१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शान्ति कहाँ छ ?

एलपि भानु शर्मा
प्राध्यापक पोखरा विश्वविद्यालय, जीवन विकास विशेषज्ञ

पछिल्लो समय भौतिक प्रगति धेरै भएको छ। सामान्यतः यसको आँकलन गर्न धेरै गाह्रो छ। विगत ५० वर्षमा मनुष्यको इतिहासमा जे जति सम्पति जन्मियो, त्यो पाँच हजार वर्षको भन्दा बढी हो। ज्ञानको बारेमा पनि त्यस्तै छ। विगत १० हजार वर्षको ज्ञान ५० वर्षमा जन्मिएको हो। अहिले के आकँलन गरिन्छ भने विगत ५० वर्षमा जन्मिएको ज्ञान  अब एक वर्षमा जन्मनेछ। अत्यन्तै तीव्र गतिमा भौतिक प्रगति भएको छ, सुख–सुविधा बढेको छ, वैज्ञानिक अविष्कार थपिएका छन्। मनुष्यको आवश्यकता पूर्ति एकदमै छिटो भएको छ। यो एकदमै स्वर्णिम युग हो। धेरै ठूलो उपलब्धि हो। यसको संरक्षण गर्नुपर्छ। एकातिर भौतिक सुखसुविधा बढेका छन्। सबै कुरा सहज भएको छ। इन्द्रियहरुका लागि यति धेरै कुरा प्राप्त भएको छ। इन्द्रियका आवश्यकता एकदमै तीव्र गतिमा भएको छ। सन्तुष्टि जन्मियो वा जन्मिएन, त्यो आफ्नो ठाउँमा छ। भौतिक प्रगति व्यापक रुपमा भएको छ। 

हो, भौतिक प्रगति त भएको छ तर मनुष्य खुसी छ? मान्छे आत्मसन्तुष्टिले भरिपूर्ण भएको छ? अब हामी मनोविज्ञानको तथ्याङ्कतर्फ जाऊँ। मनोविज्ञानले भन्छ कि ४ जनामा  १ जना गहन तनावमा छ। हरेक ५ जनामध्ये एक जना डिपे्रसनमा छ। २० प्रतिशत जनसङ्खया यही गतिमा रहने हो भने २० वर्षमा आधा जनसङ्ख्या डिप्रेसनमा जान्छ।  भौतिक सुखसुविधा र आत्मिक सुखसुविधाको तालमेल किन मिलेन? यत्रो अविष्कार गरेकोे मनुष्यले खुशी, शान्ति अविष्कार गर्न किन सकेको छैन?

भौतिक वस्तुले सन्तुष्टि मिल्न पर्र्ने हो शान्त हुनुपर्ने, मान्छेले दुःख अनुभव गर्नुपर्ने जरुरी छैन तर पनि मान्छे किन भित्रबाट सुख अनुभव गर्न सकेको छैन? संसारभरका तथ्याङ्कमा हिजोआज मनुष्यमा नैराश्यता किन मौलाएको छ ? हामीले के ठान्यौँ भने भौतिक सुखसुविधा भयो भने हामीलाई सबै सुख सुविधा हुन्छ। धनसम्पत्ति भएपछि आतंक पनि हुँदैन, युद्ध पनि हुँदैन। यसका लागि धेरै वादहरु जन्मिए। कोही साम्यवाद कोही समाजवादका रुपमा उदाए। कतिपय देशमा वादहरु लागू पनि भए तर शान्ति आएन। शान्ति कहाँ छ त ? धनमा रहेनछ भन्ने निष्कर्षमा मनुष्य पुगिसकेको छ। शान्ति कसरी आउँछ ? मान्छेहरु कसरी सुखी र शान्त हुन्छन् भन्ने कुराको व्यापक खोजी भइरहेको छ।

मन किन अशान्त भयो?
अहिलेको विश्वको अवस्था भनेको सम्पत्ति, ज्ञान तथा  सुविधा सबै कुरा बढेको अवस्था हो। सँगै आवश्यकताको पूर्ति पनि तीव्र गतिमा भयो तर शान्ति, सन्तुष्टि, भावानात्मक सुख बढेन। नबढेको मात्र हैन, घट्यो। पहिले मान्छे जति खुसी हुन्थे, त्यो मात्रा अहिले घटेको छ। आफन्त परिवारसँग जुन हार्दिकता हुन्थ्यो, आज त्यो रहेन। हामीसँग सबै सुविधायुक्त कुराहरु छन् तर आत्मिक सुख रहेन।

