१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सेयर बजारमा शुभ संकेत

सरोज भट्टराई
डाइरेक्टर तथा प्रशिक्षक
सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सभिस प्रा.लि.

गत वर्षको फागुन १९ गते नेप्से परिसूचक ११००.५८ बिन्दुमा झरेको थियो। यो बिन्दु ०७५ सालको त न्यूनतम हो नै ०७३ साल पछिकै न्यूनतम बिन्दु हो। ०७३ साउन १२ गते नेप्से परिसूचक १८८१.४५ बिन्दुमा पुगेको थियो। जुन नेपालको सेयर बजारको इतिहासकै उच्च बिन्दु हो।

०७३ साल साउनमा नेप्से उच्च बिन्दुमा पुग्दा हौसिएका सेयर बजारका लगानीकर्ता ०७५ फागुनमा आइपुग्दा हातोत्साही भैसकेका थिए। लगानीकर्ताको धैर्य गुम्ने अवस्थामा थियो। आशाको पालुवा सुस्त भैसकेको थियो। अहिले भने लगानीकर्तामा आशाको अंकुरण पलाएको छ। सेयर बजारले तत्कालै ठूलो फड्को मारिहाल्ने अवस्था त देखिएको छैन तर केही राहत भने महसुस गर्ने अवस्था छ।

फागुन १९ पछि सेयर बजार क्रमिक रुपमा सामान्य बढ्न थालेपछि आशाको अंकुरण भएको हो। ०७६ वैशाख १२ गते सम्ममा करिब २०० अंकले नेप्से बढेर १९९५ को बिन्दुमा पुग्दा लगानीकर्ताको ओठ थोरै भए पनि मुस्कुराउन थालेको छ। जुन सन्तोषजनक हो। निरन्तर घटिरहेको सेयर बजारबाट आजित भएका लगानीकर्तालाई सेयर बजारको सुधारले केही हदसम्म भए पनि राहत मिलेको छ।

शुभ संकेत
एक हदसम्म भन्नुपर्दा सेयर बजारमा शुभ संकेत देखिन थालेको छ। ११०० को बिन्दुमा करिब एक हप्ता बजार रह्यो। त्यो नै सेयर बजारको सबैभन्दा धेरै टर्निङ्ग प्वाइन्ट थियो। तीन वर्ष यताको सेयर बजारको न्यूनतम बिन्दु त्यही हो। यसरी सेयर धेरै घटिसकेकाले अब धेरै जोखिम हुन्न भन्ने अपेक्षाले सेयर बजारमा लगानी गरी बजार बढेको देखिन्छ।

अहिले बजार बढाउने प्रमुख आधार सेयरको सिजनको प्रभाव पनि एक हो। सामान्यतः वैशाखदेखि असोज महिनासम्म सेयरको सिजनको रुपमा लिइन्छ। यो सिजन सेयर बजारका लागि आँप फुल्ने सिजन जस्तै हो। यसको अर्थ वैशाख महिना भनेको सेयर बजार बढ्दै जाने सिजन हो।

अहिले बैंकिङ्ग सूचक बढेको छ। बैंकिङ्ग क्षेत्रको समग्र बजार मूल्य बढेको छ। समग्र बजार बढ्नुको आधार आर्थिक परिसूचक बढ्नु हो। लगानीकर्ता वाणिज्य बैंकप्रति आकर्षित छन्। नेपालमा करिब ८० प्रतिशत सेयर बजारको हिस्सा बैंक तथा वित्तीय क्षेत्रले ओगटेको छ। त्यसैले बैंकको त्रैमासिक वित्तीय विवरणको सुरुवातलाई लगानीकर्ताले अहिले सकारात्मक रुपमा लिएको देखिन्छ। सेयर बजारमा त्रैमासिक बैंकिङ विवरणको सकारात्मक प्रभाव परेको देखिन्छ। सेयर बजारमा गरेको लगानीबाट कति प्रतिफल लिन सकिन्छ भन्ने अनुमान फुल फुलेको आधारमा गर्न सकिन्छ। अहिले अघिल्लो वर्षको तुलनामा विभिन्न कम्पनीका अधिकांश सूचक सकारात्मक देखिन्छ। त्यसैले सेयर बजारको लगानीबाट गत वर्षको तुलनामा यो वर्ष बढी प्रतिफल प्राप्त गर्न सक्ने आधार देखिन्छ।

