१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मन्त्रालयगत बजेटमाथिको छलफल जेठ २७ बाट

काठमाडौं - प्रतिनिधिसभामा विनियोजन विधेयकका शीर्षकमाथिको छलफल जेठ २७ देखि असार ६ गतेसम्म हुने भएको छ। छलफल शनिबार बाहेकका दिनमा जारी रहने संसद् सचिवालयले जनाएको छ। संसद्मा प्रस्तुत भएको वार्षिक बजेटमाथि १९ गतेदेखि तीन दिन छलफल गर्ने र छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि विनियोजन विधेयकका शीर्षकमाथि छलफल सुरु हुनेछ। विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित मन्त्रालयका मन्त्रीले दिनेछन्।

जेठ २७ गते खानेपानी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफल र त्यसको जबाफ असार ३ गते हुने कार्यक्रम तय गरिएको छ। जेठ २८ गते सहरी विकास मन्त्रालय, अर्थमन्त्रालयको छलफल हुने छ भने जवाफ असार ४ गते हुने संसद् सचिवालयले जनाएको छ।

जेठ २९ गते वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको छलफल हुनेछ भने जबाफ असार ४ गते हुनेछ। जेठ ३० गते हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला र कानुन न्याय मन्त्रालयगत छलफलको जबाफ पनि असार ४ गते नै तोकिएको छ।
जेठ ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक मन्त्रालय, ऊर्जा जलस्रोत मन्त्रालयको छलफल हुनेछ भने असार १ गते शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयको छलफल हुनेछ। ३१ गते छलफल भएको श्रम, भौतिक र ऊर्जामन्त्रालयगत छलफलको जबाफ र १ गते छलफलमा उठेका प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले असार ५ गते दिनेछन्।

असार २ गते हुने स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको छलफलको जबाफ प्रधानमन्त्री तथा मन्त्रीले असार ६ गते दिने कार्यक्रम छ।

छलफलमा उठेका प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले दिएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ। प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि राष्ट्रियसभामा पठाइने छ। राष्ट्रियसभामा विनियोजन विधेयक प्राप्त भएपछि मात्र राष्ट्रियसभाले विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल सुरु गर्नेछ।

विनियोजन विधेयक राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिधिसभामा पुनः पठाइनेछ। विनियोजन विधेयकपछि प्रतिनिधिसभाले तीनवटा आश्रित विधेयक पनि पारित गरि राष्ट्रियसभामा पठाउने छ। आर्थिक विधयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक पारित गरी राष्ट्रियसभामा पठाएउनका लागि असार १० गतेको समय तोकिएको छ।आश्रित विधेयक राष्ट्रियसभाले पनि सैद्धान्तिक छलफल गरी पारित गरेपछि प्रतिनिधिसभामा पठाउने छ। त्यसपछि मात्र बजेट पारित हुनेछ।

बजेटमाथिको छलफल भने दुवै सदनमा सँगै गर्न सकिने तर विनियोजन विधेयक भने प्रतिनिधिसभामा पारित भएपछि मात्र राष्ट्रियसभामा छलफल गर्ने व्यवस्था छ। प्रतिनिधिसभामा वार्षिक बजेटमाथिको छलफलपछि छलफलमा उठेका प्रश्नको अर्थमन्त्री खतिवडाले जेठ २३ जबाफ दिएपछि विनियोजन विधेयक माथिको छलफल जेठ २७ गतेदेखि गरिने भएको हो। प्रतिनिधिसभामा आर्थिक वर्ष ०७६/०७७ को वार्षिक बजेटमाथिको छलफल १९, २० र २१ गतेका लागि तय गरिएको छ भने राष्ट्रियसभामा पनि जेठ २० गतेदेखि तीन दिन छलफल सुरु गरिने कार्यक्रम छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष ०७६/०७७ को वार्षिक बजेट बुधबार संयुक्त सदनमा प्रस्तुत गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App