१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बरालिने प्रवृत्ति र युवा

दुर्गाप्रसाद बराल

हामी चौतर्फीरूपमा बरालिएका छौँ। हाम्रो समाजका तप्कातप्का बरालिएको छ। ‘बरालिने प्रवृत्ति’ बाट हामी लामो समयदेखि प्रताडित छौँ। देशको विकासस्तम्भका रूपमा लिइने युवाहरू अझै यसबाट बढी प्रभावित छन्। तेह्रौँ शताब्दीमै सम्पन्नताको शिखरमा पुगिसकेका अरनिकोले मलजल गरेका हाम्रो झर्रो सिप, कला र कौशलको नमुना अझै पनि गाउँ र शहरका बस्तीमा जीवित छन्। तर तिनको समुचित संरक्षण र प्रवर्धन भने हुन सकेको छैन। युवापुस्ताको आकर्षण घट्दै जाँदा र समाजका विभिन्न तप्काले श्रम र सिपप्रति उचित सम्मान दिन नसक्दा परम्परादेखि चलिआएका फलामका काम हुने आरन मासिएका छन्। अन्य धातुका काम हुने ज्यासल पातलिएका छन्। माटोका भाँडा तथा कलात्मक वस्तुहरू उत्पादन हुने कुमालेका व्यवसाय संकटमा देखिन्छन्।

त्यसैगरी सूचीकारका इलम, चर्मकारका उद्यम, राडीपाखी, डोकाडाला तयार गर्नेजस्ता कैयन् परम्परागत पारिवारिक पेशाहरू आजका युवा र बालबालिकाका निम्ति कम मूल्यवान हुँदै गएका छन्। हामीले आफूमा जे क्षमता छ त्यसको कदर गर्न सकेका छैनौंँ। जे छैन, त्यसैलाई सपना बनाएर दौडेका छौँ। रहरले होस् वा बाध्यताले, जानीजानी होस् वा अज्ञानताले, वैदेशिक रोजगारीमा हामी यसरी होमिएका छौँ जसरी बत्तीमा पुतली हाम्फाल्छन्।जजसले आफ्नो स्कुले शिक्षा सम्पन्न गर्न सकेका छन् वा अझ त्यसभन्दा माथिको उच्चशिक्षा हासिल गर्न सक्षम भएका छन्, उनीहरूको जीवनकथा अलि छुट्टैखालको हुनसक्छ तर हाम्रो समाजमा त्यस्ता ‘भाग्यमानी’ युवाको संख्या नै पो कति छ र ?

धेरैजसो युवा आफ्नो किशोरावस्थामा नै विविध कारणले स्कुल छाड्न बाध्य हुन्छन् र कलिलै उमेरमा पहुँच पुगेसम्म र हैसियतले भेटेसम्म अनौपचारिक क्षेत्रका सानातिना व्यवसायमा काममा होमिन्छन्। समुचित सुविधा तथा सेवा÷सर्तबेगर नै काम गरेर पनि ती युवाले आफ्नो भावी जीविकोपार्जनका लागि उपयोगी सिप र ज्ञान हासिल गर्ने गरेका छन्। पछि त्यसै सिप र ज्ञानका आधारमा उनीहरू या आफैंँ उद्यमी बन्छन् वा अरुको उद्योग/व्यवसायमा दक्ष कामदारका रूपमा काम गर्छन्। के त्यस्ता काम गर्दै सिप सिक्दै गरेका प्रमाणपत्रविहीन अनौपचारिक सिपयुक्त कारिगरहरूले हाम्रो समाजका विभिन्न तह/तप्काबाट समुचित इज्जत पाउन सकेका छन् त ?

जब व्यक्ति, परिवार, समाज र समुच्च प्रणाली नै कुनै रोगले ग्रसित छ भने सबभन्दा पहिले आकस्मिक उपचारमा लाग्नु जरुरी हुन्छ। श्रम, सीप र सिपालुप्रति उचित सम्मानको अभाव सिर्जना हुनमा  ‘बरालिने प्रवृत्ति’ एउटा ठूलो रोगजस्तै सावित भएको छ।

