१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुक्खा डाँडामा घरघरमा पानी

घरमा खानेपानी पुगेपछि खुसी हुँदै महिला। तस्बिर: सरिता/नागरिक

धादिङ - भूकम्पले धवाडीटोलमा रहेको चापडी मुहान पूरै सुक्यो। मैदानटोलका स्थानीयले प्रयोग गर्दै आइरहेको सार्कीढाप, फलामे रह, दुवारथोक र बसन्तटोलको पानी पनि सुक्दै गयो। खानेपानीको मुहान एकपछि अर्को गर्दै सुक्न थालेपछि गाउँमा पानीको हाहाकार सुरु भयो। बस्तुभाउलाई दिन र पुनर्निर्माणका लागि त परै जाओस् खानका लागि पनि पानी नभए। कुवा, खोला–खोल्सी धाउँदै गाउँले महिलाहरूको उर्जाशील समय बित्न थाल्यो।

धादिङको सिद्धलेक गाउँपालिकाका स्थानीयको साझा समस्या हो यो। ‘खानेपानी लिनकै लागि हरेक दिनको बिहान कुवा तथा खोल्सीमा बित्ने गथ्र्यो। घरका एकजनाको काम नै पानी बोक्ने हुनेगथ्र्यो,’ सिद्धलेक गाउँपालिका–३ दुवारथोककी मनु थापामगर भन्छिन्, ‘पानी लिन डेढ घण्टा तल खोल्सीमा पुग्नुपथ्र्यो। खोल्सीमा पनि छिटो पुगे पानी भर्न पाइन्थ्यो नत्र रित्तो–गाग्री फर्कनुपथ्र्यो।’

खानेपानीको यस्तो चरम अभाव भोग्दै आइरहेका सिद्धलेकबासीको दिनचर्या हिजोआज भने फेरिएको छ। डिप बोरिङमार्फत घरघरमा खानेपानी पुगेको छ। घरमै पानीको धारा आएपछि मगर खुसीले गद्गद् छिन्। ‘यस्तो सुक्खा डाँडामा पानी आउँछ भन्ने विश्वास नै थिएन,’ उनले भनिन्, ‘अब रित्तो–गाग्री फर्कनुपर्ने समस्या हल भएको छ, घरघरमा खानेपानीको धारा भएकाले सहज भएको छ।’

मूलाबारीको सुक्खा डाँडामा जमिन प्वाल पारेर पानी ल्याइएको छ। सुक्खा डाँडामा जमिन प्वाल पारेर पानी आउला भन्ने गाउँलेहरूले विश्वास गरेका थिएनन्। मेसिनले खनेपछि दुई सय ४५ मिटर तल पानी भेटिएको थियो। पानी भेटिएपछि टोलमा ६० घनमिटर, १२ घनमिटर, दुई घनमिटरको ट्यांकीसमेत राखिएको छ। प्रत्येक बस्तीमा मिटरसहितको धारा जडान गरिएको छ।

सुक्खा डाँडामा पानी आएपछि गाउँभरि खुसी छाएको छ। अब गाउँलेको दुःख सकिएको र पानीका लागि धाउनुनपर्ने अवस्थामा गाउँलाई पु¥याउन लागेको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए। ‘एक घर एक धाराका रूपमा डिप बोरिङमार्फत प्रत्येक जनताका घरमा धारा पु-याई खानेपानीको सहज उपलब्धता दिलाउने हाम्रो उद्देश्य छ,’ उनले भने, ‘गाउँपालिकाभरि अहिलेसम्म सातवटा डिप बोरिङ खनेर खानेपानीको सुविधा दिएका छौं।’ गाउँपालिकावासी काकाकुल हुनबाट वञ्चित भएको उनले बताए।

पानीको व्यवस्था र विकल्पका लागि डिएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन, फोकस नेपाल, अक्सफाम नेपाल तथा सिद्धलेक गाउँपालिकाले मूलाबारी डिप बोरिङ खानेपानी आयोजना निर्माण गरेको हो। गाउँपालिका, स्थानीयको श्रमदान, अक्सफाम तथा फोकस नेपालको गरी एक करोड, नौ लाख, ७२ हजार, सात सय रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले बताए।

खानेपानी आयोजना निर्माणपछि दुई सय ३४ घरधुरीका एक हजार दुई सय चारजना लाभान्वित भएका छन् भने तीनवटा विद्यालयलाई पनि सहज भएको छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App