१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङको पूर्वी नाका ठप्प

फोक्सिङटारमा पुल अभावमा हिउँदमा राखिएको अस्थायी बेलिब्रिज। तस्बिर: नागरिक

खोटाङ - सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज झिकिएपछि खोटाङ जोड्ने दुई नाकामध्ये एउटा नाका ठप्प भएको छ। वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेकाले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको बेलिब्रिज निकालिएको र जिल्लाको पूर्वी नाका बन्द भएको हो।

दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज सोमबार निकालिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका डिई पशुपति ज्ञवालीले बताए। पूर्वी प्रवेशद्वारका रूपमा रहेको फोक्सिङटारमा गत मंसिरदेखि सञ्चालनमा आएको बेलिब्रिज जेठ १३ गतेदेखि निकाल्न थालिएको थियो।

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरिएको बेलिब्रिज निकालिएसँगै दिक्तेल–गाईघाटबीचको सीधा यातायात सम्पर्क कम्तीमा ६ महिनाका लागि विच्छेद हुने भएको छ। सो बेलिब्रिज नहुँदा पूर्वी सहर जान–आउन एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ। हाल जिल्लावासीले काठमाडौं, इटहरी, धरानलगायत सहर आउजाउ गर्न जयरामस्थित दूधकोसी पुल प्रयोग गरिरहेका छन्। फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदा विकल्पमा बेलिब्रिज राख्ने गरिएको छ। खोटाङ भित्रिँदा वा बाहिरिँदा फोक्सिङटारमा सुनकोसी र जयराममा दूधकोसी पार गर्नुपर्ने बाध्यता छ।

बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक ८० लाख रुपैयाँको हाराहारीमा राज्यको रकम खर्च हुँदै आएको छ।

बेलिब्रिज हटाइएसँगै जिल्लामा निर्माण सामग्रीको मूल्यमा प्रत्यक्ष असर परेको उद्योग वाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए। ‘पूर्वी सहरबाट भित्रिने सिमेन्ट, रडजस्ता निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्ने बाध्यता सुरु भएको छ,’ महासचिव बजिमयले भने, ‘लामो बाटो घुमाएर ल्याउनुपर्दा कन्स्ट्रक्सनसम्बन्धी सामानको मूल्यमा फेरबदल हुन्छ। आवतजावतका हिसाबले पनि जिल्लावासीलाई असहज भएको छ।’

गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे ३ रुपैयाँदेखि ४ रुपैयाँमा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयराम घाटबाट भिœयाउँदा प्रतिकिलो ५ रुपैयाँदेखि साँढे ५ रुपैयाँमा भित्रिने महासचिव बजिमयको भनाइ छ। फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा चार वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ। खोटाङको खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले समेत सहर जाने र उपभोग्य सामान ल्याउने क्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका छन्। बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक ८० लाख रुपैयाँको हाराहारीमा राज्यको रकम खर्च हुँदै आएको छ।

फोक्सिङटार पुलको काम ३० प्रतिशत मात्र
निर्माण सम्पन्न गर्ने म्याद गुज्रिँदा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको फाउन्डेसन मात्र तयार भएको छ। दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गतको सो पुलको सम्झौता म्याद नाघेको डेढ महिना बितिसकेको छ। तर काम भने करिब ३० प्रतिशत मात्र भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर–१ का आयोजना प्रमुख (डिई) कैलास शाहले बताए। करिब १९ करोड ६० लाख रुपैयाँमा पूरा गर्नेगरी ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको ‘आर्क’ डिजाइनको पुल निर्माणको काममा चरम ढिलासुस्ती देखिएको भन्दै जिल्लावासीले गुनासो गरेका छन्।

२०६९ साल चैत २३ गते ठेक्का लागे पनि २०७३ साल कात्तिकमा डिजाइन परिवर्तन गरी काम थालिएको पुलको २०७५ साल चैतमै म्याद गुज्रिएको हो। सुरुमा २०७३ साल चैत २४ गतेसम्ममा पूरा गर्नेगरी फोक्सिङटारमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि २०६९ साल चैत २३ गते ठेक्का लागेको थियो। तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको डिई शाहले बताए।

पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गृहमन्त्रीसमक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही माग गरेका थिए। सुरुमा ढिलासुस्ती गरेको ठेकेदारले पछिल्लो समय पुलको कामलाई गति दिएको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताए।

अख्तियारको चासो
पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ। ठेक्का लागेको वर्षौंसम्म पुल निर्माणको प्रगति शून्य देखिएपछि अख्तियारले चासो देखाएको हो। ढिलासुस्ती नगर्न र तोकिएको समयमा पुल निर्माण पूरा गर्नेगरी काम अघि बढाउन अख्तियारले २०७४ माघ २ गते नै पत्राचार गरेको जनाएको छ।

ठेक्का लागेको लामो समय बित्दासमेत पुलको काम सन्तोषजनक नभएको भन्दै जिल्लावासीले पटक–पटक विरोधसमेत गर्दै आएका छन्। २०७२ साल माघ २४ गते सडक विभागमा धर्ना दिएका जिल्लावासीले चैत २३ गते घेराउ गरेका थिए। सडक विभाग घेराउका क्रममा सांसद, नेता र जिल्लावासीमाथि प्रहरी हस्तक्षेप भएको थियो। २०७२ चैत २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको र सदरमुकाम दिक्तेलमा विरोध -याली निकालेको थियो।

प्रकाशित: २४ जेष्ठ २०७६ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App