कुरा वर्तमान युवाहरूको सालाखाला आनीबानीबाट नै सुरु गरौँ। हाम्रा युवाले श्रम, सिप र सिपालु कारिगरलाई हेर्ने नजर कस्तो छ त ? केही गौरव गर्न मिल्ने उदाहरण भेटिए तापनि समुच्चरूपमा भन्ने हो भने नेपाली युवामा स्वावलम्बन घट्दै गएको छ। अनुत्पादक कार्यमा समय व्यतीत गर्ने बानी बढ्दै गएको छ।श्रम बजारमा माग भएका सिप आर्जन गर्ने भन्दा कोरा डिग्री हासिल गर्नेतर्फ ध्यान रहने गरेको छ। कतिपय युवाकै आलेख र अनुभवजन्य अभिव्यक्तिबाट पनि धेरै हदसम्म यी कुरा पुष्टि हुन्छ। आफ्नो रोजीरोटीको चिन्तन गर्नेभन्दा विभिन्न राजनीतिक दलका बिल्ला भिर्दै ‘घम्साघम्सी’ मा लाग्ने युवाको ठूलै जमात देख्दै÷भोग्दै आएकै छौँ हामीले। अझ सार्वजनिक शिक्षण संस्थाहरूमा त यसको चरम रूप देख्न पाइन्छ। समग्ररूपमा आजका युवा ‘बरालिने प्रवृत्ति’ बाट गाँजिएका छन् भन्नु अत्युक्ति नहोला।

समाजको अर्को महत्वपूर्ण तप्का भनेको परिवार हो। जनजीविकाकै लागि पनि परिवारका कोही न कोही श्रम र सिपमा नलागी त धरै छैन। तर परिवार आफैँले चाहिँ श्रम र सिपलाई हेर्छ कसरी त ? भन्ने सवाल अर्थपूर्ण छ। यदि छोराले विद्यालयमा राम्रो अंक ल्याउन नसके ‘हली होलास् है ख्याल गरेस् !’ वा ‘खलाँसीकै जिन्दगी गुजार्नुपर्ला है !’ भन्ने गरेका उदाहरण प्रशस्तै मिल्छन्। त्यसैगरी छोरीका हकमा भने पढाइ कमजोर भएकै कारणले ‘राम्रो केटा’ नमिल्ला वा ‘राम्रो घर’ नपर्ला भन्नेजस्ता अभिभावकका चेतावनीयुक्त गालीले के संकेत गर्छन्?यसबाट उनीहरू आफ्ना सन्ततिले सिप आर्जन गरुन्,श्रम गरुन् भन्नेभन्दा सकेसम्म बढी शिक्षाको डिग्री हासिल गरुन् र ‘जागिर’ खाएर ‘सुकिलामुकिला’ रहून् भन्ने चाहन्छन् भन्ने बुझिन्छ। कम जान्ने/बुझ्ने ठानिने अभिभावकको त कुरै छाडौँ, जान्ने/सुन्ने भनिएका अभिभावक पनि आफ्ना छोराछोरीलाई भविष्यमा ‘गरिखान’ सक्ने सिपयुक्त शिक्षा तथा तालिमको क्षेत्रमा पठाउन भन्दा शैक्षिक उपाधि थप्नपट्टि नै जोड दिने गर्छन्। समष्टिमा परिवारले के ठान्छ भने आफ्ना सदस्यले कम श्रम गर्नुपर्ने पेशा अंगालिदिऊन्। यस अर्थमा व्यक्तिमात्र नभई परिवारको नै श्रम र सिपप्रतिको सोच ‘बरालिएको’ छ भन्न बिनाहिच्किचाहट सकिन्छ।

हाम्रा टोल/छिमेक, गाउँ÷समुदाय, नातागोता, अझ भनौँ, समाजले नै श्रम, सिप र सिपालुप्रति हेर्ने नजर कस्तो छ त ? समाजले नै ‘एनी हाउ पैसा कमाऊ’ अर्थात् जसरी हुन्छ कमाइ गर है भन्ने थेगो स्वीकार गरेको छ। चाहे जुनसुकै माध्यमबाट कसैले सम्पत्ति जोरजाम गरोस् वा शक्ति आर्जन गरोस्, सामान्यतया समाज त्यसको विश्लेषण गर्नपट्टि लाग्दैन र एकाएक ‘वा ! वा !’ सुरु हुन्छ। तँ, तिमीबाट तपाईँ,हजुरको सम्बोधन सुरु हुन्छ। कृयापदहरूमा ‘बक्सियोस्’ जोडिन थाल्छन्। तर आफ्नै कलकारखाना वा कार्यशालामा काम गर्दै गरेका ‘धुलामैला’ कारिगरहरूप्रति भने व्यवहार छुट्टैखालको हुन्छ। उनीहरूप्रति गरिने अस्वाभाविक सम्बोधन तथा लवजका रुखोपनबाट के स्पष्ट हुन्छ भने व्यक्तिविशेष र परिवारको तहमा मात्र हैन, समाजले नै एकप्रकारले सन्देश दिएको छ कि श्रम र सिपलाई भन्दा ‘फुर्तीफार्ती’ र ‘टाइँफाइँ’ लाई नै बढी इज्जत देऊ। यसअर्थमा हाम्रो समाज नै ‘बरालिने प्रवृत्ति’ बाट ग्रस्त भएको स्पष्ट हुन्न र ?

प्रकाशित: १६ जेष्ठ २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App