बजेटमा सेयर बजार
सरकारको वार्षिक बजेटले पनि सेयर बजारलाई प्रभाव पार्छ। त्यसैले बजेटको चर्चासँगै सेयर बजारमा उतारचढाव हुनु स्वाभाविकै हो। बजेटको चर्चा हुँदा पुँजी बजारका राम्रा विषय वा पुँजी बजारको विकासलाई थप मजबुत र फराकिलो बनाउने विषय समेटिने आशा लगानीकर्तामा रहेको देखिन्छ। जुन कुराको अभिव्यक्ति अर्थमन्त्रीबाट पनि आएको छ। बेला–बखतमा सेयर बजारलाई नकारात्मक असर पर्ने किसिमका अभिव्यक्ति दिँदै आएका अर्थमन्त्रीले सेयर बजारलाई सकारात्मक रुपमा सुधार गर्ने संकेत देखिन्छ। जसले लगानीकर्तामा आशा जगाएको मात्रै छैन, सेयर बजार बिस्तारै उक्कालो लाग्ने लक्षण देखिएको छ।

नीतिगत रुपमा भने पुँजी बजार तथा सेयर बजारमा भएका समस्यालाई  समाधान गर्न बनेको सुझाव समितिपछि केही ठोस नीतिगत निर्णयसमेत भएको छ। जसले सेयर बजारलाई मनग्य टेवा दिएको देखिन्छ। सुझाव समितिको प्रतिवेदनको आधार हेर्दा आर्थिक वर्ष ०७६/७७ को बजेटमा पुँजी बजारको विकास तथा बिस्तारमा सरकारले केही नीतिगत व्यवस्थामा सुधार गर्नेप्रति लगानीकर्ता आशावादी भएको देखिन्छ। सेयर बजार बढ्नुको एउटा आधार यो पनि हो। एक त लामो समय सेयर बजार खस्केको, त्यसपछि सेयर बजारलाई सुधार गर्ने उद्देश्यले सुझाव समिति बनेको र सरकारलाई नैतिक दबाब परेको जस्ता कारणले बजेटमा सुधारको नीति आउनेप्रति लगानीकर्ता अपेक्षित देखिन्छन्।

मौद्रिक नीति
मौद्रिक नीतिले पनि पुँजी बजारमा उत्तारचढाव ल्याउँछ। विभिन्न आधारलाई हेर्दा आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिले पनि सेयर बजारमा सकारात्मक प्रभाव पार्ने सम्भावना छ। किनभने बैंकहरुको ‘बिग मर्ज’को चर्चा सतहमा आइसकेको छ। ‘बिग मर्ज’का लागि बैंक नै अग्रसर भएर लागिपरेको देखिन्छ। बिग मर्ज भएर धेरै पुँजी भएका बंैक एकआपसमा गाभिँदा सेयर बजारमा सकारात्मक प्रभावको सम्भावना हुन्छ। मौद्रिक नीतिमा बैकिङ क्षेत्र मर्ज गर्ने नीति समेटिए सेयर बजारलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पर्न सक्छ।

घटबढको चक्र
सेयर बजारले आफ्नो घट्दो चक्र करिब पूरा गरिसकेको छ। किनभने यसअघिको इतिहास हेर्दा अबको बजारको दिशा बढ्दो बजार नै हो। नेपालको सेयर बजारको इतिहासले यस्तै देखाउँछ। सामान्यतः नेपालको सेयर बजारको इतिहासमा तीन वर्षसम्म बजार घट्ने, त्यसपछि बिस्तारै बजार बढेको देखिन्छ। यो चक्र सामान्यतः पाँच वर्षसम्म चलेको देखिन्छ। यसको अर्थ इतिहासलाई आधार मान्ने हो भने अबको पाँच वर्षसम्म सेयर बजार उकालो लाग्ने सम्भावना हुन्छ। त्यसैले सेयर बजारमा इतिहास दोहोरिने सम्भावना भएकाले अहिले राम्रा कम्पनीमा लगानी गर्ने हो भने भविष्यमा नाफा कमाउने सम्भावना राम्रै देखिन्छ। स्थिर सरकार पनि सेयर बजार उकालो लाग्ने आधार हो।

