१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहभोजमा आयोजक र अतिथि मात्र

खाल्लेमा आयोजित सहभोज कार्यक्रममा सहभागीहरू।

खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी किशोरी रचना सुनार जिल्ला न्यायाधीश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुहरि उपाध्याय र जिल्ला समन्वय समिति (जिसस) प्रमुख बबी चाम्लिङलाई कचौरामा दही खुवाउँदै थिइन्। रचनाले आफ्ना साथी रोजिना परियार र सुस्मिता परियारसँग जिल्लाका विशिष्ट व्यक्तिलाई थालबाट दहीको भाग उठाउँदै पालैपालो खुवाइन्। उपस्थित अतिथिले पनि सहजताका साथ दही पिए। यो दृश्य जिल्ला समन्वय समिति खोटाङले शनिबार खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा देखिएको हो।

सहभोजको सुरुमा दलित समुदायकी युवतीकाट दही खाएका सहभागी तथा अतिथि अन्तिममा सँगै खाना खाएर छुटेका छन्। सो कार्यक्रम वडा सदस्य दीपक परियारको आँगनमा गरिएको थियो। खाना दलित समुदायकै युवायुवतीले पस्किए र ल्याएर अतिथिका अगाडि राखिदिए। बीचमा उनीहरूले नै थपिदिए। दाल, भात, खसीको मासु, तरकारी, अचारलगायत परिकार सहभागीले स्वादिलो मानेर खाए। दलित कन्याले पिलाएको दही पिउने क्रममा ज्येष्ठ नागरिक टंकप्रसाद आचार्यले महिला र पुरुषभन्दा अन्य जात नभएको बताए।

 कार्यक्रममा गाउँकै कतिपय स्थानीय नेता, अगुवा तथा शिक्षित वर्गकै उपस्थिति नरहेको आयोजकले बताएको छ।

छुवाछुतमुक्त समाज निर्माणका लागि प्रदेश १ को अभियानअन्तर्गत जिसस खोटाङले स्वास्थ्य कार्यालयको सहकार्यमा सहभोजको आयोजना गरेको हो। जातीय विभेदविरुद्ध कानुन बनेका भए पनि हालसम्म कार्यान्वयन पक्ष फितलो भएकाले ‘मानवको जात हुँदैन, सम्पूर्ण मानव एक हुन्’ भन्ने सन्देश दिन सहभोज आयोजना गरिएको जिसस प्रमुख बबी चाम्लिङले बताए। ‘जातीय विभेद अपराध हो, यसको अन्त्य गरिनुपर्छ। यसलाई व्यवहारमा लागु गर्न सक्नुपर्छ,’ चाम्लिङले भने, ‘हामीसँग जातीय विभेदविरुद्ध कानुन छ तर कार्यान्वयन पक्ष कमजोर छ। जातीय विभेद मानवकै कलंक हो भन्ने सन्देश दिएर छुवाछुत अन्त्यमा लाग्ने सचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको हो।’

सहभोजमा बोलाइएका कतिपय आमन्त्रित भने कार्यक्रममा अनुपस्थित देखिएका छन्। कार्यक्रमस्थल दिक्तेलबाट गएका अतिथि मात्रले भरिएको थियो। खादा र टीका हालेर अथितिको आसन ग्रहण गर्नेमा दिक्तेलबाट गएका जनप्रतिनिधि, दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार मात्र देखिन्थे। जिससको उपस्थिति पुस्तिकामा ६६ जना उपस्थित देखिएको कार्यक्रममा गाउँकै कतिपय स्थानीय नेता, अगुवा तथा शिक्षित वर्गकै उपस्थिति नरहेको आयोजकले जनाएको छ। बोलाइएकामध्ये स्थानीय भने चार÷पाँचजनाको मात्र उपस्थिति देखिएको छ।

आयोजकले लिखित पत्राचार गरेका अधिकांश आमन्त्रित सहभोजमा नआएको वडाध्यक्ष डिल्ली राईले बताए। सार्वजनिक कार्यक्रममा जातीय विभेदविरुद्ध कडा–कडा भाषण गर्ने नेता नै सहभोजमा उपस्थित नभएको दलित नेताले नाम नै तोकेर असन्तुष्टि जनाए। ‘धेरैजसोलाई पत्र पठाएका थियौं। विशेषगरी उच्च जातका व्यक्तिको उपस्थिति देखिएन,’ वडाध्यक्ष राईले भने, ‘यसअघि पनि हामीले दलितसँग चिउरा तरकारी खानुपर्छ भनेर सहभोजको आयोजना गर्दा पनि यस्तै भएको थियो।’ दलित नेता तथा जिससका सदस्य चर्चबहादुर विश्वकर्माले सहभोजमा बोलाइएका अधिकांश अगुवाले ‘बिरामी परेको, आफन्तको बिहेमा व्यस्त रहनु परेको’ बहाना बनाएको बताए। ‘कसैले यो कार्यक्रम जिससकै कार्यालयमा गर्नुपर्छ भनेर असफल बनाउन पनि खोजे,’ विश्वकर्माले भने, ‘सहभोजमा आउनुपर्छ भनेपछि कोही साथी बिरामी पर्नुभयो। कोही बिहेपास्नीमा जानुभयो।’

अर्का दलित नेता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य रमेश परियारले सार्वजनिक स्थलमा सँगै खाना खाँदैमा जातीय विभेदको अन्त्य नहुने भएकाले आआफ्नो घरबाट विभेदको अन्त्य गर्न आग्रह गरे। सहभोज कार्यक्रममा सहभागी अतिथिले जातीय विभेद सामाजिक अपराध भएकाले यसको अन्त्य ‘आफूबाटै सुरु गर्नुपर्ने धारणा राखे। जिल्ला न्यायाधीश घिमिरे, प्रजिअ उपाध्याय, नेकपा अध्यक्ष देवान किराती, कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराई, समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्य राई, राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, वडाध्यक्ष राईलगायतले कायम जातीय विभेद हट्दै गएको बताए।

प्रकाशित: १९ जेष्ठ २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App