१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश राजधानीमा जताततै बालश्रम

प्रदेश २ को राजधानीमा जताततै बालश्रम। तस्बिरःकमलेश ठाकुर/नागरिक

धनुषा– बिहानको ६ बजेको छ। वातावरण शान्त भए पनि खुलेका चिया पसलहरूमा भीडभाड र हल्ला सुनिएको छ। अलि परबाट हेर्दा चोकको चिया पसल नजिकमा कुनै सभा भइरहेको जस्तै देखिन्छ। चिया पसलमा लागेको भीड चिया खाँदै गफिँदै गरेको आम नागरिकको छ।

पसलमा युवादेखि ज्येष्ठ नागरिक हातमा चियाको गिलास राखेर राजनीति प्रसंगमा कुरा गरिरहेका देखिन्छन्। सरकारको आलोचना गर्दै उनीहरले देश समृद्ध बनाउने आफ्ना धारणाहरू राख्दै छन्। तर, त्यही पसलमा निराश भएर विद्यालयको समयमा चिया बनाउँदै गरेका एक १३ वर्षीय बालकमाथि कसैको ध्यान जाँदैन। बालश्रम गरिरहेका ती बालकको भविष्यसँग नै खेलवाड भए पनि सबैले हप्काएर नै उसलाई काम अह्राएको देखिन्छ।

बालकले चिया बनाउने, टेबुल सफा गर्ने र गिलास माँझ्ने सबै काम एक्लै गर्छन्


१३ वर्षीय परिवर्तित नाम हरेराम प्रदेश २ को राजधानी जनकपुरको पिडारीचोकमा एक चिया पसलमा काम गर्दै गरेका थिए। उमेरले १३ वर्ष भने पनि उनको वास्तविक उमेर त्यो होइन। कसैले सोध्यो भने कम उमेर भन्ने जनकपुरका साहूहरूले सिकाएको स्कुलिङ हो। वास्तविक ८ दखि १० उमेर समूहका ती बालकले चिया बनाउने, टेबुल सफा गर्ने र गिलास माँझ्ने सबै काम एक्लै गर्छन्, त्यो पसलमा। चार वर्ष अगाडि कामको सिलसिलामा जनकपुर आएका हरेरामको दैनिकी अहिले प्रत्येक दिन बिहान पाँच बजेदेखि पसलको सरसफाइबाट सुरु हुन्छ।

झाडुसँगै पानी भर्ने, गिलास माँझ्ने, होटलमा पाक्ने प्रकारलगायतको सामग्री तयार पार्ने जिम्मेवारी रहेको उनले बताए। प्रत्येक दिन काम सकेर नियमित  ११ बजे राति मात्रै सुत्ने गरेको र होटलमा अर्डर आएको दिन राति पनि काम गर्नुपरेको उनको भनाइ छ।

‘बिहानै उठ्न अल्छी लाग्छ। अलि ढिलो उठ्यो भने साहू गाली गर्नुहुन्छ,’ उनले भने, ‘दिउँसोभरि काम गर्दा राति थकाइ लाग्छ। पढ्न त धेरै रहर थियो। तर के गर्नु समय अनि आर्थिक स्थितिले साथ दिएन।’ आर्थिक अवस्था कमजोर भएका कारण काम गर्दै पढ्ने सपना बोकेर जनकपुर आएका उनले कहिलेकाहीं राति निद्रामा पनि पढिरहेको सपना देख्छन् र भोलिपल्ट त्यो सपना सम्झेर भक्कानिएर रोएको उनले सुनाए।

हरेराम एउटा बालश्रमको प्रतिनिधि पात्र मात्र हुन्। यस्ता सयौैंको संख्यामा धनुषामा बालश्रमिक छन्। होटेलमा मात्रै होइन, निर्माण र यातायातका साधनमा समेत बालश्रमिक छन्। यस्तै बालबालिकाको श्रम शोषण भइरहँदा पनि सम्बन्धित निकाय मौन छ। धनुषामा पछिल्लो समय बालश्रम दिनानुदिन बढ्दै गएको छ।

बाल अधिकारको उल्लंंघन गर्दै चौतर्फीरुपमा बालश्रम भइरहँदा पनि यसलाई रोक्न सम्बन्धित निकायले चासो देखाएको छैन। सम्बन्धित निकायको उदासीनताका कारण धनुषामा मात्र सयौंको संख्यामा बालश्रम शोषण दिन प्रतिदिन बढ्दै गएको छ। यहाँ स–साना बजार देखि लिएर सदरमुकामको सानो चिया पसलदेखि ठूला होटल, रेष्टुरेन्टलगायत बिहाबारीको समयमा खुलेआम बालबालिकालाई प्रयोग गरेको पाइन्छ। साना होटलदेखि ठूलो व्यवसाय व्यापारमा प्रयोग भए तापनि सम्बन्धित निकाय किन मौन छ?

यसलाई नियमन गर्नुपर्ने हो तर, नियमन गर्न स्थानीय तहमा पठाउनु पर्दा जनशक्ति अभाव र स्रोत साधनको अभावका कारण अनुगमन प्रभावकारी हुन नसकेको महिला तथा बालबालिका कार्यालयका प्रमुख अवबेशकुमार यादवले बताए। महिला तथा बालबालिका कार्यालयले गर्ने काम स्थानीय तहमा गइसकेका कारण बालश्रम निषेध र नियमन गर्ने जिम्मेवारी स्थानीय तहको भएको उनको भनाइ छ।

‘बाल बालिकालाई बालश्रममा लगाउनु सामाजिक मात्र नभई नैतिक तथा कानुनी अपराध हो। तर यस विषयमा जनकपुरवासी चेतनशील र जागरुक हुन सकेको छैन,’ उनले भने, ‘मान्छे पैसा कमाउने र छिटै धनी बन्ने लोभ र गरिबीका कारण बालबालिकालाई बालश्रममा प्रयोग गर्छन्।’ अनुगमन भए पनि प्रभावकारी नभएको भन्दै सकारात्मक जनचेतना अभावले बालश्रम बढेको उनले बताए।

प्रकाशित: २० जेष्ठ २०७६ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App