो भने उपचारका लागि सहयोग गर्थे। काठमाडौँ बाहिरबाट यहाँ पढ्न आएका आर्थिक अवस्था कमजोर भएका साथीलाई आफूले लगाएका लुगासमेत दिन्थे उनी। आयुर्वेदका विभिन्न नामका मोती भष्म, मुगा भष्म, लौह भष्मजस्ता मूल्यवान् औषधि बाबुको भण्डारबाट चोरेर भए पनि ल्याई सहयोग गर्ने बानी थियो, अरविन्दजीको। त्यतिबेलाको नेपालमा पैसा महँगो थियो, वस्तु, सामग्रीहरू बरु सस्ता हुन्थे। म सम्झन्छु–२००४ पुसमाएक दिन बेलुकी पैसो नभएर, महाबौद्धनिरको डेरामा भोकै सुतेका छौँ, ललितपुर लुभु लामाटार ठूला घरका साथी नारायणप्रसाद पौडेल र म। हामी त्यहाँ चारजना एउटै कोठामा डेरा गरी बस्थ्यौँ। त्यस दिन हामी दुई जनामात्र थियौँ। अँ ! राजनीतिको प्रसंग आउँदा आङै जिरिङहुन्छ रोमाञ्च र गौरव अनुभव हुन्छ।

प्रशिक्षणः कहाँ, कसलाई, कसले ?
कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो। सो पार्टीका नीति, रणनीति र कार्यक्रमअनुसार पार्टीलाई जनतामा लैजानुपथ्र्यो। रूपचन्द्र विष्ट, पुण्यप्रताप राणा र म काठमाडौँ जिल्लाको काँठ–काँठमा जान्थ्यौँ। गाउँका आफूहरू यदाकदा मात्र काम गर्ने। अघिपछि अरूलाई काम लगाएर गृहस्थ चलाएर बसेकाहरूकहाँ जान्थ्यौँ। उत्तरमा टोखासम्म, यता बालाजु, फुटुङ, उता नैकाप, स्युचाटार, ढुंगेअड्डा, मातातीर्थ, चोभारतिरबाट राजनीतिक प्रशिक्षणका निम्ति मान्छेहरू बोलाउथ्यौँ। कहिले १०÷१२ जनासम्म जम्मा हुन्थे। आउने–जाने हिँडेरै हो। कहिले क्षेत्रपाटी, कहिले किलागल, कहिले भेडासिंह, कहिले जैशीदेवलजस्ता ठाउँका पाटीमा जम्मा पाथ्र्यौँ। कहिलेकाहीँदुईजना मात्र पनि हुन्थे। त्यसरी आउनेहरूलाई पूर्णबहादुर एम.ए., पूर्णबहादुर मानव, सिद्धिचरण श्रेष्ठहरूले कक्षा लिन्थे। के–के सिकाउँथे उनीहरू, के–के सिक्थे गाउँले म बुझ्दिनथेँ। पार्टी कम्युनिस्ट रे, हामीले बोलाउने मान्छेहरू गाउँका प्रायः काम नगर्ने खान, लाउन पुग्नेहरू नै हुन्थे। ज्याला गरेर खानेहरूलाई त्यस्तोमा आउने समय नै नहुने। कसैगरी उनीहरू आइहाले भने पनि पार्टीका कुरा बुझाउनै हम्मे पर्ने। माथि उल्लिखित स्रोत व्यक्तिहरू जनताका ऐया, आत्थु बुझेका तर अरूलाई बुझाउने सीप कम भएका हुन्थे।

१ रुपियाँमा ४ जनाको खाजा
यसका साथै हाम्रो‘टार्गेट एरिया’ बौद्ध, गोकर्ण, जोरपाटी, रामहिटी आदि पनि पर्थे । त्यताका मान्छे काठमाडौँ बोलाउँदैनथ्यौँ। हामी नै गाउँ–गाउँ जान्थ्यौँ र किसान, कृषि, बिर्ता जग्गा, मोही, जग्गाधनी, कूत, तिरो, बाली नगद,जिनिस, सरुवा चामल, फलुवा चामल, देशी मल  कीटनाशक औषधि, भर्पाई, तलसिङ आदिबारे किसानलाई बुझाउन खोज्थ्यौँ। तर दिउँसो गाउँमा किसान भेट्नै मुस्किल ! त्यसरी जानेमा शक्ति लम्साल, अमीरमान, अर्का एकजना– नाम बिर्सेँ अहिले, र म। हामी चारजनालाई १ रुपियाँले खाजा पुग्थ्यो। तर चिया खान भने पुग्दैनथ्यो। चियाको त्यति चल्ती पनि भइसकेको थिएन। शक्ति लम्सालपछि माओवादी भएछन्।

अमीरमान जनपक्षीय वडासदस्यसम्म भए नगर पञ्चायतमा। अर्का नाम बिर्सेका साथी कहाँ–के भए मालुम भएन। म पत्रकारितामै रत्तिएँ। हाम्रा यी काम २००८ देखि २०३२ सालतिरसम्मै रहे। यता रूपचन्द्र विष्ट र म नेपाल कम्युनिस्ट पार्टीका काममा कीर्तिपुरतिर बास बस्दै जान्थ्यौँ। कीर्तिपुर दुई पोखरीतिर को–को हो किसानको घरमा बास बसेको, खाएको, आधारातसम्म ‘क्लास’ लिएको सम्झना छ। किसान बिहानैदेखि खेतबारीमा काम गरेर थकाइले हत्तु भएका हुने। हामी कक्षा लिने ! किसानहरू प्रायः निदाउने। टाँपुमा पानी राखेर आँखा भिजाउन लाउनुपर्ने। गोकर्णतिर जाँदा १ रुपियाँको चिउरा, चना, आलुको तरकारी चारजना हामीले खाजा खाएको, खाजापछि कलकल पानी खाएर टारेका छौँ। हिजैजस्तो लाग्छ, अहिले पनि ती दिन सम्झँदा !








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad