१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय नेताले भने, ‘सरकारले जनताका हरेक अधिकारलाई लत्यायो’

नेपालगन्ज– नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले संविधानले दिएको अधिकारलाई मिचेर कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र प्रर्दशन गरेको आरोप लगाएका छन्। राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनीहरुले कम्युनिस्ट सरकारले संविधानको भावना विपरित जनताका हरेक अधिकारलाई लत्याएको ठोकुवा गरे।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कांग्रेस नेता एनपी साउदले कम्युनिस्ट नेतृत्वको सरकार जनताका अधिकारलाई लत्याउन अग्रसर रहेको बताए। आम नागरिकले बोल्न पाउने अधिकार, प्रेसले स्वतन्त्र पुर्वक लेख्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकारले विभिन्न विधेयक ल्याएर अधिनायकवादी चरित्र देखाएको स्पष्ट पारे। संघीयता असफल पार्न सरकारले स्थानीय तहका अधिकारलाई कुण्ठित गरेको पूर्वमन्त्री साउदको भनाई छ। 
 
चुनावका बेला दिएको आश्वासनलाई पुरा नगरी कम्युनिस्ट सरकारले जनताका अपेक्षालाई लत्याएको बताए। ‘वर्तमान सरकारले जनताका अपेक्षालाई लत्याएको छ, सुकुम्बासी र भुमिहिन पनि अहिलेको सरकारबाट सन्तुष्ट छैनन्,’ केन्द्रिय सदस्य साउदले भने। कांग्रेसको पालामा सुरु भएका विकास निर्माणको जस अहिलेको सरकारले लिने गरेको पूर्वमन्त्री साउदले बताए। 

‘सुशील कोइरालाको पालामा म स्वयं सिँचाइ मन्त्री थिए, हाम्रै  अग्रसरतामा भेरी बबई डाइभर्सनको काम सुरु भयो र तोकिएको समयभन्दा एक वर्ष अगाडि सुरुङ निर्माणको काम सकियो’, उनले भने, ‘तर अहिलेको सरकारले एक वर्षभित्रै सम्पन्न हुनुमा आफूहरुको सक्रियता भनेर जस लिने काम ग¥यो।’ कांग्रेसको पालामा विकासको ढोका धेरै खोले पनि कम्युनिस्ट सरकारले जनतामा भ्रम छरेर जस लिने काम गरिरहेको नेता साउदको भनाई छ। 

अर्का नेता चन्द्र भण्डारीले कम्युनिस्ट सरकारले देशलाई समृद्ध बनाउनै नसक्ने ठोकुवा गरे। सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारामै सिमित हुन पुगेको उनले बताए। ‘नेपाली जनताको लागि कम्युनिस्ट सरकारले केही दिन सक्दैन, बरु हरेक निकायमा आफ्ना कार्यकर्ताको भर्ती केन्द्र बनाउन खोज्दैछ,’ केन्द्रिय सदस्य भण्डारीले भने। 

कांग्रेस नेतृ डा. डिला संग्रौलाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताइन्। दुई तिहाईको कम्युनिस्ट सरकारले लोकतन्त्रको मूल्य, मान्यता विपरितका क्रियाकलाप जारी राखेको भन्दै नेपाली जनताले यसको प्रतिवाद गर्नुपर्ने आवश्यकता औल्याईन्। हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेर अधिनायकवादी चरित्र प्रर्दशन गरिरहेको उनको भनाई छ। 

पूर्वमन्त्री एवम् कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संविधानको जग भत्काउन लागेको आरोप लगाए। ‘जनताले कम्युनिस्ट पार्टीलाई संविधानको घर बनाउने जिम्मा दिएका थिए, तर सरकारले जग भत्काउन थाल्यो’, उनले भने। सरकारले जनताको लोकतान्त्रिक अधिकारलाई खोस्ने काम गरेको थापाको भनाई छ। 

जनताका कुरालाई जस्ताको त्यस्तै लेख्ने मिडियालाई नियन्त्रण गर्न सरकारले निरंकुश शैलीमा मिडिया विधेयक ल्याउन लागेको उनले सुनाए। हरेक निकायमा सरकारले हस्तक्षेप गरेर अधिनायकवाद लादेको युवा नेता थापाको भनाई छ। कांग्रेसले अहिलेसम्म शालिन भएर संसदमा प्रतिपक्षको भुमिका निर्वाह खेलेको बताउँदै उनले भने, ‘कांग्रेसले यो सरकारलाई संविधानको ट्रयाक भन्दा बाहिर जान दिँदैन, कांग्रेसको शक्ति नै जनता हो।’

यस्तै पूर्व सिँचाइ मन्त्री एवम् कांग्रेस बर्दियाका सभापति संजय गौतमले कम्युनिस्ट अधिनायकवाद विरुद्ध जनताले प्रतिवाद गर्ने बेला आएको बताए। ‘नेपाली जनता फेरि एकपटक कम्युनिस्ट अधिनायकवाद विरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आउनेछ’, सांसद गौतमले भने। कांग्रेस बाँकेका सभापति किरण कोइरालाले वर्तमान सरकारले आफूले गरेका भ्रष्टाचार र गलत क्रियाकलाप ढाकछोप गर्न प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाइन्। 

नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्यका अनुसार सोही सभामा तत्कालिन माओबादीद्धारा मारिएका  चोकबहादुर खत्री र जागेश्वर थारुको सम्मानमा एक÷एक लाख बराबरको अक्षय कोष स्थापना गरिएको छ। जागेश्वरको सम्मानमा कोहलपुर नगरपालिका वडा नम्बर १४ मा रहेको राम माध्यामिक बिद्यालय र खत्रीको सम्मानमा कोहलपुर–१० स्थित त्रिभुवन माविमा अक्षयकोष स्थापना गरिएको र उक्त रकमको ब्याजबाट जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने आचार्यले जानकारी दिए।

प्रकाशित: २० जेष्ठ २०७६ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App