१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शाहीलाई पूर्जी नदिई पक्रेर यातना: मानवअधिकार आयोग

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरी यातना दिइएको बताएको छ। आयोगले शाहीको पचार गर्न सरकारसँग आग्रह गर्दै घटनाप्रति आपत्ति व्यक्त गरेको छ। ‘नेपालका लागि नेपाली’ संस्थाका पदाधिकारी तथा अभियन्ता शाहीलगायत ९ जनालाई प्रहरीद्वारा पक्राउ गरी कुटपिट गरिएको भन्दै आयोगले आपत्ति जनाएको हो।

प्रहरीले ९ जनालाई सुर्खेतबाट पक्राउ गरी कुटपिटबाट घाइते भएको भन्दै आयोगमा उजुरी परेको थियो। आयोगले प्रहरी कुटपिटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत शाहीको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको बताएको छ। आयोगले शाहीलाई कुनै पूर्जी नदिई पक्राउ गरी यातना दिएको प्रारम्भिक अनुगमनबाट खुलेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

‘प्रहरी हिरासतमा कुटपिटका कारण शाहीको खुट्टामा चोट लागेको र पक्राउ गर्दा पूर्जी नदिएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ,’ आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। घटनाका विषयमा मानवअधिकार आयोगले थप अनुसन्धान गरिरहेको बताएको छ।

‘शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको सम्मान गर्न, प्रहरीको यातनाका कारण घाइते भएका शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न, घरपरिवारलाई भेटघाटको व्यवस्था मिलाउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App