आर्थिक वृद्धिको सकारात्मक प्रभाव
पुँजी बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा मानिन्छ भन्ने त हामी धेरैलाई थाहै छ। नेपालको अहिलेको आर्थिक वृद्धिदर राम्रै देखिन्छ। आर्थिक वर्ष ०७३÷०७४ मा ६.९४ को आर्थिक वृद्धिदर थियो भने ०७४÷०७५ मा ६.६६ थियो भने। यो वर्षको प्रक्षेपण ७.०५ रहेको छ। जुन प्रक्षेपण सेयर बजारका लागि सुखद् संकेत हो।

सरकारले लिएको बजार विस्तार नीति, अनलाइन कारोबार प्रणाली, मार्जिन ट्रेडिङ (ब्रोकरबाट केही ऋण लिएर लगानी गर्न पाउने व्यवस्था) आदिले सेयर बजार सुध्रने संकेत देखिन्छ।

नेपालको अहिलेसम्मको पुँजी बजार तथा समग्र बजारको अवस्थालाई हेर्दा सेयर बजारका लगानीकर्ताले तत्कालै डराइहाल्नु पर्ने अवस्था छैन। सरकारको नीति तथा कार्यक्रम र समग्र देशको अवस्थालाई आधार मान्ने हो भने सेयर बजार अब तत्काल नकारात्मक बाटोतर्फ दौडिने अवस्थामा देखिँदैन। बिस्तारै सुधारको बाटोमा जाने देखिन्छ। धेरै मुनाफा आर्जन गर्न सक्ने अवस्था देखिन्छ।

सुझाव समितिले वाणिज्य वैंकलाई ब्रोकर लाइसेन्स दिने, सेयर लगानिकर्तालाई सेयर धितो कर्जा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत बढाउने जस्ता सुझाव दिएको थियो। जुन सेयर बजारका लगानीकर्ताको लागि सकारात्मक हो। सुझाव समितिको सुझावको दीर्घकालीन सकारात्मक प्रभाव देखिन्छ। वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्नेजस्ता पक्ष सेयर बजारका लागि सकारात्मक कदम हुन्। त्यसैले लगानीकर्ताले सोच विचार गरेर कम्पनी बुझेर लगानी गर्नु उचित हुन्छ।

लगानी कहिले गर्ने ?
सेयर बजार धेरै बढ्ने साउन र भाद्र महिना हो। यो समयमा उच्च विन्दुमा पुग्न सक्छ। त्यसैले लगानीकर्ताले सामान्यतः अफ सिजन माघदेखि चैत्र महिनासम्ममा सेयर बजारमा प्रवेश गर्दा रामै्र मुनाफा कमाउन सकिने सम्भावना हुन्छ। विशेषगरी वैशाखदेखि असोजसम्म सेयर बजारको बढ्दो सिजन हो। लगानीकर्ताले भने यो सिजनमा सेयर बेचेर मुनाफा लिने समय हो। त्यसैले वैशाखदेखि असोजसम्ममा सेयर बेच्दा राम्रो मुनाफा लिन सकिने सम्भावना हुन्छ।

माघदेखि चैत महिनासम्म भने सेयरको मूल्य घट्ने सिजन हो। त्यसैले यो मौसमलाई सेयरको अफ सिजनका रुपमा लिइन्छ। विशेषगरी यो सिजन सेयर किन्ने सिजन पनि हो किनभने यो सिजनमा सेयरको मूल्य घटेको हुन्छ। त्यसैले विशेषगरी नयाँ लगानीकर्ताले माघदेखि चैतसम्ममा सेयर किन्नु अझ उपयुक्त हुन्छ। वैशाखदेखि असोज महिनासम्म पनि धैर्य गर्न सक्ने किसिमको रकम सेयर बजारमा लगानी गर्दा भविष्यमा मुनाफा लिन नसकिने भने हैन।


