१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हलखोरिया वन अतिक्रमणको चपेटामा

नेचुरल रिसोर्स इन्डस्ट्रिजले अतिक्रमण गरेको हलखोरिया साझेदारी वनको जग्गा जडीबुटी खेतीको गर्ने बहानामा ट्र्याक्टर प्रयोग गरी जोतिँदै। तस्बिर: नागरिक

बारा - जीतपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडामा फैलिएको हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको जग्गा अतिक्रमणको चपेटामा परेको छ। राजनीतिक संरक्षण र सम्बन्धित निकायको लापरबाहीले गर्दा हलखोरिया वनको सयौं हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको बताइएको छ।

हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले वनसँगै टाँसिएका बस्तीका स्थानीयले घर निर्माण, खेल मैदान, धार्मिकस्थल र विद्यालयको नाममा जंगल अतिक्रमण गरेको बताए। अतिक्रमित वनक्षेत्र खाली गराउन स्थानीयसँग सहयोग माग्दा असहयोग हुने गरेको अध्यक्ष सिंहको आरोप छ। डुमरवाना, पिलुवा, महेन्द्रनगर लामाडार लगायत स्थानमा वनक्षेत्र बढी मात्रामा अतिक्रमणमा परेको सिंहले बताए।

हलखोरिया सब डिभिजन वन कार्यालयका रेन्जर राजेशकुमार साहका अनुसार एक हजार नौ सय ३३ हेक्टर क्षेत्रफलमा रहेको हलखोरिया साझेदारी वनको लगभग सय हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ। वनको जग्गा स्थानीय र विभिन्न संघ–संस्थाबाट अतिक्रमण गरिए पनि त्यसलाई खाली गराउन वन व्यवस्थापन समितिबाट कारबाही नगरिएको साहले बताए। हलखोरिया साझेदारी वन व्यवस्थापन समितिबाट ३५ हेक्टर क्षेत्रफल भाडामा लिएर जडिबुटी खेती गर्दै आएको नेचुरल रिसोर्स इन्डस्ट्रिजले सम्झौताभन्दा बढी जग्गा अतिक्रमण गरेको साहको दाबी छ।

सुरुमै अधिकार क्षेत्र बाहिर गएर हलखोरिया साझेदारी वन व्यवस्थापन समितिले वनको जग्गा भाडामा दिएको र अहिले भाडामा दिएको भन्दा बढी क्षेत्रफलमा रहेका रुख कटान गरी नेचुरल रिसोर्सले खेती गर्दासमेत समितिबाट कुनै कारबाही भएको जानकारी वन कार्यालयलाई नगराइएको साहको भनाइ छ। जीतपुर सिमरा उपमहानगरपालिका–१६ मा पर्ने हलखोरिया साझेदारी वन व्यवस्थापन समितिकै जंगलको बीच भागबाट नयाँ सडक निर्माण कार्य सुरु भए पनि त्यसलाई रोक्न समितिबाट कुनै पहल नभइएको उनको गुनासो छ।

सखुवाघारमा रहेको जन जागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल मैनाली वनको १२ बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेर बसे पनि त्यसलाई समेत खाली गराउन समितिबाट कुनै कारबाही अघि बढाइएको छैन। वनको जग्गा अतिक्रमण हुनबाट जोगाउनुभन्दा भएका रुखहरू काटेर उपभोक्तालाई काठ वितरण गर्नुमै समितिका पदाधिकारीहरू बढी केन्द्रित हुँदा वन अतिक्रमण तीव्र हुन पुगेका रेन्जर साहले बताए। हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको अधिकार क्षेत्रभित्र पर्ने जंगलमा अतिक्रमण हटाउन र कुनै किसिमको कारबाही गर्न समितिबाट लिखित जानकारी आउनुपर्ने नियम भए पनि समितिबाट अतिक्रण खाली गराउन र विभिन्न बहानामा वनको जग्गा नोक्सान गर्नेलाई कारबाही गर्न समस्या परेको रेन्जर साह बताउँछन्।

हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष सिंहले वनमा खाली रहेका जग्गा अतिक्रमण गर्न नभई नयाँ बिरुवा हुर्काउन विभिन्न व्यक्ति वा संस्थालाई भाडामा दिने गरिएको बताए। अतिक्रमणमा परेका जग्गाहरू आफ्नो कार्यकालभन्दा पहिलाको भएको दाबी गर्दै अध्यक्ष सिंहल भने, ‘अतिक्रमणमा परेका जग्गा खाली गराउन समिति सक्रिय रहेको छ।’

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App