१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आंशिक शिक्षकको भरमा त्रिवि

काठमाडौं- विभिन्न संस्थान र संकायमा लामो समयसम्म डिन नियुक्त हुन नसक्दा त्रिभुवन विश्वविद्यालयको पठनपाठन अस्तव्यस्त हुन पुगेको छ। डिन नभएकै कारण खाली शिक्षक दरबन्दीमा नियुक्ति हुन नसक्दा आंशिकका भरमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ।

'एकातिर हाम्रो अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्ति नहुँदा नयाँ शिक्षक दरबन्दी खुलाउन सकिएको छैन, अर्कोतर्फ यही अवस्थामा विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्‍यो,' भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख डा. लालुप्रसाद पौडेलले नागरिकसँग भने, 'आंशिक शिक्षकका भरमा सेमेस्टर चलाउनुपर्दा शैक्षिक गुणस्तर कायम गर्न मुस्किल पर्छ।'

पौडेलका अनुसार विश्वविद्यालयमा तीन महिनाका लागि डिन नियुक्तिले दीर्घकालीन योजना बनाउन सकिएको छैन। डिन नहुँदा सेमेस्टर प्रणालीअनुसार शिक्षक दरबन्दी पदपूर्ति गर्न नसकेको उनले बताए। विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत रहेको यो विभागमा पाँच शिक्षक दरबन्दी खाली छन्।

पौडेलले भने, 'केन्द्रमा पढाउने शिक्षक कम्तीमा विद्यावारिधि गरेको हुनुपर्छ तर स्नातकोत्तर पास गरेका दोस्रो ग्रेडका विद्यार्थीबाट स्नातकोत्तरकै सेमेस्टर चलाउनुपर्दा प्राज्ञिक र शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्छ।' पाठ्यक्रम परिमार्जन, नयाँ विषय सम्बन्धन दिने, परीक्षा सञ्चालन, व्यवस्थापन र नतिजा प्रकाशनको कामसमेत गर्ने विद्यापरिषद्को अध्यक्ष डिन हुन्छ।

'हाल विश्वविद्यालयमा शिक्षक, कर्मचारीलाई तलब खुवाउनेबाहेक कुनै काम भएको छैन,' पौडेलले भने, 'विकास निर्माणको काम सुरु नै भएको छैन। विद्यार्थीलाई आवश्यक पर्ने ल्याबका नयाँ उपकरण खरिद गर्न टेन्डर आह्वान पनि विश्विद्यालयले गर्न सकेको छैन।'

त्रिविमा चार संकाय र पाँच अध्ययन संस्थान छन्। शिक्षाशास्त्र संकाय र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा डिनको पद साउनदेखि खाली छ। असोज २ गते वन विज्ञान अध्ययन संस्थान, व्यवस्थापन संकाय र मानविकी संकाय पनि डिनविहीन भएका छन्। विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा रामप्रसाद खतिवडा तीन महिलाका लागि नियुक्त भएका छन्। शिक्षा शास्त्र संकायमा उपकुलपति तीर्थ खनियाले तीनमहिने नियुक्ति पाएका नेत्रप्रसाद धिताललाई नै कात्तिकदेखि लागू हुने गरी निमित्त दिएका छन्।

विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य राजेन्द्र पौडेललेे हाल सात संस्थान तथा संकायमा डिन खालि रहेको बताए। उनले चिकित्सा शास्त्र अध्ययन संस्थान र शिक्षाशास्त्र संकायको डिन नियुक्ति गर्न 'सर्च कमिटी' गठन भए पनि त्यसले काम नगरेको जानकारी दिए। 'वन विज्ञान, विज्ञान तथा प्रविधि, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकीमा डिन नियुक्तिका लागि सर्च कमिटी नै गठन भएको छैन,' पौडेलले नागरिकसँग भने।

दलहरूबीच भागबन्डा नमिल्दा डिन नियुक्त हुन नसकेको प्राध्यापकहरू नै बताउँछन्। 'दलहरूबीच सहमति जुटाउन नसकेका कारण डिन नियुक्तिमा अप्ठ्यारो परेको हो', पौडेलले भने। कांग्रेस, एमाले र माओवादी केन्द्रनिकट प्राध्यापकले आआफ्ना पक्षधरलाई नियुक्त गर्न उपकुलपतिलाई दबाब दिइरहेका छन्।

दुईवटा डिन पाउँदै आएको माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले यस वर्ष तीनवटा डिन मागेको छ। संगठनका महासचिव पूर्ण लामिछानेले आफूहरूको भागमा एक डिन थप्नेबारे उपकुलपतिसँग छलफल गरिरहेका छन्। 'विगतमा माओवादीलाई विज्ञान तथा प्रविधि र व्यवस्थापन दिँदै आएकोमा अहिले एक थप्न छलफल भइरहेको छ,' लामिछानेले नागरिकसँग भने, 'प्राज्ञिक र प्रशासनिक क्षमता भएको, विद्यावरिधि गरेको र स्पष्ट दृष्टिकोण भएको व्यक्तिलाई पूर्णकालीन डिन नियुक्त गर्नुपर्छ।' तिहारपछि पनि उपकुलपतिले पूर्णकालीन डिन नियुक्ति नगरे कडा कदम चाल्ने चेतावनी उनले दिए।

एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संघले विगतमा उपकुलपति पाउँदा तीनवटा डिनमा चित्त बुझाएको तर यसपटक उपकुलपति कांग्रेसको कोल्टामा परेकोले चारवटा डिन चाहिने तर्क गरेको छ।

डिन नियुक्त हुन नसकेकै अवस्थामा त्रिविका चार अनुसन्धान केन्द्रसमेत कार्यकारी निर्देशकविहीन हुने भएका छन्। व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र (रिकास्ट) मा कार्यकारी निर्देशक पद एक साताअघि खालि भइसकेको छ भने अन्य तीनवटामा यही महिनाको अन्त्यसम्म खाली हुने कार्यकारी परिषद्का सदस्य पौडेलले जानकारी दिए।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App