१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे

सिन्धुली - धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। निर्माणको लक्ष्यभन्दा यस वर्ष बढी काम भइसकेको आयोजना कार्यालयले जनाएको छ।

। राजमार्गको पूर्वी खण्डमा लक्ष्यभन्दा बढी काम भइसकेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको पूर्वी आयोजना प्रमुख ललितजंग खनालले जानकारी दिए। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको सडकको पूर्वी खण्डमा ६० प्रतिशतभन्दा बढी काम भइसकेको खनालले जानकारी दिए। ‘हामी लक्ष्यभन्दा अगाडि बढिसकेका छौं,’ उनले भने, ‘चालू आर्थिक वर्षमा विनियोजित बजेटको काम सकेर थप बजेट मगाएर काम गरिरहेका छौं।’ उनले सडकतर्फ ६० प्रतिशत र पुलतर्फ ८० प्रतिशत काम भइसकेको जानकारी दिए। सडकको तुलनामा पुलको काम धेरै अगाडि बढिसकेको पाइएको छ। ‘पूर्वी खण्डअन्तर्गत सिन्धुली र उदयपुरमा गरी ४३ वटा पुल बन्नुपर्नेमा २८ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर गोविन्द दुमरुले जानकारी दिए। सडकको तुलनामा पुलको काम तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘२८ वटा सम्पन्न भइसकेका छन्, अन्य केही पुल निर्माण सम्पन्न हुने चरणमा छन्।

राजमार्गको पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरी काम भएको छ। दुवै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायत संरचना निर्माणको काम धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका पश्चिम खण्डको कार्यालयका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवनपुरको हेडौंडा महानगरपालिका–६ चौगडासम्मको कुल १ सय १५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। यस्तै पूर्वी खण्डअन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्म १ सय ३४ किलोमिटर सडक पर्छ। उक्त १ सय ३४ किलोमिटर सडकमध्ये २५ किलोमिटर कालोपत्रे भइसकेको पूर्वी खण्ड आयोजना प्रमुख ललितजंग खनालले जनाए। ‘सिन्धुली र उदयपुर गरी २५ किलोमिटर कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘अझै कालोपत्रे गर्ने तयारीमा रहेको सडकमा धमाधम कालोपत्रे हुँदै छ।’

सिन्धुली खण्डमा चार किलोमिटर र बाँकी उदयपुर खण्डमा कालोपत्रे भएको पूर्वी खण्ड आयोजनाले जनाएको छ। पूर्वी खण्डको धेरै स्थानमा बेस हाल्ने तथा सब बेस हाल्ने कार्य धमाधम भइरहेको प्रमुख खनालले जानकारी दिए। उनका अनुसार सडक निर्माणको कार्य लक्ष्यभन्दा निकै अगाडि बढिसकेको छ। ‘सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। यस्तै पश्चिम खण्डमा बाग्मती नदीदेखि मकवानपुरको फापरबारी छतिवनसम्मको १० किलोमिटर सडक करिब तिन महिना अगाडि नै कालोपत्रे भइसकेको थियो। यसका अलावा सिन्धुलीखण्डमा समेत झन्डै १५ किलोमिटर बढी कालोपत्रे भएको स्थानीयले जनाएका छन्।

राजमार्गको दुवै खण्डमा बेस र सब बेसकै काम धमाधम भइरहेको धरान–चतरा–सिन्धुली–हेटौंडा पूर्वी र पश्चिम खण्डका आयोजना कार्यालयले जनाएको छ। पश्चिम खण्डको १ सय १५ किलो मिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ह्युम पाइप ३ सय ९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट चारवटा रहने आयोजनाले जनाएको छ। तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिएको उक्त राजमार्गको निर्माणको जिम्मा पश्चिम खण्डको जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइइसी शर्मा एन्ड लामा जेभीले निर्माणको जिम्मा लिएको छ। ११ मिटर चौडाइ रहेको सो सडक दुई पत्रमा पिच हुनेछ। दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले भने, ‘दुधौली नगरपालिकास्थित हत्पते भलुवाहीबाट कालोपत्रेको काम सुरु भइसकेको छ।’

प्रकाशित: १९ जेष्ठ २०७६ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App