१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगमाथा दिवस

इन्सब्रुक (अष्ट्रिया)-  अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो।

समारोहलाई संबोधन गर्दै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताए। उनले नेपालको हिमालहरुको देश भएको र पर्वतारोहण नेपालको पहिचान भएको बताए।

‘सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो’, उपराष्ट्रपति पुनले भने, ‘त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्नुहुने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ।’

उनले अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उनको भनाई छ।

‘अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘सगरमाथा आरोहण गरी ख्याति प्राप्त गर्नुभएका अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ।’

उपराष्ट्रपति पुनले नेपाल‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए। उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिंदै नेपाल भ्रमणका लागि अष्ट्रियाली नागरिकलाई अपील गरे।

प्रकाशित: १६ जेष्ठ २०७६ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App