१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साथी बचाउन खोज्दा एलिसको मृत्यु

खोटाङ - दिक्तेल प्राविधिक शिक्षालयमा सबओभरसियर अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत प्रयोगात्मक अध्ययनका लागि शनिबार साथीहरुसँगै साप्सु खोला पुगेका थिए। उनीहरुलाई शिक्षालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सु खोलास्थित साप्सु कालिका हाइड्रोपावरमा प्रयोगात्मक अध्ययनका लागि लगेको थियो। तर त्यही अध्ययन भ्रमण एलिसका लागि अन्तिम बन्न पुगेको छ। अध्ययन भ्रमणका लागि सँगै गएका १९ वर्षीय विक्रम भट्टराई पौडी खेल्ने क्रममा दहमा डुबेपछि बचाउन खोज्दा एलिसले पनि ज्यान गुमाउन पुगेका छन्।

उनीहरुसँगै रहेका सहकर्मीका अनुसार सुरुमा विक्रम दहमा डुबेको र बचाउन जाँदा एलिस पनि डुबेका हुन्। दहमा डुबेपछि विक्रमले हात उठाएर बचाउन गुहार मागेपछि एलिस दहमा हाम फालेका थिए। मृतक एलिसका मामा विनोद बस्नेतका अनुसार उनीहरुकै साथी काजी बस्नेत घटनाका प्रत्यक्षदर्शी हुन्। विक्रम पनि खाल्लेकै हुन्। ‘पाँचजना विद्यार्थीमध्ये विक्रम, एलिस र काजी माथिल्लो दहमा पुगेछन्’, मामा बस्नेतले भने, ‘दहमा डुबेका साथीलाई बचाउँछु भन्दै खोलामा पस्दा एलिस पनि डुबेका रहेछन्।’

दुई विद्यार्थी दहमा डुबेपछि काजीले नै अन्य साथी तथा शिक्षकलाई खबर गरेका थिए। खबर पाएपछि घटनास्थल पुग्दा उनीहरुलाई एउटै दहको फरकफरक दिशामा मृत अवस्थामा फेला पारिएको थियो। भट्टराईको शव तैरिएको अवस्थामा तत्काल फेला परे पनि बस्नेतको शव प्रहरी र स्थानीयले दुई घण्टापछि दहको कुनाबाट निकालेको प्रत्यक्षदर्शी निर्मला खड्काले बताइन्। प्रहरीले पनि साथीलाई बचाउन खोज्दा एलिसको ज्यान गएको जनाएको छ। शिक्षालयले ३५ विद्यार्थीलाई अध्ययनमा लगेको बताइएको छ।

विक्रम र एलिस घरका एक्लो छोरा हुन्। विक्रमका तीन दिदी र एक बहिनी छन्। एलिसका दुई बहिनी छन्। घटनापछि खाल्ले शोकमा डुबेको छ। छोराको मृत्युको खबरपछि विदेशमा रहेका एलिसका बाबु इन्द्रबहादुर बस्नेत पनि घर आएका छन्।

मृतक परिवारलाई ६/६ लाख
खोलामा डुबेर ज्यान गुमाएका विद्यार्थीका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले ६÷६ लाख दिने भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शिक्षालयका सञ्चालक सीताराम राईले मृतकका परिवारलाई ५÷५ लाख राहत तथा १÷१ लाख किरिया खर्च दिन सहमत भएका हुन्। प्रतिपरिवार ५० हजार तत्काल दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै आइतबार दिक्तेलबजारमा प्रदर्शन गरेका थिए। सहमति जुटेपछि सोमबार मृतकको पोस्टमार्टम गर्ने तयारी भएको प्रजिअ उपाध्यायले बताए।

प्रकाशित: २० जेष्ठ २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App