१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दशकपछि आँगनमै चामल

संस्थानको चामल बिक्रि शुरु गर्दै गाउँपालिका अध्यक्ष नरबिर रावत । तस्बिरः डिबी/नागरिक

जुम्ला (सिँजा)– कनकासुन्दरी–५ बडुवालबाडाका परेगराज बडुवाल २०४५ सालमा पहिलो पटक खाद्य संस्थानको चामल लिन खलंगा पुगे। उनले जाँदा एक दिन र आउँदा दुई दिन लगाए। तर उनले ३० केजी चामल मात्रै ल्याउन पाए। तत्कालिन गाविसबाट कुपन लिएर तीन दिन लगाएर संस्थानको चामल ल्याउनु परेको उनी अहिले पनि झलझली सम्झिन्छन्। उनले भने, ‘सडक नपुग्दासम्म सदरमुकाम खलंगा पुगेर भएपनि संस्थानको चामल ल्यायौँ। सडक पुगेपछि संस्थानको चामल कस्तो छ देख्न पनि पाएनौं। संस्थानको चामल बीचमा सर्बसाधारणको पहुँचसम्म पनि पुगेन्।’

झण्डै दशकपछि हिँउचुली सहकारीमार्फत दुर्गम गाउँमा सुपथ मुल्यमा संस्थानले बितरण गर्दै आएको अनुदानको चामल पाउँदा स्थानीय दंग छन्। उनले भने, ‘लामो समयपछि गाउँमै अनुदानको चामल पाउन थालेका छौँ। अब महंगो बजारको चामल किन्न बाध्य हुनेछैनौँ। बल्ल संस्थानको चामल सर्वसाधारणको पहुँचसम्म पुगेको अनुभुति हुन थालेको छ। यो दिगो होस र भरपर्दो पनि।’

खाद्य संस्थान शाखा कार्यालय जुम्लाले गाउँगाउँमा सहकारी मार्फत संस्थानको चामल बेच्न थालेपछि स्थानीय निकै खुसी छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिकामा हिँउचुली सहकारी संस्था लिमिटेडबाट गाउँपालिका अध्यक्ष नरबिर रावतले सुपथ मुल्यमा संस्थानको चामल किनबेच भएको औपचारिक रुपमा घोषणा गरेपछि यहाँका सर्वसाधारणले सहजै रुपमा अनुदानको चामल पाउने भएका हुन। गाउँपालिका अध्यक्ष रावतले पहिले बास बसेर संस्थानको चामल ल्याउनु परेको अनुभव सुनाउँदै अहिले आँगनमै चामल किन्न पाउँदा स्थानीय हर्षित हुने बताए। अब आवश्यकताका आधारमा स्थानीयले चामल लैजान सक्नेछन्। उनले भने, ‘एक साता अघिसम्म संस्थानको चामल सपना थियो। तर हप्ता दिनपछि गाउँमै चामल पुगेको छ। यो चामलको भरपुर सदुपयोग होस, भन्न चाहान्छु।’

हिँउचुली सहकारीका अध्यक्ष हंसराज न्यौपाने संस्थानको चामल सहकारीले भाडा जोडेर बिक्रि गर्ने बताए। उनले भने, ‘गाउँमा चामल कसरी बेच्ने भन्ने बिषयमा संस्थानसँग सहकार्य भइसकेको छ। अब सस्तो चामल किन्न स्थानीयले दुःख भोग्नु पर्दैन्।’ जिल्लाका प्रत्येक स्थानीय तहमा सुपथ मुल्यको संस्थानको चामल सहकारीमार्फत बिक्रि भइरहेको छ। उनले संस्थानको चामलसँगै स्थानीय उत्पादनलाई पनि प्राथमिकताका साथ बिक्रि बितरण गर्ने गरेको बताए। खाद्य संस्थानको चामलले गरिवको उत्थानमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

संस्थानको चामलसँगै दाल, नुन, चिनी पनि सहजै रुपमा उपलव्ध गराइने छ।  गाउँमा अरुवा सोना मन्सुली प्रति बोरा १ हजार ५ सय ८० रुपैयाँ, अरुवा मोटो चामलको प्रति बोरा १ हजार ४ सय ३० रुपैयाँ र जापानिज चामल प्रति बोरा १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। संस्थानको चामल बिक्रि प्रक्रियालाई प्रभावकारी बनाउन कनकासुन्दरी गाउँपालिकाका सबै वडाध्यक्ष र जनप्रतिनिधिले जस्तो सुकै पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App