१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हिंसाका बछिटा गणतन्त्रका लागि अशुभः नेता पौडेल

डोटी– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताएका छन्। 

जागरण अभियानका क्रममा डोटी पुगेका पौडेलले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना दिँदै गणतन्त्र फेरि जोखिममा परेको बताए। ‘लामो त्याग र बलिदानबाट हामीले यो लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं’, उनले भने, ‘तर, अहिले देखिन थालेका हिंसाका बछिटाहरुले यसका लागि शुभ संकेत दिइरहेका छैनन्।’ यसैले गणतन्त्रको रक्षाका लागि पनि हिंसा रोक्न उनले आग्रह गरे। 

वरिष्ठ नेता पौडेलले जनतालाई रिझाएर आफ्नो अभिमत स्थापित गर्न विप्लव नेतृत्वको नेकपासँग आग्रह गरे। उनले भने, ‘बन्दुकको आडमा होइन, जनतालाई रिझाएर आफ्नो अभिमत स्थापित गर्न आग्रह गर्दछु।’ जनताको विश्वास नभएका शक्ति राजनीतिक दल नै नभएको पनि उनले दाबी गरे। 

हिंसाको समाधान खोज्न सरकारसँग उनले आग्रह गरे। ‘वार्ता र छलफलका माध्यमबाट निकास खोज्न सरकार पनि तत्पर हुनुपर्छ। यसले मुलुकलाई खतराबाट जोगाउन सकिन्छ,’ वरिष्ठ नेता पौडेलले थपे। 

बन्दुक पड्काउने हिंसा मात्र नभई मुलुक भ्रष्टाचारको पनि हिंसाबाट ग्रसित हुँदै गएको उनले बताए। पौडेलले भने, ‘बन्दुक पड्काउनेबाट त लोकतन्त्र असुरक्षित छ नै, साथै भ्रष्टाचारको हिंसाबाट पनि उत्तिकै असुरक्षा बढेको छ।’ लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन र राजनीतिक स्थिरता हुनुपर्ने उनले औल्याए। 

वर्तमान सरकार एकपछि अर्को गर्दे प्रतिगमनतर्फ लम्कीरहेको पनि उनले आरोप लगाए। ‘संविधान र लोकतन्त्रको मर्मविपरित आइरहेका ऐननियमहरुले नागरिक अधिकार कुण्ठित गर्दैछन्, विधिको शासन हड्पिँदैछ,’ उनले भने, ‘यसले सरकारको नियत प्रतिगमन निम्त्याउनेतफै उद्धत छ भन्ने देखिन्छ।’ 

प्रकाशित: १५ जेष्ठ २०७६ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App