२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्थानीयले भत्काए कम्पाउन्ड

चितवन -  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार बुधबार स्थानीयले भत्काएका छन्। बिहान ६ बजेपछिको समयमा एक्साभेटरसहित पुगेको समूहले रंगशालाको पश्चिमतर्फ रहेको तारबार र जस्ताको बार भत्काइदिएका हुन्। स्थानीयले रंगशालाको पश्चिमपट्टि रहेको रगंशाला निर्माणस्थलसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा समेत रहेको तार जाली भत्काइदिएका थिए। करिब एक किलोमिटर लम्बाइमा स्थानीयले एक्साभेटर लगाइदिएका हुन्।

रंगशाला निर्माण गर्न जग्गा दिनुभन्दा अघिदेखि कृषि तथा वनविज्ञान विश्वविद्यालयले तारजाली लगाएको थियो। धुर्मुस सुन्तली फाउन्डेसनले २० बिघा ६ कट्ठामा बनाउन लागेको रंगशालाले ओगट्ने क्षेत्रलाई फलामको पाइप राखेर टिन लगाएर घेर्ने काम गरिएको थियो। यसअघि तीनतर्फ घेर्ने काम भए पनि पश्चिमतर्फ भने पुरानै तारजाली मात्र रहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्।

निर्माणस्थल सुरक्षित गर्न र निर्माण स्थलमा रहेका सामग्री र मेसिनको सुरक्षा गर्न समेत कम्पाउण्ड गर्नमा ढिलाइ भइसकेकाले पश्चिममा टिन लगाएर बार बनाउन स्थानीयसँग पनि पटकपटक छलफल गरिएको उनले बताए। स्थानीयले बाटो बढाउन रंगशाला निर्माण गर्न दिइएको जग्गातर्फ जमिन छाड्नुपर्ने माग राख्दै आएका थिए।

‘डिटेल प्रोजेक्ट रिपोर्ट आइसकेपछि कति बाटो छाड्न मिल्ने नमिल्ने बारेमा छलफल गरौंला भनेर स्थानीयसँग कुराकानी यसअघि नै  भएको हो,’ कट्टेलले भने, ‘रंगशाला बनाउने भनेपछि स्थानीयको स्वागतले भएको खुसीसँगसँगै यस्ता दुःखद् घटना हुँदा एकदमै पीडा हुँदो रहेछ।’ अभियन्ताका रूपमा केही गरौं भनेर आउँदा भएको दुःखद घटनाले हतोत्साही बनाएको उनले बताए। खाडीमा पसिना बगाएर कमाएको रुपैयाँ लगानी भएको राष्ट्रिय गौरवको आयोजनामा यस्ता घटना हुनु नराम्रो भएको उनी बताउँछन्।

‘मैंले कति मिटरको बाटो छाड्ने भनेर कसरी भन्न सक्छु’ उनी भन्छन्, ‘पहिले रंगशालाको डिपिआर तयार भएपछि नै यसबारेमा विस्तृतमा छलफल गरौंला भन्दा भन्दै यस्तो भयो।’ बार भत्काउनमा नेकपाका स्थानीय नेता प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउन्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकलगायतका मानिसको सहभागिता रहेको उनले बताए। घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई पक्राउ गरेको छ। रंगशाला निर्माणका लागि अहिलेसम्म साढे ६ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको फाउन्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App