१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘रमबोला’को एकल काव्यपाठ

‘रमबोला’ खण्डकाब्यको एकल वाचन कार्यक्रममा साहित्यकार डा. हरेन्द्र हिमकर। तस्विरः रितेश/नागरिक

वीरगन्ज–भोजपुरीका साहित्यकार डा. हरेन्द्र हिमकरको खण्डकाव्य ‘रमबोला’को  वीरगन्जमा एक साहित्यिक जमघटबिच शनिबार एकल पाठ गरिएको छ। भारतका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा सामेल रहेको र बेग्लाबेग्लै साहित्यका अध्येताहरूले आफ्नो विद्यावारिधीको विषय बनाएको ‘रमबोला’को सस्वर काव्य प्रस्तुतीको अवसर नेपाल भोजपुरी समाजले जुराएको थियो।

‘तुलसी के जनम भइल जहिया
बनचट छुटल सुझल रहिया
जन–जन के आस आकाश भइल
लुलसी तुलसी दल दी कहिया’
अर्थात तुलसी दासजीको जन्मले बाटो देखियो, जनमानसमा आस जाग्यो कवि तुलसी कुन दिन पवित्र तुलसीको पात दिने हुन ? श्रीराचरित्रमानस (रामायण)का एक जना रचैता कवि तुलसीदास उपर देखिएको उत्कृष्ट रचनाको रूपमा ‘रमबोला’लाई लिइन्छ। ‘हुन त यो खण्ड काव्य तुलसी दासजी उपर छ। तर यसले समाजको विभिन्न पक्षलाई उजार गरिरहेको चिन्तन आज पनि समसामयिक देखिन्छ’, उक्त रचनाबारे प्रकाश पार्दै विश्लेषक चन्द्रकिशोरले भने, ‘सीमाञ्चलबाट निस्किएको यो उत्कृष्ट रचना अरु धेरै भाषाको उत्कृष्ट साहित्यमाझ भोजपुरीलाई उभ्याउछ।’ सीमावर्ती भारतीय सहर रक्सोलका बासिन्दा रहेका साहित्यकार डा. हिमकर नेपाल भारत सीमा क्षेत्रमा साहित्यिक क्षेत्रमा आदरसाथ चिनिने व्यक्ति हुन्।

सन १९७७ मा अर्थात आजभन्दा ४१ वर्षअघि लेखिएको ‘रमबोला’ले चन्द्रकिशोरले भनेजस्तै आजपनि त्यतिकै सान्दर्भिक हुने गरी समाजका विभिन्न पक्षलाई उजागर गरेको छ। भारतमा तत्कालीन मुगल साम्राज्य रहेको बेला तुलसीदास जन्मिँदाको अवस्थालाई उनले यसरी वर्णन गरेका छन्ः
राशन कर गइल हजम शासन
परजा के पेट भरल भाषण
टुटे लागल सब ध्यान धरम
छुटे लागल सब लाज शरम।

अर्थात, ‘स्रोतहरू शासकले पचाएका छन्, जनताको पेट भाषणले भर्ने अवस्था छ, ध्यान र धर्म भंग हुँदैछ, लाज सरम छुट्न लागेको छ।’ त्यसतै समकालीन महिलाहरूको अवस्था, समाजमा गलत प्रवृत्तिहरू हावी भइरहेको कुरा, महिला र बालबालिकाको कुषोषणजस्ता विषयहरू काव्यका पंक्तिहरूले छन्दमा उठान गरेको पाइन्छ। भोजपरी माटोका ‘ठेंठ’ शब्दहरूले रचनालाई विशिष्ठ बनाएको विश्लेषक बताउँछन्। काव्य पाठपछि त्यसको समीक्षा गर्दै भोजपरी कवियत्री अनिता शाहले विषयवस्तुको गम्भीरता, सरस शब्द तथा शैली र ओजपूर्ण प्रस्तुतिले ‘रमबोला’लाई उत्कृष्ट बनाएको बताइन्। अर्का  समीक्षक कमलेश कुमारले ‘रमबोला’लाई कालजयी रचना बताए। वीरगन्ज इन्स्टिीच्यूट अफ मेनेजमेन्टको सभाकक्षमा समाजका सचिव रितुराजको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यप्रेमीको उपस्थिति थियो।

प्रकाशित: १९ जेष्ठ २०७६ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App