१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘आप्पामा १३ टेक खाएँ’

काठमाडौं – निर्देशक तुलसी घिमिरे फिल्म निर्देशनसँगै अभिनयमा पनि अब्बल छन्। उनी आफुलाई ‘वान टेक’ कलाकार माने पनि फिल्म ‘आप्पा’ भने उनका लागि अलिक फरक रह्यो।

राजधानीमा हालै फिल्म ‘आप्पा’को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक घिमिरेले फिल्ममा आफुले लामो टेक खानु परेको सुनाए। ‘म वान टेक आर्टिष्ट हुँ। तर आप्पामा पहिलो सर्ट लिँदा मैले तेह« टेक खाएँ। पहिलो सर्ट निकै लामो भएकाले त्यसको संवाद बोल्दा कहिले लाउड त कहिले सफ्ट हुन्थ्यो’, फिल्मका निर्देशक अनमोल गुरुङतिर हेर्दै तुलसीले भने, ‘अन्य फिल्ममा निर्देशक आफैंले अभिनय गरेर कलाकारलाई सिकाउँथे। तर अनमोल चाहिँ अलिक फरक भेटिए। तिमी के चाहन्छौ अनमोल ? भनी सोध्दा अलिकति मिलाएर गरिदिनु न दाई मात्र भन्थे।’

तुलसीले फिल्ममा अनमोलले क्यामरा र सम्पादनको दुवै काम गरेकाले आफ्नो नजरमा उनी पूर्ण ‘फिल्ममेकर’ सँगै राम्रा निर्देशक रहेको दाबी गरे। ‘उनको अन्डरमा काम गर्दा नै उनी सजिलो निर्देशक होइनन् भन्ने कुरा मैले १३ टेक खाँदा अनुभव गरेको छु’, तुलसी खुले, ‘हामी ‘लार्जर देन लाइफ’ बनाउन अलिकति नाटकीयपन खोज्छौं। तर अनमोलले त्यो काम गर्न दिएका छैनन्। फिल्ममा कलाकार प्रायः लाउड हुन्छन्। त्यसमा पनि अनमोलले कडाई गरेका छन्। फिल्ममा इमोसनल पार्टमा धेरै राम्रो काम गरेका छन्।’

म वान टेक आर्टिष्ट हुँ। तर आप्पामा पहिलो सर्ट लिँदा मैले तेह्र टेक खाएँ।

निर्देशक अनमोलले फिल्ममा दयाहाङ राई र तुलसी घिमिरे नामबाट फाइदा लिनका लागि उनीहरूलाई अभिनय नगराएको स्पष्ट पारे। ‘फिल्मको कथा भन्नलाई उहाँहरू जस्तै सिनियर कलाकारको आवश्यकता थियो। मजस्तो नयाँ अनुहारको प्रस्तावलाई स्वीकारेर काम गर्नु आफुलाई भाग्यमानी ठान्छु’, उनले भने, ‘फिल्मको कथा फिल्ममा आप्पा बनेका दयाहाङ राईमाथि आधारित छ। हामी खाली केटाकेटीको रोमान्सलाई बढी खोज्छौं। फिल्ममा हामीले इरोटिक लभसँगै परिवारमा बाबु र छोराको प्रेमलाई पनि देखाउन खोजेको हो। बाबुछोराको रोमान्सलाई पनि देखाउने प्रयास गरेका छौं।’

फिल्मका नवनायक सिद्धान्तराज तामाङले ट्रेलर हेर्दा आफू भावुक भएको खुलाए। ‘यो फिल्मको कथा मेरो जीवनसँग पनि जोडिएको छ। त्यसकारण मेरा लागि यो फिल्म विशेष छ’, उनले भने।

नवनायिका अल्लोना काबो लेप्चाले फिल्ममा आफु कलेज पढ्ने युवतीको भूमिकामा देखिने बताइन्। आगामी असार १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ। अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी छ। माबो हाङ कार्यकारी निर्माता रहेको फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र सैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ।
क्याप्सन

फिल्म ‘आप्पा’का कलाकार सिद्धान्तराज तामाङ (बायाँ), तुलसी घिमिरे र अल्लोना काबो लेप्चा। तस्बिर सौजन्यः निरज पन्थी

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App