१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दलितको योगदानकै कारण जनयुद्ध सम्भव भयोः दाहाल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहलले दलितकै योगदानका कारण १० वर्षे जनयुद्ध सम्भव भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत (कसुर) ऐन २०७५ को प्रभावकारिता तथा कार्यान्वयनको संवाद कार्यक्रममा बोल्दै उनले १० वर्षे जनयुद्धमा दलित महिलाले देखाएको बहादुरीलाई सलाम गर्नुपर्ने र उनीहरूको योगदानको तुलना अन्य कसैसँग पनि गर्न नसकिने बताए।

दाहालले आन्दोलनको प्रक्रियामा दलित समुदायको धेरै लगानी रहेको स्मरण गर्दै उनीहरूकोे हिम्मत र साहसबिना शान्तिवार्ता सम्भव नरहेको बताए। विगतको तुलनामा दलित समुदायमा आएको परिवर्तनले गर्व महसुस हुने उनको भनाइ थियो। दलित महिलाले अन्यबाट हातहतियार खोसेर पार्टीलाई नबुझाएको भए आज यो दिन सम्भव थिएन भन्दै उनले आफू सत्तामा हुदाँ दलितमाथि हुने अमानवीय घटनाबारे छानबिन गर्न लगाई कारबाहीको पहल गर्दागर्दै पनि आवश्यक न्याय गरी सफलतासम्म पुग्न नपाएको दुःख व्यक्त गरे। ‘गाउँ समाजमा दलित प्रतिनिधि नै अपमानित हुनुपरेको खबर सुन्नुपर्दा निकै पीडा हुन्छ, दलित भएकै कारण अपहेलित हुनुपरे लिखित उजुरी दिएमा हामी कारबाही अगाडि बढाउनेछांै,’ उनले भने।

नेकपाका नेता छविलाल विश्वकर्माले मुलुकलाई गणतान्त्रिक व्यवस्थासम्म ल्याउन दलित आन्दोलन पनि मुख्य कारक रहेको बताए। दलित समुदायलाई सहभागितामा विभेद गरेको उनले गुनासो गरे। सबै प्रकारका जातीय भेदभाव र छुवाछुतको अन्त्य आवश्यक रहेको उलेख गर्दै उनले सामाजिक न्याय, समानता र आत्मसम्मानसहित समाज बाच्न पाउनुपर्ने बताए।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले दलित समुदायप्रति सरकारको नियत खराब रहेको बताए। वर्षौंदेखि उत्पीडित, पछाडि पारिएको समुदायको घाउमा नुन चुक हाल्ने काम भएको उनको आरोप थियो। संविधानको धारा ४०, उपधारा ३ र ४ मा सुकुमबासीले जग्गा नाममा दिने भनिए पनि दलित भनी उल्लेख नगरिएको र दलित नभनेपछि जग्गा मनलाग्दी आफ्नाको नाममा बाँड्न पाइने खालको चलखेल रहेको उनको भनाइ थियो।

अन्तर पार्टी महिला संजालद्धारा आयोजित सो कार्यक्रममा ‘इभा क्यालसु सामाजिक न्याय पुरस्कार’ का लागि तिलक परियार छनोट गरिएको जानकारी दिइयो। दलित आन्दोलनको सुरुवात देखि नै योगदान पु¥याएबापत दलित मोर्चाका अध्यक्ष परियारलाई पुरस्कारका लागि छनोट गरिएको आयोजकले जानकारी दिएको छ। पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ।

अन्तरपार्टी महिला संजालका संयोजक अन्जना विसन्खेको अध्यक्षतामा भएको सो कार्यक्रममा दलित समुदमयबाट पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र कुमारी ज्ञानमालालाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App