१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एबिसीमा छापा मारिएको प्रति सर्वत्र निन्दा

पत्रकार अन्निका स्मेथ्रस्ट।

सिड्नी – अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)मा प्रहरीद्वारा छापा मारिएको प्रति प्रसारण संस्थाहरु र अधिकारवादी समूहहरुले निन्दा गरेका छन्। दुईजना संवाददाता र समाचार निर्देशकको नाममा पक्राउ पुर्जी लिएर सिड्नीस्थित एबिसीको मुख्यालयमा प्रहरी अधिकारीहरु पुगेको विषयलाई लिएर विश्वभरबाट निन्दा भएको हो। एबिसीले पनि प्रहरीले आफ्नो मुख्यालयमा छापा मारेकोप्रति विरोध गरेको बिबिसीले उल्लेख गरेको छ।

प्रहरीले मंगलबार न्युज कर्प पत्रकारको घरमा पनि खानतलासी गरेको थियो।अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकको गोप्य जासुसी गर्ने योजना बनाइरहेको बारे ती पत्रकारले समाचार सम्प्रेषण गरेका थिए। न्युज कर्प अस्ट्रेलियाले आफ्ना पत्रकार अन्निका स्मेथ्रस्टको घरमा गएर खानतलासी भएकोप्रति कडा शब्दमा निन्दा गरेको छ। उता, सरकारले भने देशको वर्गीकृत सूचना चुहाएको आरोपमा खानतलासी वारेन्टसहित पत्रकार अन्निकाको निवासमा खानतलासी गरेको जिकिर गरेको छ।

प्रसारण संस्थामा गएर छापा मार्ने कार्य अत्यन्तै समस्यायुक्त भएको बिबिसीले जनाएको छ। पत्रकारको निवास र प्रसारण संस्थामा भएका दुई फरक छापालाई लिएर अस्ट्रेलियाका प्रमुख पत्रकार संघले विरोध जनाएका छन्। उनीहरुले पत्रकारको घर र प्रसारण संस्थामाथि गरिएका त्यस्ता हर्कत अस्ट्रेलियाली स्वतन्त्र प्रेसविरुद्ध रहेको बताएका छन्। पत्रकारसम्बन्धी अन्य संघसंस्था र मानवअधिकारवादी समूहले पनि घटनाको निन्दा गरेका छन्।

‘पत्रकारको घर र प्रसारण संस्थामाथि छापा हानेर प्रहरीले प्रेस स्वतन्त्रतासम्बन्धी वैधानिक प्रावधानमाति नै प्रश्न उठाएको छ,’ एबिसीका प्रबन्ध निर्देशक डेभिड एन्डरसनले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ।‘एबिसी आफ्ना पत्रकारहरुसँगै रहेको छ र स्रोतलाई जोगाउने छ। सरकारले यस्तो रवैया देखाएपनि कुनै डर वा त्रासबिना देशको राष्ट्रिय सुरक्षा र जनताले इच्छा गर्दासम्म गुप्तचरी मुद्दाको पक्षमा एबिसीले निरन्तर समाचार प्रसारण गरिरहने छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरीको खोजी वारेन्टमा आफूसँगै नाम रहेका दुई पत्रकारको एबिसीका समाचार निर्देशक जाभेन मोरिसले पनि प्रतिरक्षा गरेका छन्। युद्धरत अफगानिस्तानमा अस्ट्रेलियाली फौजले गरेको भनिएको आरोपित गलत कार्यबारे प्रकाशित लेखलाई लिएर प्रहरी कारबाही भएको बताइएको छ।

एबिसीका अनुसार बुधबारको छापा सन् २०१७ मा गरिएको अनुसन्धानमुलक सिरिजलाई लिएर भएको हो। सो सिरिजलाई एबिसीले ‘अफगान फाइल्स’ नाम दिएको थियो। सिरिजले अस्ट्रेलियाली विशेष फौजले अफगानिस्तानमा गरेको दुव्र्यवहार र गैरकानुनी हत्याबारेको आरोपलाई उजागर गरेको थियो।

एबिसीले सो सिरिज आफूहरुलाई प्राप्त सयौं पृष्ठ लामो गोप्य सुरक्षा कागजातमा आधारित रहेको बताउँदै आएको छ।
अस्ट्रेलियाली संघीय प्रहरीले पत्रकार र प्रसारण संस्थामाथिको वारेन्ट वर्गीकृत सामग्रीलाई प्रकाशन गरेको आरोपमा भएको बताएको छ। एबिसीले अफगान फाइल्स् सन् २०१७ मा प्रकाशन गरेको थियो।

पत्रकार अन्निका स्मेथ्रसको घरमा गरिएको मंगलबारको छापा भने उनले अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकको गोप्य जासुसी गर्ने योजना बनाइरहेको बारे सन् २०१८ मा गरेको समाचार सम्प्रेषणलाई लिएर भएको बताइएको छ। देशको आधिकारिक वर्गीकृत सूचनालाई प्रकाशन गरेको अभियोगमा दुवै वारेन्ट जारी गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App