पहिलेका परिकल्पनाकारहरुले धनसम्पत्तिबाट सुख शान्ति आउँछ भन्ने थियो, त्यो भ्रम चिरिएको छ। दिनहुँ वितृष्णा बढेको छ। हामीले अपेक्षा गलत ठाउँमा गरेछौँ भन्ने निष्कर्षमा पुग्न ढिला गर्न हुँदैन। अपेक्षा आफैँप्रति गर्ने हो, अरुप्रति हैन।

शान्ति–सुरक्षाको स्रोत मान्छेको आफ्नै मन हो। २५ सय वर्षअघि भगवान् गौतम बुद्धले भनेको कुरा अहिले आएर सही भएको प्रमाणित भएको छ किनभने त्यतिबेला भौतिक सुखसुविधाको चाहनाले व्याकुल थिए मानिसहरु। अहिले परिस्थिति फेरिएको छ।  भौतिक सुखसुविधाले भरिपूर्ण भएका देशले आत्मिक सुखशान्तिको खोजी गरिरहेको छ।

त्यो आत्मिक सुखशान्तिको प्रणेता भगवान् गौतमा बुद्ध हुन्। उनले त्यतिबेला भनेका थिए, ‘तिम्रो दुःख या सुखको कारण तिम्रो मन हो। तिम्रो मन व्यवस्थित छ भने अनगिन्ती सुख दिन्छ, नत्र दुःख दिन्छ।’ 

उनले त्यतिखेर नैे धन, सुविधा, परिवार र अविष्कारले सुखशान्ति आउने हैन, यो त आन्तरिक तŒव हो र यो आफैँबाट प्राप्त गर्न सकिन्छ भनेका हुन्।

यसको अर्थ उनले विकास नगर्ने भनेका हैनन्। उनले सुखशान्तिका लागि मन व्यवस्थित बनाउनु पर्छ भनेका हुन्। उनले हरेक कुरा प्रक्रियाबाट मात्र सम्भव छ भनेका हुन्। त्यो आफैँमा लागु गर्नुपर्छ भन्ने कुरा अघि सारेका हुन्। आज गौतम बुद्ध जति सान्दर्भिक छन्, आफ्नै पालामा पनि उति सान्दर्भिक थिएनन्। मान्छेहरु उनका कुरा पत्याउन सक्ने अवस्थामा थिएनन्। उनले भनेको कुरा प्रमाणित गर्न २५ सय वर्ष लाग्यो। आज हाम्रो चेतना फर्किएर भगवान् गौतम बुद्धकोमा पुगेको छ। वैज्ञानिक, खेलाडी, सेलिब्रेटीहरु ध्यान गर्छन्। आत्मिक सुखका लागि मनलाई व्यवस्थित बनाउन व्यग्र छन्।

विश्वास नगर, प्रयोग गर
गौतम बुद्धको शिक्षामा विश्वास र मान्यता भन्ने कुरा छैन। उनले भने, ‘प्रयोग गर, त्यो प्रयोगबाट सिद्ध भयो भने मान, नत्र पर्दैन।’ पूजा गर, विश्वास गर कसैले भन्छ भने त्यो नितान्त भ्रम हो। उनले त तर्कसंगत र विज्ञानसंगत धर्मको ज्ञान दिएका हुन्। हरेक कुराहरु आफ्नो प्रयासबाट प्रमाणित गर्दै जानुपर्छ। मनुष्यलाई सर्वाधिक स्वतन्त्रता प्रदान गर्ने नाम गौतम बुद्धको शिक्षा हो।

