१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ मा ‘आचरण अनुगमन समिति’

जनकपुर– प्रदेशसभा सञ्चालन भएको झण्डै डेढ वर्षपछि सांसदहरुको आचरण अनुगमन र नियमन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले समितिको नामावली सार्वजनिक गरेका हुन्।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १९५ को उपनियम २ बमोजिम गठन गरिएको आचरण अनुगमन समितिको सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा देवलाई चयन गरिएको छ। सदस्यहरुमा नेकपाका सांसद रविन्द्र बैठा, समाजवादी पार्टीका रामअशिष यादव, राजपाका सुरिता साह, नेपाली कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहा र नेपाल संघीय समाजवादी पार्टीका सावित्रीदेवी साह छन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई आचरण अनुगमन समितिको सदस्य सचिव तोकिएको छ।

त्यस्तै, प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार सम्बन्धमा बनेको विधेयक अध्ययनका लागि पूर्वाधार विकाससम्बन्धी अध्ययन समिति पनि गठन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको प्रस्तावमा गठन गरिएको समितिमा नेकपा संसदीय दलका सचेतक सुन्दरबहादुर विश्वकर्मा, समाजवादी पार्टीका सचेतक शैलेन्द्र यादव, राजपाका सचेतक परमेश्वर साह र नेपाली कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहालाई सदस्य तोकिएको छ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रस्तावमा प्रदेश एफएम रेडियो र टेलिभिजनको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ। प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत १७ औं बैठक बुधबार बिहान ८ बजे आह्वान गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App