लगानी गर्नुअघि ध्यान दिनु पर्छ
सेयर बजारमा प्रवेश गर्नु अघि भने सेयर बजारको ज्ञान लिनै पर्छ। बिना ज्ञान जथाभावी लगानी गर्दा लगानी डुब्ने जोखिम हुन्छ। यसमा लगानीकर्ता स्वयं सजक हुन जरुरी छ। सही कम्पनी छानेर लगानी गर्नु पर्छ। कम्पनी गलत भए लगानीको जोखिम हुनु स्वभाविकै हो।

आवेशमा आएर सेयर बजारमा लगानी गर्ने तथा खरिद बिक्री गर्नु हुन्न। सुझबुझमा मात्रै लगानी गर्नु उपयुक्त हुन्छ। कुनै कम्पनीको भविष्यमा उच्च वृद्धिको सम्भावना देखिएको छ भने त्यो कम्पनीको तत्कालै सेयर बेच्ने निर्णय गर्नु उचित हुन्न। त्यस्ता कम्पनीले भविष्यमा राम्रो मुनाफा दिन सक्छन्। त्यसैले कम्पनीको अवस्था हेरेर निर्णय लिनु उपयुक्त हुन्छ।

राम्रो कम्पनीको सेयरको मूल्य बढी भएको सेयर बेचेर सस्तो मूल्यको सेयर किन्ने उद्देश्य हुन सक्छ। त्यसो गर्दा राम्रा कम्पनीको लाभ लिनबाट चुक्ने सम्भावना हुन्छ। कुनै कम्पनीको बजार मूल्य उच्च रहेको अवस्थमा त्यस्ता कम्पनीको सेयरबाट उच्च प्रतिफलको आशा गर्न सकिन्छ। कम मूल्यका सेयरबाट प्रतिफलको सम्भावना पनि कमै हुन्छ। त्यसैले कुनै कम्पनीको सेयर सस्तो छ भने किन सस्तो भयो भन्ने कारण र गुणस्तर पनि पहिल्याउनु पर्छ। जस्तै फुटपाथमा पाइने सामान र मलमा पाइने सामानको गुणस्तर र मूल्य फरक हुन सक्छ। सेयर बजारमा जोखिमको सम्भावना देखिएको खण्डमा त्यस्तो सेयर बिक्री गर्नु नै उपयुक्त हुन्छ। सेयर बजारमा बेलाबखत सुनिने हल्लाको पछि नलागी वास्तविकता विश्लेषण गरेर मात्रै खरिद बिक्री गर्नु उपयुक्त हुन्छ।

तीब्र गतिमा बढिरहेको बजारमा कहिल्यै पनि छिर्नु हुन्न। यस्तो अवस्थामा सेयर बजारमा प्रवेश गर्नु जोखिम हुन्छ। सेयर बजार तीव्र गिरावट भएको अवस्थामा पनि सेयर बेच्नु ठीक हैन। यसले घाटा लाग्छ। सेयर बजार बढेपछि घट्छ र घटेपछि बढ्छ। यो कुरा लगानीकर्ताले कहिल्यै भुल्नु हुन्न। कहिले यस्तो हुन्छ भनेर भन्न नसकिए पनि ढिलो वा चाँडो यस्तो उतारचढाव हुन्छ। घट्दो बजारको बटममा सेयर जहिले पनि नराम्रो देखिन सक्छ। त्यसैले बढेको बजार अवस्थामा सेयर बिक्री गर्नु उपयुक्त हुन्छ। अर्थतन्त्रका विभिन्न आधार हेर्दा यो वर्ष सेयर बजारको भविष्य राम्रै देखिन्छ।

(भट्टराईले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: २२ जेष्ठ २०७६ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App