‘आफूमा भरोसा गर आफूबाहेक कसैमा पनि भरोसा नगर। यहाँ सम्म कि ईश्वरमा पनि नगर। न आत्मा छ, न ईश्वर छ। मात्र अनत्ता  छ,’ भनेर बुद्धले भने। शान्ति आफ्नो मन भित्र छ भने तिमी आफैँले चिने प्राप्त गर्छाै नत्र गर्दैनौ। त्यसका लागि आफूले काम गरे हुन्छ, नत्र हुँदैन।  त्यसको लागि विश्वास र मान्यतामा भर पर्नुपर्छ भन्ने छैन। आफूले गरे हुन्छ। वाद र मान्यताबाट मुक्त भएर आफैँमा प्रयोग गर। रोग, द्वेष, घृणा त्याग। त्यसलाई प्रयोग गर के हुन्छ ? त्यसपछि आफैँ थाहा पाउँछौँ।

शान्तिको एक मात्र मार्ग हो, ध्यान। अहिले सबै कुरा छ तर ध्यान छैन। शिक्षा आर्जन गर्ने थलो ध्यान हो। समाधिमा आफूले सोचेको कुरा प्राप्त गर्न सकिने उनले बताएका हुन्।

ध्यान गरियो भने हाम्रो मन शान्त हुन्छ। शान्त व्यक्ति जे गरे पनि सफल हुन्छ। एउटा भनाइ छ नि, ‘गोरु जता जान्छ, गाडा त्यतै जान्छ।’ त्यसैगरी शान्त व्यक्तिले जे गर्छ, सफलता उसको पछाडि आउँछ। भित्री रुपमा ध्यान, बाहिरी रुपमा अहिंसा। जबसम्म ध्यानको माध्यमबाट आफू भित्रको शान्ति चिनिदैन, हामी हिंसा गर्न बाध्य हुन्छौँ। आफू शान्त मान्छेले हिंसा गर्न सक्दैन।

जो  व्यक्ति आफू शान्त छैन बलपूर्वक अरुबाट शान्ति प्राप्त गर्न खोज्छ। ऊ हिंस्रक हुन्छ। ध्यानको माध्यमबाट शान्ति हासिल गर्ने र त्यहाँबाट मात्रै तिम्रो जीवन तिमीले बन्न खोजेको बनाउन सक्छौ भन्ने उहाँको भनाइ रह्यो।

करुणाबाट ध्यान जन्मन्छ। ध्यानबाट के हुन्छ त? ‘ध्यानको गहिराईबाट व्यक्तिले आफ्नो दुःख थाहा पाउँछ। आफ्नो जस्तै अरुको आत्माको बारेमा पनि थाहा पाउँछ। कसरी म शान्त हुने? करुणामयी र प्रेमिल हुने? अरु सबै आफ्नो कारणले दुःखी नहोऊन् भन्ने सोचाइ उसमा जन्मन्छ। आफू र अरुलाई एकै देखेको हुन्छ ध्यानी मानिसले। यस्तो भावना आउनेबित्तिकै हीन भाव जन्मदैन।

शान्तिको जग ध्यान हो। मनुष्य अशान्त छ। त्यस कारण ध्यानलाई ध्यान दिने समय भइसकेको छ।  

कारण र प्रभाव
भगवान् बुद्धले त्यतिबेला भने कि संसारमा कुनै पनि चमत्कार छैन। ‘कारणको जगमा जाऊ। दुःख छ। दुःखको कारण छ र निवारण पनि छ। त्यसका लागि सहज र सरल विधि पनि छ। त्यो अरु कसैको अनुभवले प्राप्त हुँदैन, त्यो आफैँ अनुभव लिऊ,’ बुद्धले भने।

उनको जीवनशैली आज लागू गर्ने हो भने एउटा ध्यान र करुणा अहिंसामा अग्रसर हुन्छ हाम्रो मुलुक। उनले प्रतिपादन गरेको शिक्षाको खोजी विश्वभर चासोको विषय रहेको छ। बुद्ध शिक्षाको हब नेपाललाई किन नबनाउने ? पदार्थमा शान्ति खोजिरहेको मान्छेलाई आन्तरिक तत्त्वमा प्रवेश गराएर शान्ति अनुभूत किन नगराउने ? हाम्रै देशमा जन्मिएका बुद्धको शिक्षालाई यहीँबाट फैलाउन हामीले अब ढिला गर्न हुन्न।

प्रकाशित: २२ जेष्ठ २०७६ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App